ट्रमाले किन्न लागेको ३० करोडको एमआरआई खरिद प्रकरणमा अख्तियारको चासो, स्वास्थ्यले सोध्यो प्रमुख मरासिनीसँग जवाफ

ट्रमाले किन्न लागेको ३० करोडको एमआरआई खरिद प्रकरणमा अख्तियारको चासो, स्वास्थ्यले सोध्यो प्रमुख मरासिनीसँग जवाफ

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा करिब ३० करोडको एमआरआई मेसिन खरिदका लागि गरेको टेन्डरको विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ट्रमा सेन्टरका प्रमुखसँग जवाफ मागेको छ।

एउटा कम्पनीलाई मात्र मिल्ने गरी मिलेमतोमा प्राविधिक स्पेशिफिकेशन तयार गरेर करिब २५ करोडको एमआरआई मेशिन ३० करोडमा किन्ने प्रक्रिया अगाडि बढाएकोबारे मन्त्रालयले ट्रमा सेन्टरका प्रमुख डा रुद्र मरासिनीसँग खरिद प्रक्रियाबारे जवाफ मागेको हो।

ट्रमा सेन्टरले टेन्डर गरेको एमआरआई खरिदका विषयमा के भएको हो भन्ने जानकारी माग गर्दै स्वास्थ्य मन्त्रालयलाई अख्तियारले पत्र लेखेपछि मन्त्रालयले यस विषयमा ट्रमा सेन्टरसँग जवाफ मागेको मन्त्रालय स्रोतले जानकारी दियो।

‘अख्तियारबाट पत्र आएको थियो,’स्रोतले भन्यो,‘यथार्थ जानकारी माग गरेका छौँ।’ ट्रमा सेन्टरले मन्त्रालयलाई जवाफ पठाएपछि अख्तियारलाई सो जवाफ पठाइने मन्त्रालय स्रोतले जानकारी दियो।

एमआरआईको खरिद प्रक्रियाको विषयमा यथार्थ जानकारी पठाउनु भन्दै मन्त्रालयबाट ट्रमा सेन्टरमा पत्र पुगेको ट्रमा सेन्टर स्रोतले जानकारी दियो। मन्त्रालयले ५-७ दिन अघि ट्रमा सेन्टरलाई एमआरआई खरिद प्रक्रियाको विषयमा जानकारी माग्दै पत्र पठाएको ट्रमा सेन्टर स्रोतले जानकारी दियो।

‘मन्त्रालयबाट (एमआरआइको) उजुरीको विषयमा खुलाई पठाइदिनु भनेर (जवाफ) मागेको हो,’ट्रमा सेन्टर स्रोतले भन्यो,‘मन्त्रालयलाई जवाफ पठाउन बाँकी छ। जवाफ फर्काउने तयारी हुँदैछ।’

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीको मिलेमतोमा निश्चित कम्पनीले मात्र टेन्डर हाल्न सक्ने गरी करिब ३० करोडको एमआरआई खरिदका लागि टेन्डर गरेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरिरहेको छ।

पुस चार मा उकेराको समाचारलाई आधार बनाउँदै अख्तियार, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो।

अन्तिम रणनीति युनाइटेड इमेजिङको एमआरआई खरिद गर्ने

ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्रि टेस्ला एमआरआई मेसिन’ खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरेको थियो। बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति पुस १४ (२९ डिसेम्बर) सम्म थियो। तर, निश्चित कम्पनीको एमआरआईसँग मात्रै स्पेसिफिकेशन मिल्ने भएपछि युनाइटेड इमेजिङ बाहेकका सप्लायर्स कम्पनीहरूले भने बोलपत्र प्रस्ताव नै नगरेको ट्रमा सेन्टर स्रोतले जानकारी दिएको छ।

युनाइटेड इमेजिङका सप्लायर्स कम्पनी लुम्बिनी हेल्थ केयर र आरबी मर्चेन्टले मात्रै एमआरआई खरिदका लागि बोलपत्र प्रस्ताव पेस गरेको स्रोतले जानकारी दिएको छ।

‘अस्ति टेक्निकल बिड ओपन गरेका थिए,’स्रोतले  भन्यो,‘आरबी मर्चेन्ट र लुम्बिनी हेल्थ केयरले टेन्डर हालेका छन्।’ यी दुवै युनाइटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन सप्लाई गर्ने नेपालस्थित एजेन्ट हुन्। युनाइटेड इमेजिङको नेपालस्थित सप्लायर्स कम्पनी लुम्बिनी हेल्थ केयर हो। युनाईटेड इमेजिङ चिनिया उत्पादक कम्पनीको हो। 

युनाइटेड इमेजिङकै एमआरआई खरिद गर्ने गरी स्पेशिफिकेशन नै लक्ड गरेपछि फिलिप्स, सिमेन्स र जिइजस्ता कम्पनीले भने बोलपत्र नै प्रस्ताव नगरेको स्रोतले बताएको छ। बरु यी कम्पनीका सप्लायर्सहरुले ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआई निश्चित कम्पनीको एमआरआई खरिदका लागि लक्ड स्पेशिफिकेशन बनाएकाले खरिद प्रक्रिया रोक्न माग गर्दै स्वास्थ्य मन्त्रालयमा उजुरी परेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

त्यसो त युनाइटेड इमेजिङ बाहेकका अन्य सिमेन्स, फिलिप्स, जिइ जस्ता कम्पनीका सप्लायर्सहरुले प्रि–बिड मिटिङ समेत बहिस्कार गरिसकेका छन्। प्रि–बिड मिटिङ समेत बहिस्कार भएको अवस्थामा डा. मरासिनीले जबरजस्त खरिद प्रक्रिया अगाडि बढाएको देखिएको छ। टेन्डर आह्वानको सूचना अनुसार ‘प्रि–बिड मिटिङ’ हुने मिति मङ्सिर १२ गते सोमबार (२८ नोभेम्बर) १२ बजेलाई तोकिएको थियो।

लुम्बिनी हेल्थ केयरलाई टेन्डर पार्ने योजना भए पनि एउटा मात्रै सप्लायर्स कम्पनीले एमआरआई खरिदका लागि बोलपत्र पेस गर्दा कानुनी रूपमा अप्ठेरो पर्ने डरले यी दुई सप्लायर्सले मिलेर बोलपत्र पेस गरेको स्रोतले जानकारी दियो।

यी दुई सप्लायर्स कम्पनीले प्रस्ताव पेस गरेपछि एमआरआई खरिदका लागि प्राविधिक मूल्याङ्कनको चरणमा रहेको छ। तर, अस्पतालमा भने प्राविधिक मूल्याङ्कन समिति नबनाइएको स्रोतको भनाई छ। ‘मुचुल्का उठेको छ। प्राविधिक जाँच बाँकी छ। प्राविधिक मूल्याङ्कन टिम गठन भएको छैन’,केही दिन अघि अस्पतालका एक कर्मचारीले भनेका थिए,‘दुइटा हो परेको त।’

पहिलो चरणमा प्राविधिक रूपमा योग्य भएको बोलपत्र पेस गर्ने प्रस्तावक (कम्पनी) को मेसिन मात्रै खरिदका लागि छनोटमा पर्छ। तर, प्राविधिक रूपमा मात्रै छनोटमा परेर हुँदैन। टेन्डर स्वीकृतिमा पर्नका लागि आर्थिक छनोटमा समेत योग्य हुनुपर्छ।

आर्थिक रूपमा छनोट गर्दा टेन्डरमा उल्लेख भए अनुसारको गुणस्तर तथा मापदण्डको मेसिन बोलपत्र प्रस्तावक कम्पनीमध्ये कम मूल्यमा खरिद गर्ने गरी आर्थिक प्रस्ताव पेस गरेको छ की छैन, मेसिन खरिदका लागि छुट्टाएको बजेटको सीमा भित्र मेसिन खरिद गरिदिनेगरी बोलपत्र प्रस्ताव गरेको छ की छैन भन्ने लगायतको मापदण्ड हेरिन्छ।

सामान्यतया मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने कम्पनीमध्येबाट प्राविधिक र आर्थिक दुवै रूपमा छनोट भएका कम मूल्यमा गुणस्तरीय मेसिन खरिद गरिदिने कम्पनी (सप्लायर्स) लाई मेसिन खरिदका लागि खरिद प्रक्रिया तथा मापदण्ड अनुसार टेन्डर स्वीकृति दिनुपर्ने हुन्छ।

त्यसपछि टेन्डर स्वीकृति पाउने कम्पनीले निश्चित प्रक्रिया पूरा गरी टेन्डर गर्ने संस्थालाई मेसिन ल्याइदिनुपर्ने हुन्छ। तर, ट्रमा सेन्टरले खरिदका लागि टेन्डर गरेको एमआरआईको स्पेशीफिकेशन नै प्राविधिक रूपमा एउटा निश्चित कम्पनी मात्रै छनोटमा पर्ने गरी बनाएको देखिएको छ।

त्यसैले डा. मरासिनीले जुन कम्पनीको मेसिन खरिद गर्न चाहेको हो प्राविधिक मूल्याङ्कनको चरणमा त्यही कम्पनीको स्पेशिफिकेशन छनोट गर्ने प्रस्ट रणनीति देखिएको छ। यदि स्वास्थ्य मन्त्रालय लगायतले खरिद प्रक्रिया नरोके युनाइटेड इमेजिङ कम्पनीका दुई सप्लायर्स आरबी मर्चेन्ट र लुम्बिनी हेल्थ केयरले मात्रै बोलपत्र पेस गरेकाले डा. मरासिनीले युनाइटेड इमेजिङ कम्पनीकै मेसिन खरिद गर्ने करिब निश्चित देखिन्छ।

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

२५ पुस, २०७९, २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।