सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका वैदेशिक रोजगार व्यवसायी डोलप्रसाद रास्वपाबाट बने श्रममन्त्री

सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेका वैदेशिक रोजगार व्यवसायी डोलप्रसाद रास्वपाबाट बने श्रममन्त्री

काठमाडौ : नागरिकता र राहदानीबारे छानबिन गरिरहेकै मन्त्रालयको मन्त्री बनेकोमा आलोचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैदेशिक रोजगारी र रेमिटेन्स सम्बन्धी क्षेत्रमा सक्रिय डोलप्रसाद अर्याललाई नै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन्।

आफू सरकारमा गए रोजगारका लागि विदेश जाने वातावरणको अन्त्य गर्न विदेशमा रहेका नेपालीहरूलाई नेपाल फर्किएर काम गर्न आफैँ गल्ली गल्लीमा गएर नेपालमा रोजगारी खुलेको पोस्टर टाँस्ने रविले दाबी गरेका थिए।

संसदीय दलको बैठक राखेर मन्त्री नियुक्तिको अधिकार आफूमा लिएका उनले नेपालीसँग पैसा लिएर विदेश पठाउन  र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा संलग्न व्यक्तिलाई नै श्रममन्त्री बनाएका हुन्।

अर्याल रास्वपाको समानुपातिकबाट सांसद बनेका थिए। पार्टीको चुनावको समयमा आर्थिक सहयोग गर्नेमा उनी सबैभन्दा अगाडि रहेको जानकार स्रोतले उकेरालाई बतायो।

अर्याल सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रालीका लगानीकर्तामध्ये एक हुन्। उनी सो वैदेशिक रोजगार सम्बन्धी कम्पनीमा इन्टरनेशनल मार्केटिङ डाइरेक्टरको रूपमा कार्यरत रहेको देखिन्छ। सो कम्पनीले सबैभन्दा धेरै जापानमा नेपालीलाई पठाउने गरेको जानकारस्रोतले बतायो।

उनी संलग्न रहेको कम्पनी वैदेशिक रोजगार ठगीमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेको कम्पनी हो। सेतोपाटीका अनुसार दुई वर्ष अगाडि वैदेशिक रोजगारीको आवरणमा अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सृष्टि ओभरसिजसहित ४१ कम्पनीका सञ्चालनविरुद्ध अकुत सम्पत्तिमा छानबिन सुरु गरेको थियो।

जानकारस्रोतका अनुसार ब्युरोले ४१ कम्पनीमा संलग्नहरूबारे छानबिन गरेर विभागमा प्रतिवेदन पठाइसकेको छ। अहिले पनि विभागमा डोलप्रसादसहितका ४१ कम्पनीका सञ्चालकहरूबारेको अनुसन्धान सक्किएको छैन।

यति मात्रै हैन अर्याल इजीलिंक रेमिटेन्स कम्पनीका सिइओ समेत हुन्। रेमिटेन्सको आधिकारिक साइटमा उल्लेख भए अनुसार यो जापान र अष्ट्रेलियामा सक्रिय रहेको देखिन्छ। उनी त्यसको सिइओ पदमा कार्यरत रहेको उल्लेख छ।

पदभार ग्रहण गर्दै उनले 'नेपालीहरू विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्याउने र नेपालमै रोजगारी गर्ने अवस्था सिर्जना गर्ने' दाबी गरेका थिए।

उनले मन्त्रीपद सम्हाले लगत्तै वैदेशिक रोजगार व्यवसायप्रति सकारात्मक धारणा राखेका थिए। निजी व्यवसायीलाई विधि र विधानमा बसेर व्यवसाय गर्न प्रोत्साहन गर्ने उनको दाबी थियो।

३ माघ, २०७९, १७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।