एनटीआर र रामचरणलाई पछि पार्दै लोकप्रिय तेलुगु अभिनेता बने प्रभास

एनटीआर र रामचरणलाई पछि पार्दै लोकप्रिय तेलुगु अभिनेता बने प्रभास

एजेन्सी: तेलुगु चलचित्र उद्योगका चर्चित कलाकारद्वय जुनियर एनटीआर र रामचरण लोकप्रिय कलाकारमा दोस्रो र तेस्रो स्थानमा छन्। ओरम्याक्स मिडियाले डिसेम्बर महिनाभरको तथ्याङ्कको आधारमा लोकप्रिय कलाकारको सूची सार्वजनिक गरेको हो।

यस्तै अल्लु अर्जुन चौथो स्थानमा छन् भने महेश बाबु पाँचौँ र पवन कल्याण छैटौँ स्थानमा छन्। तेलुगु अभिनेता नानी सातौँ र विजय देवरकोण्ठा आठौँ स्थानमा छन्। यस्तै वर्षौँअघिदेखि तेलुगु चलचित्र उद्योगमा राज गर्दै आएका चिरञ्जीवी र रवि तेजा अहिले पनि टप-१० भित्र अटाएका छन्। चिरञ्जीवी नवौँ र रवि तेजा १०औँ स्थानमा छन्।

पहिलो स्थानमा भने बाहुबली स्टार प्रभास छन्। बाहुबली सिरिजयता उनले अभिनय गरेका 'साहो' र 'राधेश्याम' दुवै फ्लप भए पनि प्रभासको क्रेज अझै उस्तै छ। प्रभास अभिनित बिग बजेट फिल्म 'आदिपुरुष' यसै वर्ष रिलिज हुँदैछ। यस्तै बलिउड अभिनेत्री कृति सेननसँगको प्रेम सम्बन्धको अफवाहका कारण पनि यतिबेला प्रभास चर्चामा छन्।

२९ पुस, २०७९, १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।