स्थानीय सरकारमा बसेर शिक्षा क्षेत्रमा काम गरिसकेका शिक्षामन्त्री खनाल

स्थानीय सरकारमा बसेर शिक्षा क्षेत्रमा काम गरिसकेका शिक्षामन्त्री खनाल

काठमाडाैंः सत्ता गठबन्धनको भागबण्डामा स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा शिक्षामन्त्रीमा शिशिर खनाल नियुक्त भए। शिक्षामन्त्री खनाल काठमाडौं– ६ बाट निर्वाचित सांसद हुन्।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा उनले १४ हजार २२१ मत ल्याउँदै प्रमुख प्रतिद्वन्द्वी एमालेबाट पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कांग्रेसका निवर्तमान सांसद भीमसेनदास प्रधानलाई समेत हराएका थिए।

मन्त्री खनाल ‘टिच फर नेपाल’ संस्था र लजिष्टिक कम्पनी, ‘पिक एण्ड ड्रप’का सह–संस्थापक हुन्। राजनीतिमा होमिएको पहिलो पटकमै उनी मन्त्री बन्न सफल भए।

शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई नै आफ्नो चुनावको प्रमुख एजेण्डा बनाएका उनले अब आगामी दिनमा के-कस्ता काम गर्छन्, त्यो त हेर्न बाँकी नै छ।

काे हुन् नयाँ शिक्षामन्त्री खनाल? 

४३ वर्षीय मन्त्री खनाल टोखा–१० गोंगबुका बासिन्दा हुन्। उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।

अमेरिकाबाट फर्किएपछि उनले शिक्षा क्षेत्रमा काम गर्ने ‘टिच फर नेपाल’ स्थापनामा सक्रिय भए सँगै झन्डै १० वर्षसम्म विभिन्न आइएनजीओहरुमा पनि काम गरे।

लामो समय शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरेका उनीसँग २०७४ को चुनावपछि तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकारका रुपमा पनि काम गरेको अनुभव छ।

त्यस समय उनले स्थानीय स्तरबाट काम गर्न खोज्दा संसदले शिक्षा ऐन बनाउन नसकेकोले समस्या भएको बताउँदै आएका थिए।

राजनीतिमा आउनु भन्दा अघि उनीले सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेका थिए। त्यस्तै उनले शिक्षा मन्त्रालयसँग जोडिएर नीतिगत काममा पनि सघाएका थिए।

उनको यही पृष्ठभूमिका कारण पार्टीले शिक्षा मन्त्रालय पाए उनलाई शिक्षा मन्त्री बनाउने निश्चित भएको कुराकाे चर्चा केही अघि देखि नै थियो।

‘टिच फर नेपाल’ संस्था छोडेपछि सन् २०२० देखि भने उनले साथीहरुसँग मिलेर लजिष्टक कम्पनी ‘पिक एण्ड ड्रप’ सञ्चालन समेत गरिरहेका छन्।

पिक एण्ड ड्रपमा साना तथा ठूला गरेर तीन सय अनलाइन जोडिएका छन्। जसले ७० वटा अनलाइनका सामान डेलिभर गर्छ।

नेपालको फैलिँदो इकमर्श व्यवसाय र अनलाइन डेलिभरी सेवामा पनि उनी त्यत्तिकै सक्रिय छन्। सन् २०१९ मा उनले युवा सीईओको अवार्डसमेत पाएका थिए। 

शिक्षा सुधारमा नयाँ आशा 

देशमा अहिले सबैभन्दा दयनीय अवस्थामा देखिएको क्षेत्र भनेको शिक्षा हो। कोभिड महामारी पछि त शिक्षा क्षेत्र झन् गन्जागोल हुन पुगेको छ।

शिक्षामा प्रत्यक्ष रूपमा सहभागी हुने शिक्षक र विद्यार्थीहरु आफै पछिल्लो समय अन्यौलमा पर्न थालको रिपोर्टहरु सार्वजनिक भइरहेका छन्। शिक्षा ऐन नै अहिलेसम्म बन्न सकेको अवस्था छैन। 

पछिल्लो समय दलीय हस्तक्षेपले समेत शिक्षा क्षेत्रकाे सुधार थप जटिल हुन पुगेको बेला भर्खरै उदाएको पार्टीबाट मन्त्री भएका खनालको काम हेर्न सबै प्रतिक्षारत छन्।

यस्तो अवस्थामा दुर्गम क्षेत्रको शिक्षा र पालिका स्तरको शिक्षाको उनको अनुभव काम लाग्ने देखिन्छ। शिक्षक अभाव, विद्यालय समायोजन (मर्ज), विद्यार्थीलाई विद्यालयको पहुँच लगायतका थुप्रै विषयमा उनले प्रत्यक्ष रुपमा संलग्नता जनाएर काम गरिसकेका छन्।

सामाजिक संस्था र स्थानीय सरकारमा बसेर काम गरिसकेकाे खनालले अब भने सदनमै गएर सार्वजनिक शिक्षा सुधार, दिगो शहरी विकास जस्ता कुरामा काम गरेर देखाउने माैका पाएका छन्।

३ माघ, २०७९, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।