प्रहरीको अनुसन्धानको विश्वास भएन भन्दै निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षले माग्यो आयोग

प्रहरीको अनुसन्धानको विश्वास भएन भन्दै निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षले माग्यो आयोग

काठमाडौँ : अनुसन्धान गर्ने निकायले अनुसन्धानको नाममा पटक-पटक त्रुटिपूर्ण अनुसन्धान गरेर मुख्य आरोपी बादशाह कुर्मीलाई जोगाउने काम गरेको आरोप लगाउँदै निर्मला कुर्मीको घटनाबारे न्यायिक आयोग गठन गर्न आन्दोलनरत समूहले माग गरेको छ।

गृहमन्त्री रवि लामिछानेलाई ध्यानाकर्षण पत्र बुझाउन गएका उनीहरूले गृहमन्त्री नभेटिएपछि गृह प्रवक्तालाई पत्र बुझाउँदै कुर्मीको घटनाको अनुसन्धानका लागि न्यायिक आयोगको गठन गर्न र तमसुकमा रहेको भनिएको कुर्मीको सहिछाप पुन परीक्षण गर्न माग गरेका छन्।

निर्मला कुर्मीको मुद्दालाई अदालतसम्म पुर्याउन समेत पत्रमा माग गरिएको छ। १६ दिनदिनै माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका उनीहरूले आन्दोलनमा सहभागीहरूको सुरक्षाको माग समेत गरेका छन्।

गृहमन्त्री लामिछानेले फोन गरेर न्यायिक पहलको लागी आफू संवेदनशील रहेको भने पनि १६ दिनसम्म कुनै प्रगति नभएको भन्दै उनीहरूले न्यायको प्रत्याभूतिको माग राखेका छन्।

कुर्मीको घटनाबारे यस अगाडि नै अनुसन्धान भएर आरोपीहरूलाई प्रहरीले पक्राउ समेत गरेको थियो। तर प्रमाणको अभाव रहेको भन्दै मुद्दा अदालतसम्म पुगेन।

आन्दोलनकारीहरूले प्रहरीले बादशाह कुर्मीलाई जोगाउने काम गरेको र अनुसन्धान गर्ने निकायबाट मुद्दाका बारेमा फरक फरक सूचना दिने काम गरेको गम्भीर आरोप समेत लगाएको थियो।

उनीहरूले जग्गाका लागि बादशाह कुर्मीले उनको हत्या गरेको दाबी गर्दै आएका छन्। यस अगाडिको अनुसन्धानमा निर्मलाले भारतीय नागरिकसँग विवाह गरेको र उनी नेपाल आएको बेलामा रहस्यमय रूपमा मृत्यु भएको खुलेको थियो। अहिले निर्मलाको जग्गा विभिन्न व्यक्तिको नाममा पुगेको छ।

आन्दोलनरत समूहले सो प्रकरणमा नेपाली कांग्रेसका नेता बादशाह संलग्न रहेको निरन्तर आरोप लगाउँदै आएको छ। अहिले भइरहेको आन्दोलन दोस्रो चरणको हो। यसभन्दा अगाडिको आन्दोलन छानबिन समिति गठनपछि रोकिएको थियो।

२९ पुस, २०७९, २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।