मुटु छाम्ने डाक्टर सञ्जीवको उपचार अनुभव : दुई हप्ताकी २३ वर्षकी सुत्केरीले ज्यान बचाउन जब टुलुटुलु हेरिन्

मुटु छाम्ने डाक्टर सञ्जीवको उपचार अनुभव : दुई हप्ताकी २३ वर्षकी सुत्केरीले ज्यान बचाउन जब टुलुटुलु हेरिन्

काठमाडौंः सुत्केरी महिलाको मृत्यु भएको घटना सम्झँदा मुटु रोग विशेषज्ञ डा. सञ्जीव थापाको  मन चसक्क हुन्छ। भारी हुन्छ।
घटना केही समय अघिको हो। करिब २३ वर्षकी सुत्केरी महिलालाई मनमोहन कार्डियोथोरासिक भास्कलुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्याइएको थियो।

ती महिलालाई तराईको एक अस्पतालबाट रिफर गरिएको रहेछ। ती महिला सुत्केरी भएको करिब दुई हप्ता भएको थियो। अस्पताल पुर्याउँदा महिलाको मुटुको अवस्था अत्यन्तै कमजोर भइसकेको थियो। ती महिलाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो।

सुत्केरीपछि हुने मुटुको कमजोरीको अवस्थालाई चिकित्सकीय भाषामा ‘पेरिपार्टम कार्डियो मायोप्याथी’ भनिन्छ। जुन गर्भावस्थामा नै मुटु कमजोर भएर निम्तने समस्या (हार्ट फेलियर) हो।

डा. सञ्जीवको टिमले ती सुत्केरी महिलाको मुटुको उपचार गर्यो। सिसियुमा राखियो। चिकित्सकको टिमले मुटुको कामलाई सहजता बनाउने कोसिस गर्यो। चिकित्सा विज्ञानको ज्ञान तथा सिपले भ्याएसम्मको औषधि उपचार गर्यो  चिकित्सकको टिमले। महिलालाई बचाउन हर प्रयास गर्यो। तर, केही चलेन।

उपचारकै क्रममा ती सुत्केरी महिलाको मृत्यु भयो।  ती महिलाका श्रीमानलाई श्रीमतीको मृत्यु भएको खबर सुनायो चिकित्सकको टिमले। ती महिलाको मृत्युको खबर सुनाउँदा मन निक्कै भारी भएको उनले सुनाए।

उपचारकै क्रममा ती २३ वर्षे महिलाको मृत्यु भएपछि डा. सञ्जीवको मन निक्कै भारी भयो। उनले टुलुटुलु हेरेको सम्झिए। मन चसक्क भयो।

डा. सञ्जीवले सोचे,‘आमालाई त केही गरे पनि बचाउन सकिएन, मृतक महिलाको बच्चाको अव कस्तो अवस्था हुन्छ होला! भविष्य के होला!’

यस्तो अवस्थाका बिरामी बचाउन नसक्दा साह्रै दुःख लाग्ने उनले सुनाए। डा. सञ्जीवका अनुसार यस्तो समस्या भएका अधिकांश बिरामी उपचार पछि ठिक भएर डिस्चार्ज हुन्छन्। तर, एकाध बिरामीलाई भने बचाउन नसकिने गरेको उनले सुनाए। बिशेषगरी ढिला अस्पताल पुर्याउँदा यस्तो समस्या भएका बिरामीलाई बचाउने जोखिम हुँदै जाने भएकाले समयमा नै अस्पताल पुग्न डा. सञ्जीवको सुझाव छ।

जहिल्यै पनि बिरामीको आफन्त जस्तै बनेर चिकित्सकले उपचार गर्नुपर्छ जस्तो लाग्छ उनलाई। डा. सञ्जीव पनि आफूलाई बिरामीको ठाउँमा उभ्याएर बिरामीको उपचार गर्छन्। त्यसैले त उनी बिरामी र बिरामीको आफन्तको दुःख र पिर नजिकबाट नियाल्न सक्छन्।

पाँचौँ पटकमा ती बाजेलाई बचाउन नसक्दा...
केही वर्ष अघिको घटना पनि डा. सञ्जीवको मानसपटलमा ताजै छ।
मुटु रोग विशेषज्ञ डा. सञ्जीव अस्पतालको ड्युटीमा नै खटिएका थिए। करिब ६२ वर्षका बाजे मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्प्लान्ट सेन्टरको आकस्मिक कक्षमा पुगे। ती बिरामीको बिरामीको रक्तचाप कम थियो। उनले रक्तचाप बढाउने औषधि दिए। सिपिआर गरे। 
ती बिरामी बाजेको मुटुले काम गर्ने क्षमता कमजोर थियो। मुटुले काम गर्ने क्षमता करिब २० प्रतिशत थियो। ती बाजे त्यसअघि पनि मुटुकै समस्या भएर आकस्मिक कक्षमा पुगेका रहेछ। बाजे मुटुको समस्या भएर आकस्मिक कक्षमा पुगेको त्यो तेस्रो पटक थियो। तेस्रो पटक स्वास्थ्य अवस्था जटिल भएर अस्पताल पुगेका ती बाजेलाई सिसियुमा राखेर उपचार गरेर बचाएर अस्पतालबाट डिस्चार्ज गरेको सम्झन्छन् उनी।

केही समयपछि पुनः चौथो पटक पनि ती बाजे मुटुको समस्या भएर अस्पताल पुगे। त्यसपछि डा. सञ्जीवको टिमले ती बाजेको एन्जीओग्राफी ग¥यो। बिरामीको मुटुको तीन वटै नसा साँघुरो देखियो।

त्यसैले मुटुको साँघुरो भएका नसालाई फुलाएर पाइपजस्तो स्टेण्ट राखियो। जसले गर्दा रक्त सञ्चारमा सहजता भयो। बिरामी अस्पतालबाट डिस्चार्ज भएर फर्के। बेलाबेलामा फलोअपमा अस्पताल पुगिरहन्थे ती बाजे। स्वास्थ्य सामान्य नै थियो।
तर, मुटुमा स्टेण्ट राखेको पाँच वर्षपछि पुनः अचानक मुटुमा समस्या भएर ती बाजे आकस्मिक रूपमा अस्पताल पुगे। स्वास्थ्य परीक्षण गर्दा ती बाजेको मुटुको चाल बत्तिएको थियो। जसले गर्दा मुटुको चालमा अस्वाभाविक रूपमा गडबडी भएको थियो।

त्यसपछि ती बाजेलाई डा. सञ्जीवको टिमले आइसियुमा राखेर उपचार गर्यो। बाजे ठिक भए। डिस्चार्ज भएर घर फर्के।
पाँचौँ पटक पनि ती बाजे मुटुको त्यही समस्या भएर आकस्मिक रूपमा अस्पताल पुगे। अस्पताल भर्ना भए। डा. सञ्जीवले ती बाजेको उपचार गर्यो। पहिलो पटक मुटुको समस्या भएर आकस्मिक रूपमा अस्पताल पुगेको पाँच वर्षसम्म ती बाजे उपचारपछि ठिक हुँदै डिस्चार्ज भएका थिए।

चौथो पटकसम्म चिकित्सकको टिमले ती बाजेलाई बचाएर घर पठाएकाले पाँचौँ पटक पनि बाजे ठिक हुने आशामा आफन्त अस्पतालमा कुरिरहेका थिए। तर, पाँचौँ पटकमा भने चिकित्सकको टिमले जति नै कोसिस गरे पनि ती ६२ वर्षे बाजेलाई बचाउन सम्भव भएन। करिब चार वर्ष अघि आकस्मिक रूपमा उपचारका लागि पुगेको पाँचौँ पटकमा ती बाजेलाई बचाउन नसकेको त्यो प्रसङ्ग सम्झँदा डा. सञ्जीवको मन खिन्न हुन्छ।

परिवारलाई पहिलो पटक आकस्मिक रूपमा अस्पताल पुर्याउँदा बिरामीलाई फर्काउन सकिँदैन होला भन्ने लागेको रहेछ। तर, चौथो पटकसम्म पनि आकस्मिक रूपमा अस्पतालमा पुर्याउँदा ती बिरामीलाई बचाएर घर फर्काउन पाएका थिए बिरामीका आफन्तले। पाँचौँ पटक पनि यस्तै त हो नि डाक्टरको टिमले हाम्रो बिरामी बचाइदिहाल्छन् अनि घर लिएर लैजाउँला भन्ने  सोचेका थिए बिरामीका आफन्तले। तर, पाँचौँ पटक भने बिरामी बाजे बचाउन सम्भव नभएको खबर दिँदा भने बिरामीका आफन्तसमेत झसङ्ग भएको डा. सञ्जीव सम्झन्छन्। बाजे ठिक हुन्छन् अनि घर लिएर जाउँला भनेर कुरिरहेका परिवारसमक्ष बाजेलाई बचाउन सकिएन भनेर भन्न समेत कठिन भएको डा. सञ्जीव सम्झन्छन्।
हृदयाघात भएका बिरामी समयमा नै अस्पताल पुगेको खण्डमा अधिकांश बिरामी बचाउन सकिन्छ। तर, ढिला अनि स्वास्थ्य जटिलता निम्तिएपछि अस्पताल पुग्दा भने  समस्या हुने गरेको उनले सुनाए।

‘ढिलो अस्पताल पुगेका कतिपय बिरामी बचाउन असम्भव हुन्छ,’डा. सञ्जीवले भने,‘यसरी बचाउन नसक्नेको प्रतिशत न्यून हुन्छ।’
हृदयाघात भएका कतिपय बिरामी अस्पताल नै नपुग्ने गरेको र कतिपय ढिला पुग्ने गरेको उनले बताए। सामान्यतया हृदयाघात भएका कयौँ बिरामी हिँड्दै र बोल्दै अस्पताल पुग्ने गरेकाले हिँड्दै र बोल्दै अस्पताल पुगेका बिरामीको अस्पतालमा मृत्यु हुँदा भने कतिपय बिरामीका आफन्तहरू चिकित्सकप्रति असन्तुष्ट तथा रुष्ट हुने गरेको उनले सुनाए।

हृदयाघात भएर मुटुको नसा बन्द भएको अवस्थामा एन्जियो प्लाष्टि गरेर नसा खोलिदिने तथा औषधि उपचार गर्ने लगायत उनको दैनिकीमा पर्छ।

कयौँ बिरामीलाई अझै मनमोहन कार्डियो थोरासिक एन्ड भास्कुलर सेन्टरमा मुटुको उपचार हुन्छ भन्ने थाहा नपाएको उनले अनुभूति छ। जहाँ विशेषज्ञहरू रहेकाले मुटुको उपचार हुन्छ।

ती बाजेको टेबुलमा नै मृत्यु भएपछि...
करिब नौ महिना अघि करिब ६० वर्षका मुटुको नसा बन्द भएर आकस्मिक रूपमा अस्पताल पुगेका बाजेको घटना पनि डा. सञ्जीवको मानसपटलमा ताजै छ।

बाजे हिँडेर गफगाफ गर्दै अस्पताल पुगेका थिए। आकस्मिक कक्षमा पुगेका बाजेको तुरुन्तै एन्जियो प्लाष्टि गरेर मुटुको नसा खोल्नुपर्ने थियो। अस्पतालबाट खबर आएपछि डा. सञ्जीव हतार हतार राति करिब १२ बजे अस्पताल  पुगे। अरू चिकित्सक पनि पुगे। राति नै डा. सञ्जीवको टिमले ती बाजेको एन्जिओ प्लाष्टि गर्यो। मुटुको नसा खोलियो।

तर, एन्जिओ प्लाष्टि गरिसक्नासाथ बाजेको एक्कासि रक्तचाप कम भयो। मुटुको चाल बत्तियो। अस्वाभाविक रूपमा मुटुको चाल गडबडी भयो। बिरामीलाई सिपिआर गरियो। कृत्रिम श्वासप्रश्वास दिइयो। तर, जति नै कोसिस गरे पनि मुटुको चाल सामान्य अवस्थामा फर्काउने चिकित्सकको टिमको कोसिस निरर्थक भयो। उपचारको क्रममा टेबलमा नै ६० वर्षे ती बाजेको मृत्यु भयो। ती बाजेलाई त्यसरी एन्जिओ प्लाष्टि गरिसकेपछि पनि बचाउन नसकेको त्यो घटना सम्झँदा डा. सञ्जीवको मन अमिलो हुन्छ। मन भारी हुन्छ।

एन्जिओ प्लाष्टि गरेर नसा खोलिसकेपछि अचानक मुटुको चाल बन्द हुने, मुटुको  चाल बत्तिएर चालमा अचानक अस्वाभाविक रूपमा गडबडी हुने जस्ता समस्या हुने गरेको उनले सुनाए। कतिपय अवस्थामा भने यस्तो समस्या भएका बिरामीलाई बचाउन नसकिने गरेको डा. सञ्जीवले सुनाए। एनजिओ प्लाष्टि गरेको तीन दिन सम्म बिरामीको मुटुको चालमा कुनै पनि बेला अचानक गडबडीको जोखिम हुने उनले सुनाए।
हृदयाघात भएका युवाको मृत्यु भएपछि...
केही वर्ष अघिको घटना पनि डा. सञ्जीव कहिल्यै भुल्दैनन्। करिब ३२ वर्षका युवा हृदयाघात भएर अस्पताल पुगेका थिए।

चिकित्सकको टिमले ती युवाको एन्जिओ प्लाष्टि ग¥यो। हृदयाघात भएको नसा खोल्दाखोल्दै मुटुको नसो बत्तियो। रक्तचाप कम भयो। उपचार गरिरहेको टेबुलमा नै ती युवाको मृत्यु भयो। त्यसपछि ती युवाका आफन्त चिकित्सकहरूप्रति आक्रोशित भएछन्। पछि आफन्तलाई सम्झाई बुझाइ गरेपछि आफन्तले कुरा बुझेको उनले सुनाए।

ती युवाका अग्रज परिवारका सदस्यमा हृदयाघातको समस्या थियो।
आफैँलाई भने प्रत्यक्ष रूपमा बिरामीका आफन्तले गाली नगरेको उनले सुनाए। बिरामी बचाउने प्रयासमा यस्ता जोखिम भने मोल्नै पर्ने डा. सञ्जीवको अनुभव छ। स्वास्थ्य अवस्था जटिल भएका बिरामीको मृत्युको जोखिम हुने हो कि भनेर जोखिम मोलेर उपचार नगर्ने हो भने बिरामी उपचारबाट वञ्चित हुने उनी बताउँछन्। ‘उपचार नै नगर्ने हो भने त गाल पनि पर्दैन, रिस्क पनि हुँदैन,’ उनले भने,‘तर बिरामी बचाउन त रिस्क लिनै पर्यो।’

बिरामी बचाउन सकिएन भने बिरामीका आफन्तले कुट्लान् भन्ने डरले उपचार गर्न डराउनुको सट्टा सम्भावित स्वास्थ्य जोखिमको बारेमा बिरामीका आफन्तलाई राम्रोसँग बुझाउनुपर्ने  डा. सञ्जीवले बताए।

विशेष गरी युवा अवस्था र अन्य केही अवस्थाका बिरामीको मृत्युको घोषणा गर्न र मृत्यु भएको खबर आफन्तलाई सुनाउन निक्कै कठिन हुने गरेको डा. सञ्जीवको अनुभव छ।

चिनेकै डाक्टरको हजुरआमाको मृत्यु भएपछि...
त्यसो त केही वर्ष अघि नजिकबाट चिनेकै डाक्टरको हजुरआमाको मृत्युको घटना सम्झँदा पनि डा. सञ्जीवको मन कटक्क हुन्छ।
चिनेका ती डाक्टर डाक्टरका करिब ७५ वर्षे हजुरआमालाई बेस्सरी छाती दुखेपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएछ।

ती बजैको हृदयाघात भएर मुटुको नसा बन्द भएको रहेछ। डा. सञ्जीवको टिमले बन्द भएका नसा खोल्ने प्रयास गरिरहेको थियो। नसा खोल्ने प्रयास गरिरहेको अवस्थामा बजैले छाती दुख्यो भनिन्। उपचारकै प्रक्रियामा बजैको मुटुको चालमा गडबडी भयो।

ती बजैको तुरुन्तै सिपिआर गरियो। सिसियुमा सारियो। ती बजैलाई बचाउन चिकित्सकको टिमले हर प्रयास गरे पनि केही चलेन। उपचारकै क्रममा चिनेका डाक्टरकी ती हजुरआमाको मृत्यु भयो।
ती चिनेका डाक्टरले त उपचारका क्रममा हजुरआमाको मृत्यु भएको विषयलाई सहजै स्वीकारे। स्विकार्ने नै भए। किनकि कुनै पनि चिकित्सकले बिरामीलाई बचाउन हर प्रयास गर्छन् भन्ने उनलाई राम्रोसँग थाहा थियो। तर, ती बजैको परिवारलाई बुझाउन भने अलि समय लागेको उनले सुनाए।

जन्म ललितपुर, डाक्टर बन्ने रहर
सञ्जीव ललितपुरको पुलचोकमा २०३५ मा जन्मिएका हुन्। उनले भक्तपुरको वीरेन्द्र सैनिक आवासीय महाविद्यालयबाट २०५१ मा एसएलसी गरे। उनले त्यहीँबाट आइएस्सी गरे। पढाइमा राम्रो भएकाले डाक्टर पढ्न परिवारको सुझाव थियो।

त्यसैले सन् २०००  मा सञ्जीव एमबिबिएस अध्ययनका लागि बङ्गलादेश पुगे। बङ्गलादेशको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चिटागोंगमा भर्ना भएर एमबिबिएस अध्याय गर्न थाले।

एमबिबिएस सकेर सन् २००५ मा सञ्जीव नेपाल फर्के। त्यसपछि उनले नेपाल फर्केर वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह, आँखा अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे।

इन्टर्नसिप पछि सन् २००६ बाट डा. सञ्जीव मेडिकल अधिकृतका रूपमा वीएण्डबी अस्पतालमा काम गर्न थाले। त्यहाँ उनले करिब डेढ वर्ष मेडिसिन विभागमा काम गरे। करिब ६ महिना आकस्मिक कक्षमा काम गरे।

उनलाई थप अध्ययन गर्नु छँदै थियो। त्यसैले डा. सञ्जीवले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको चिकित्सा शास्त्र विषयको एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। उनी अध्ययनका लागि छनोट भए। आफूले छानेकै विषय इन्टरनल मेडिसिन विषय अध्ययन गर्न पाए उनले। त्यसैले डा. सञ्जीवले सन् २००८ मा इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययन गर्न थाले। सन् २०११ मा डा. सञ्जीवको एमडी अध्ययन पूरा भयो। उनले छात्रवृत्ति कोटामा एमडी अध्ययन गरेका हुन्। त्यसपछि उनले पुनः केही महिना वीएण्डबी मा नै काम गरे।

डा. सञ्जीवलाई शैक्षिक रूपमा अध्ययन अनुसन्धान गर्ने तथा पढाउने पनि इच्छा थियो। त्यसैले उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररको रूपमा जागिरे भएर काम गरे। त्यहाँ उनले करिब नौ महिना काम गरे।

मुटुमा रुचि
डा. सञ्जीवलाई मुटु रोग विषयप्रति बढी रुचि जाग्दै गएको थियो। मुटु रोगको विषयमा नै अध्ययन गर्ने ठुलो रहर थियो।

नभन्दै डा. सञ्जीव चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज क्याम्पसमा टिचिङ असिस्टेन्टको रूपमा काम गर्ने मौका पाए। सन् २०१२ बाट उनले त्यहाँ काम गर्न थाले। क्याम्पसमा विद्यार्थी पढाउने काम हुन्थ्यो। बिरामीको स्वास्थ्य परीक्षण गर्ने तथा औषधि उपचार गर्ने काम भने मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा हुन्थ्यो। त्यहाँ उनले दुई वर्ष काम गरे।

त्यसपछि सन् २०१४ मा उनले कार्डियोलोजी विषयमा डिएम अध्ययन गर्न थाले। जुन विशिष्टीकृत अध्ययन हो। ‘सन् २०१४ मा कार्डियोलोजीमा डिएम गर्न थालेँ,’उनले भने।

सन् २०१७ मा कार्डियोलोजी विषयमा डा. सञ्जीवको एमडी अध्ययन पूरा भयो। त्यसपछि सन् २०१८ यता महाराजगन्ज चिकित्सा क्याम्पसमा नै उनी उपप्राध्यापकका रूपमा काम गरिरहेका छन्। उनले बिरामीको उपचार गर्ने थलो भने मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर हो।

व्यस्त जीवन
चिकित्सकीय पेसा। त्यसमाथि पनि मुटुरो विशेषज्ञ। त्यसैले घरमा बस्दा समेत आफू जतिखेर पनि चनाखो रहने गरेको उनले सुनाए। डा. सञ्जीव एक पटक हैन दुई पटक हैन। कयौँ पटक हृदयाघातका बिरामी बचाउन रातबिरात अस्पतालमा ओहोर दोहोर गरेका छन्। कयौँ पटक आफन्तकहाँ गएको समय र पारिवारिक जमघट भएको समयमा आकस्मिक रूपमा अस्पताल पुगेका बिरामीलाई बचाउन दौडेका छन्।

कहिले काहीँ त परिवारसँग घुम्न गएको बेला समेत बाटैबाट फर्केर अस्पताल पुगेका छन् उनी। एक पटक त साथीको घरमा दसैँको अष्टमीका दिन रमाइलो गर्न तथा खानपान गर्न परिवारसँग गएको समयमा अचानक अस्पतालमा बिरामी बचाउन पुगेका छन् उनी। त्यसपछि बिरामी बचाएर आएर खानपान गरेको उनले सुनाए।
डा. सञ्जीवका १२ वर्षकी छोरी र दश वर्षका छन्। उनकी श्रीमतीले भने कानुन विषय अध्ययन गरेकी रहेछिन्।

परिवारबाट आफूलाई सहयोग भएकैले चिकित्सकीय पेसा अङ्गाल्न सहज भएको उनले सुनाए। पिडामा भएको बिरामीलाई बचाउन पाउँदा भने निक्कै आनन्द लागेको उनले सुनाए। 

३० पुस, २०७९, १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।