शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

काठमाडौं: माघे सङ्क्रान्ति पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्रै महत्त्वपूर्ण र रौनकमय छैन, स्वास्थ्यको दृष्टिले समेत माघे सङ्क्रान्ति त्यतिकै लाभदायक पर्वको रूपमा देखिन्छ।

चिकित्सकका अनुसार माघे सङ्क्रान्तिमा खाइने विभिन्न किसिमका परिकारले शारीरिक तथा मानसिक रूपमा ऊर्जा मिल्ने पर्व हो यो। चिकित्सकको मतअनुसार माघे सङ्क्रान्तिमा खाइने तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकार स्वास्थ्यका लागि लाभदायक हुन्छन्।

तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्। ‘चाकुमा आइरन हुन्छ’, डा. उप्रेतीले भनिन्,‘लवण तत्त्व प्रशस्त हुन्छ। क्याल्सियम पनि पर्याप्त हुन्छ।’

घ्यू, चाकु, लड्डु जस्ता परिकारमा हुने प्रोटिन, कार्वोहाइड्रेट तथा शूक्ष्म पोषण तत्त्वले शरीरमा ऊर्जा दिने चिकित्सकको मत छ। चिकित्सकको मत अनुसार तिलमा प्रशस्त क्याल्सियम पाइन्छ। आइरन पाइन्छ। यस्ता परिकार सन्तुलित रूपमा खानाले शरीर मजबुत हुन्छ।

विशेषगरी महिलामा रगतको कमी हुन नदिनका लागि यस्ता परिकार लाभदायक हुने उनी बताउँछिन्। ‘गर्भवति, सुत्केरी महिलालाई क्याल्सियम चाहिन्छ, उहाँहरूको लागि राम्रो हुन्छ’, उप्रेतीले भनिन्।

तिल, चाकुमा विभिन्न किसिमका शूक्ष्म पोषण तत्त्व हुने भएकाले बालबालिकालाई तिल र चाकु खुवाएको अवस्थामा शरीरको वृद्धि विकासमा लाभदायक हुने उनले बताइन्।

'करिब एक वर्षपछि बच्चाहरूलाई चाकु, तिल पिसेर खानेकुरा खुवायो भने शरीरमा क्याल्सियम पनि पुग्छ’, डा. उप्रेतीले भनिन्। त्यसैले बालबालिकालाई चकलेटको सट्टामा चाकु खुवाउन उनको सुझाव छ।

महिला, गर्भवती तथा बालबालिकाको स्वास्थ्यका लागि आइरन निकै लाभदायक हुने उनी बताउँछिन्। अफ्रिकन मुलुकमा तरुलको भात, रोटी खाए जसरी विभिन्न परिकार बनाएर खाने गरेको डा. उप्रेतीले बताइन्। त्यसैगरी पिठो बनाएर समेत खाने चलन भएको उनले बताइन्।

त्यसैगरी उमेर पाको हुँदै जाँदा महिलाको रजश्वला सुक्दै जाने अवस्थामा समस्या निम्तनबाट बच्नका लागि समेत तरुल लाभदायक हुने उनी बताउँछिन्। 

तरुलमा महिलाका लागि आवश्यक प्रशस्त शूक्ष्म पोषक तत्त्व पाइने चिकित्सक बताउँछन्। त्यसैगरी सखरखण्ड (सुठूनी) मा भिटामिन ‘ए’ बन्ने तत्त्व पर्याप्त मात्रामा पाइने डा. उप्रेतीले बताइन्। 

‘सखरखण्डमा भिटामिन 'ए' बनाउने तत्त्व पाइन्छ’,उनले बताइन्।

विशेषगरी रातो सखरखण्डमा यस्तो भिटामिन पाइन्छ। जसले गर्दा शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढ्ने चिकित्सक बताउँछन्।

त्यसैगरी तरुल र सखरखण्डमा पर्याप्त रेसादार तत्त्व पाइन्छन्। जसले गर्दा कब्जियत, मोटोपनाको समस्याबाट समेत बच्न सकिने चिकित्सकको मत छ।

माघे सङ्क्रान्तिको चिसो मौसममा यस्ता परिकार खानाले एकातर्फ शरीर न्यानो हुन्छ। र, पेट समेत स्वस्थ हुन्छ। 

त्यति मात्रै हैन यस्ता परिकार खानाले कुपोषणको जोखिमबाट समेत बच्न सकिन्छ।

परोपकार प्रसूति तथा स्त्री रोग (प्रसूति गृह) अस्पतालका फिजिसियन डा. सुनिल शर्मा आचार्य चाकु, लड्डु तरुल जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने भए पनि सन्तुलित रूपमा खान सल्लाह दिन्छन्।

मधुमेह (सुगर), मुटुको समस्या, रक्तचापलगायतको समस्या भएका व्यक्तिले खानपानमा विशेष सचेत हुनुपर्ने बताउँछन्। 

माघे सङ्क्रान्तिमा खाइने चाकु, लड्डु, तरुल जस्ता परिकारमा चिल्लो तथा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले सचेतना अपनाएर खान डा. आचार्यको सुझाव छ।

माघे सङ्क्रान्तिमा खाइने यस्ता परिकारमा महिला तथा बालबालिकालाई आवश्यक पोषण तत्त्व पाइने भएकाले माघे सङ्क्रान्तिमा मात्रै होइन अन्य समयमा समेत सन्तुलित रूपमा खान डा. आचार्य सल्लाह दिन्छन्।

‘यस्ता परिकारमा कार्बोहाइड्रेट, शरीरलाई चाहिने मिनरल पर्याप्त रूपमा हुन्छ’, डा. आचार्यले भने, ‘तरुल, सखरखण्डमा सुगर कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ।’

त्यसैगरी यस्ता परिकार खाएपछि व्यायाम गर्न डा. आचार्यको सुझाव छ। ‘खाना खाएपछि आधा घण्टा हिँड्नु लाभदायक हुन्छ’, उनले भने।

माघे सङ्क्रान्तिमा खाइने यस्ता परिकारले शारीरिक रूपमा त लाभ मिल्छ नै, मानसिक रूपमा समेत यो पर्वलाई ऊर्जा दिने पर्वका रूपमा लिन्छन् मनोविद्।

मनोविद् गोपाल ढकालका अनुसार माघेसङ्क्रान्तिको उत्सवले आफन्तसँग भेटघाट गरेर रमाइलो गरी मनाउँदा मनमा ऊर्जा मिल्छ। मन शान्त हुन्छ। 

‘यस्ता पर्व आनन्दले मनाउँदा मन मस्तिष्कमा उमङ्ग छाउँछ, जसले मन खुशी हुन्छ। तनावमुक्त हुन्छ’, ढकालले भने।

तिलका लड्डु, चाकु जस्ता गुलिया परिकार खानाले शरीरमा तापक्रम उत्पन्न गरेर न्यानो हुनुका साथै मनमा उत्साह उत्पन्न हुने ढकाल बताउँछन्।

त्यसैगरी माघे सङ्क्रान्तिमा परम्परा तथा भौगोलिक उपलब्धता अनुसार तरुल, पिडालु, तिलको लड्डु, घ्यू, चाकु, फुरौला खाने रहेको छ। नेवारी समुदायमा पालुंगोको साग पनि खाने परम्पारा छ। नेवारी समुदायमा चाकु खाने दिनका रूपमा मनाइने यो पर्वलाई ‘हामो सँल्हू’का नामले समेत चिनिन्छ। 

तराई क्षेत्रमा चामल, भुजामा सखर हालेर डल्लो बनाएर परिकार खाने गरिन्छ।

संस्कृतिविद्का अनुसार माघे सङ्क्रान्तिको दिन तिलको तेल घस्ने, पितृलाई तिल चढाउने, लड्डु दान गर्ने जस्ता परम्परा छ।

त्यति मात्रै होइन, परिवार तथा आफन्तसँग भेटघाट तथा जमघट गरेर मीठा परिकार खाने तथा नाचगान गर्ने समेत चलन रहेको छ। यसरी मीठा मीठा परिकार खाँदै रमाउनाले मनमा खुशी मिल्ने मनोविद् ढकालको तर्क छ।

मौसम परिवर्तन र पुण्यको पर्व
सौरमान माघ महिनामा प्रारम्भ हुने दिनलाई माघे सङ्क्रान्ति भनिने गरेको संस्कृतिविद् बताउँछन्। संस्कृतिविद्का अनुसार यो दिन सूर्य वृश्चिक राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई माघे सङ्क्रान्ति भनिएको हो।

उत्तरायण र दक्षिणायण गरी ६/६ महिनामा दुई वटा आयान हुन्छन्। साउने सङ्क्रान्तिदेखि माघे सङ्क्रान्तिसम्म एउटा आयान हुन्छ, भने माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्म अर्को आयान हुने ज्योतिष शास्त्रीय मान्यता रहेको वाल्मिकी विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनाल बताउँछन्।

माघे सङ्क्रान्तिकै दिन सूर्य दक्षिणायणको भोग समापनगरी उत्तरायणतर्फ प्रवेश गर्ने डा. खनाल बताउँछन्। 

कर्कट सङ्क्रान्तिमा सूर्य दक्षिणायण र मकर सङ्क्रान्तिमा सूर्य उतरायण हुने उनले बताए। 

त्यसैले माघे सङ्क्रान्तिको दिन सूर्य दक्षिणायणबाट उत्तरायणतर्फ लाग्छन्। यही दिनबाट हेमन्त ऋतुको अन्त्य भई शिशिर ऋतुको सुरुआत हुन्छ। 

जसले गर्दा मौसम न्यानो हुँदै जान्छ। माघे सङ्क्रान्तिमा सूर्य उत्तरायण हुने भएकाले दिन लामो हुने र जाडो हटेर गर्मी लाग्ने पर्वका रूपमा समेत लिइन्छ यो पर्वलाई।

डा. खनालका अनुसार ज्योतिश शास्त्रीय दृष्टिकोणमा माघे सङ्क्रान्तिलाई सूर्यको सङ्क्रमणका रूपमा लिइन्छ। 

सूर्य प्रत्येक महिना एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। जसले मौसम परिवर्तन हुन पुग्छ।

त्यसो त धर्म शास्त्रीय मान्यता अनुसार माघे सङ्क्रान्तिलाई पूण्य दिनका रूपमा लिइने गरेको छ।

प्राचीन समयमा माघे सङ्क्रान्तिमा उपवास (व्रत) बस्ने, तीर्थस्थल जाने, नाचगान गर्ने तथा रमाइलो गर्ने, खानपान गर्ने परम्परा रहेको डा. खनालले बताए। 

धार्मिक पर्वका रूपमा मनाउन थालिएको माघे सङ्क्रान्ति विस्तारै सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको उनको विश्लेषण छ।

डा. खनालका अनुसार वैदिक परम्पराअनुसार हिन्द महासागर र सिन्धु नदी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले यो पर्व मनाउँथे। पछि तिनै सिन्धुवासीलाई हिन्दूका नामले चिनिन थाल्यो। 

र, यो पर्व पनि हिन्दूको पर्वका रूपमा चिनिन थालिएको हो। त्यसैगरी यो दिन नदी किनारामा गएर नुहाउने परम्परा समेत रहेको छ।

नेपालका सबै क्षेत्रमा माघे सङ्क्रान्ति मनाइन्छ। संस्कृतिविद्का अनुसार थारु समुदायमा यो पर्वलाई माघी, माघ्या, सेल्र्हेस पर्वका रूपमा चिनिन्छ। 

मैथिली समाजमा यो पर्वलाई नैतिक वन्धन तथा सामाजिक कार्य गर्ने पर्वका रूपमा मनाइन्छ। 

तिल र सखरका लड्डु बनाएर खाइने भएकाले तराई क्षेत्रमा माघे सङ्क्रान्तिलाई तिला पर्वका रूपमा पनि चिनिन्छ। माघे सङ्क्रान्तिमा खाने परिकारले रोगव्याधि हट्ने विश्वास समेत रहेको छ।

१ माघ, २०७९, ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।