गृहमन्त्री रविलाई बारीमा शव फेला परेकी निरुको बाबुको प्रश्न' मेरो छोरीको हत्यारालाई पक्राउ गर्न चैँ निर्देशन दिन मिल्दैन?'

गृहमन्त्री रविलाई बारीमा शव फेला परेकी निरुको बाबुको प्रश्न' मेरो छोरीको हत्यारालाई पक्राउ गर्न चैँ निर्देशन दिन मिल्दैन?'

काठमाडौं : कालिकोटको खाँडाचक्र नगरपालिका -६ गोरालवाडास्थित महादेवको मन्दिरमा भदौ ४ गते आफ्ना साथीहरूसँग जात्रा हेर्न गएकी निरु विक राति अबेरसम्म घर फर्किनन्। घर नफर्किएपछि उनको परिवारलाई कुनै साथीको घर गएकी होलिन् भन्ने लागेछ।

भोलिपल्ट पनि उनी घर नआएपछि कतै भागेर गइन् भन्ने सोचे। परिवारले यताउता सोध्न थाले। जजसलाई सोधे कसैले पनि निरुबारे केही बताउन सकेनन्। तीन दिनदेखि हराइरहेकी छोरीको अत्तोपत्तो लागेन। भदौ सात गते निरुको मृत्युको खबर आयो।  २०७८ भदौ ७ गते निरु विकको शव घर नजिकैको मकै बारीमा फेला पर्यो। घरबाट सकुशल निस्किएकी छोरीको शव चिन्न मुस्किल पर्ने अवस्थामा थियो।

१६ महिना भयो निरुको हत्या भएको। उनका बाबु रत्ने विक प्रहरीमा धाउँदा-धाउँदा हैरान भइसके। छोरीलाई कसले मार्यो अनि किन मार्यो उनले अहिलेसम्म जवाफ पाउन सकेका छैनन्।

'१६ महिना भयो छोरी मारिएको। प्रहरीले काम गरिरहेको छु भन्छन्। घरबाट सकुशल निस्किएकी छोरी त्यो अवस्थामा भेटियो,' रत्ने विकले भने' प्रहरीले आफूले छानबिन गरेर न्याय दिलाउँछौँ भन्छन्। कहिले मलाई आएर सोध्छन्। कहिले जिल्लामा बोलाउँछन्। न मलाई अपराधीबारे राम्रो सँग थाहा छ न मसँग जिल्ला प्रशासनसम्म जाने पैसा छ। शङ्का गरेको मान्छेबारे प्रमाण नभएकाले बोल्न सकेको छैन।'

कतै आफू दलित भएकाले राज्य संयन्त्रले त्यति चासो नदेखाएको पो हो कि भन्ने पनि लाग्ने रहेछ उनलाई। छोरीको हत्या किन र कसले गर्यो भन्ने पत्ता लगाउन काठमाडौँ आएका उनले भने 'निर्मलाको हत्यारा को हो भनेर छानबिन गर्न गृहमन्त्रीले पुलिसलाई निर्देशन दिएको सुने। खुसी लाग्यो। मेरी छोरी पनि उसैगरी मारिएकी हुन् नि। मेरो छोरीको हत्यारा पत्ता लगाउन पनि त्यसै गरी निर्देशन दिन मिल्दैन र!'

गोरालवाडाका वडा अध्यक्ष दिनेशबहादुर शाही घटनाको समयमा आफू बाहिर रहेको भन्दै अहिले भने अनुसन्धान अगाडि बढाउन सघाइरहेको बताउँछन्। उनले केही समय प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै अहिले प्रशासनलाई झकझकाई रहेको बताए।  

के भन्छ प्रहरी प्रशासन?

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रहरी प्रमुख यस घटनाबारे अनुसन्धान भइरहेको  मात्र बताउँछन्। प्रहरीमा ढिला खबर आएकाले अनुसन्धान पनि ढिला भएको उनको दाबी छ।

'प्रहरी प्रशासनमा ढिलो खबर आयो जसले अनुसन्धानमा ढिला भइरहेको छ,' उनले भने' हामीले काम गरिरहँदा पनि सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनौँ।'

प्रहरीलाई खबर हुँदासम्म शवको माथिको भाग जङ्गली जनावरले खाइसकेको अनि ३ गते घटना भए पनि ७ गते मात्र प्रहरीमा दर्ता भएको उनले बताए।

'तीन दर्जन बढी व्यक्तिलाई ल्याएर सोधपुछ गरिसक्यौँ। ढिलो दर्ता हुँदा नै हामीलाई यो घटनाबारे अनुसन्धान गर्न चुनौती भयो,' उनले भने' घटना अनुसन्धानकै प्रक्रियामा रहेकाले हामीले थप केही भन्न मिल्ने अवस्था छैन।'

के भन्छन् आन्दोलनकारी?

कालिकोटमै न्यायका लागि आवाज उठाएर आन्दोलन गरिरहेको 'चे फोर्स नेपाल' कालिकोटको एक समूह अहिले काठमाडौँसम्मै आइपुगेको छ। उनीहरू निरू कर्णाली विकट ठाउँकै भएको कारण राज्यले बेवास्ता गरेको दाबी गर्छन्।

'हामी निरूले न्याय नपाउन्जेल चुप बस्ने छैनौँ। जबसम्म प्रहरी प्रशासनले गम्भीर रूपमा यस घटनाबारे छानबिन गर्दैन तबसम्म हामी पछाडि हट्ने छैनौँ' निरूको न्यायका लागि आवाज उठाई रहेका हिम्मतजंग मल्लले भने।

सरकार मल्लले निर्मला पन्तको लागि न्याय दिलाउन लागि परेको सरकार निरू विकबारे मौन बसेकोमा चित्त दुखाए।

१ माघ, २०७९, १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।