साप्ताहिक सेयर समीक्षाः के नेप्से ‘बुलिस’बाट फेरि ‘बियरिस’तर्फ जान खोजेको हो?

साप्ताहिक सेयर समीक्षाः के नेप्से ‘बुलिस’बाट फेरि ‘बियरिस’तर्फ जान खोजेको हो?

काठमाडाैंः यो साता नेप्सेले धेरै उतार चढावको सामना गरेको देखियो। आइतबार र सोमबार उकालो यात्रामा रहेकाे नेप्से मंगलबार र बिहीबार ओरालोतिर लागेकाे थियो।

मंगलबार नेप्से यति धेरै तलमाथि गर्याे कि सेयर बजारका खेलाडी समेत चकित परे। एकै दिनमा १०० बिन्दुले तलमाथि भएको उक्त घटना निकै नौलो हो।

नयाँ सरकारको गठनसँगै नेप्सेले उकालो यात्रा तय गरेको थियो। तर केही दिन यता देशको राजनीति यति धेरै तरल भइदियो कि लगानीकर्ता स्वयंमा ढुक्क हुन सकेनन्। राजनीति जति तरल भयो सेयर बजार उति नै अस्थिर हुन्छ।

यो साता आइतबारका दिन २१४३.९४ बिन्दुबाट सुरु भएको नेप्सेको यात्रा बिहीबार २१४९.३९ बिन्दुमा पुगेर टुंगियो। अर्थात् सुरुको दिनका तुलनामा केवल ५ अंक बढेर साताको अन्तिम दिन बजार बन्द भयो।

नयाँ सरकार बनेसँगै करिब १७ महिनादेखि बियरिस बाटो तय गरेको नेप्सेले केही दिन यता बुलिसतर्फको बाटो समाएको मात्र होइन नेप्से परिसूचकमा एक प्रकारको उछाल नै आएको थियो। नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उत्साहजनक सुधार भएको देखियो।

आइतबार सूचक २०.६८ अंकले बढेर २१६४.६२ बिन्दुमा पुगेर रोकियो भने ५ अर्ब ४० करोड भन्दा माथिको कारोबार भयो। सोमबार पनि सेयर बजारको उछाल कायमै रह्यो।

उक्त दिन नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७७ बिन्दुमा उक्लिएको थियो। तर कारोबार रकम भने थोरै घटेको थियो। सोमवार करीब ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो।

मंगलबार भने सेयर बजारले करेक्सन गर्न खोजेको देखिन्थ्यो। सो दिन नेप्से २१.३४ बिन्दुले ओरालो लागेर २१९०.४३ मा पुगेको थियो। यद्यपि कारोबार रकम भने विगत ८ महिनाकै उच्च थियो। सो दिन करीब ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार पृथ्वी जयन्तीका उपलक्ष्यमा सरकारद्वारा सार्वजनिक बिदाको घोषणा गरेकाले सेयर बजार बन्द रह्यो।

साताको अन्तिम कारोबारी दिन अर्थात् बिहीबार पनि सेयर बजारमा गिरावट देखियो। यो दिन मंगलबारका तुलनामा नेप्से अरु धेरै घट्न पुग्यो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो। बिहीबार नेप्से परिसूचक ४१.०४ ले घटेर २१४९.३९ मा पुगेर रोकिएको थियो। सुरुमा अप्रत्यासित रुपले बढेको बजार मध्यान्ह पछि घट्न थालेको देखिन्थ्यो।

यो दिन कारोबार रकममा पनि गिरावट आयो। यस दिन करिब ५ अर्ब ३८ करोड बराबरको कारोबार भएको थियो।

बुलिसतर्फको यात्रा सुरु गरिसकेको बजार किन यसरी तल ओर्लन खोज्दैछ भन्ने विषयमा अहिले बजारमा अनेक बहस चलिरहेका छन्। अर्थविद्हरू यसलाई एक किसिमको करेक्सन मान्नुपर्ने बताउँछन्।

यसअघि बजार छोटो समयमै बेस्सरी बढेकाले बजारले त्यो थेग्न सकेन र करेक्सन आयो। अन्यथा बजार घट्नुपर्ने कुनै आर्थिक कारण छैन। 

राजनैतिक अस्थिरतालाई कारक भन्न मिल्ने अवस्था पनि यो होइन। भर्खरै नयाँ सरकारको गठन पछि नै नेप्सेले उकालो यात्रा तय गरेकाे हाे।

नेप्सेको अबको यात्रा कता?

बैंकको ब्याजदर घटेसँगै बजार बढ्ने गर्छ। माघ महिनाका लागि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेका छन्। यस्तै अन्तर बैंक ब्याजदर पनि तल आएको छ।

त्यसैगरी, तरलता सहज हुँदै गएकाले सीडी रेसियो पनि तल ओर्लिएको अवस्था छ। प्रधानमन्त्री समेतले आँफू अर्थतन्त्रको सबलीकरणमा लागिपर्ने बताएका छन्।

यी यावत् सकारात्मक पक्षहरूका बाबजुद पनि बजार तल ओर्लनुलाई स्वाभाविक मान्न मिल्दैन। यो ओरालाे यात्रालाई क्षणिक र सामान्य करेक्सनका रूपमा लिनु उचित हुन्छ।

२९ पुस, २०७९, १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।