नेयमारले मेस्सीलाई भने, 'खोइ, कहाँ छन् विश्वविजेता ?'

नेयमारले मेस्सीलाई भने, 'खोइ, कहाँ छन् विश्वविजेता ?'

एजेन्सी: अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिलियन स्टार नेयमार जुनियरबीचको सम्बन्ध मैदानमा होस् या बाहिर निकै प्रगाढ छ। यी दुईले सँगै बार्सिलोनामा खेलेका थिए भने अहिले पनि पीएसजीका 'टिममेट' हुन्।

विश्वकपको उपाधि उचालेर अर्जेन्टिनामा लामो बिदा मनाएर बुधबार मेस्सी पीएसजी फर्किए। उनको स्वागतमा पूरै टोलीले सम्मान व्यक्त गर्यो। किलियन एम्बाप्पे र अस्राफ हकिमी भने अमेरिकामा थिए।

पीएसजीले मेस्सीलाई सम्मान गरेको बेलाको एक भिडियो पनि अहिले भाइरल भइरहेको छ। एम्बाप्पेका भाइ इथन एम्बाप्पेले मेस्सीप्रति क्रुद्ध नजरले हेरेको भन्दै सामाजिक सञ्जाल तातेको छ।

सोही भिडियोमा नेयमारले निकै खुशी हुँदै मेस्सीको स्वागतमा उनलाई प्रेमले लात्तीले हिर्काएको भिडियो पनि सामाजिक सञ्जालमा चर्चाको विषय छ। उक्त भिडियोमा नेयमार र मेस्सीबीचको प्रगाढ सम्बन्ध देखिएको चर्चा भइरहेको छ।

यसअघि मेस्सी पीएसजी आएको पहिलो दिन 'रिल्याक्सेसन रूम'मा बसेको बेला नेयमार आउँछन्। उनीहरूबीच अङ्कमाल हुन्छ।

मेस्सीलाई रिल्याक्सेसन रूममा देख्नुअघि कोठामा छिर्दै गर्दा नेयमारले भन्छन्, 'खोइ, कहाँ छन् विश्वविजेता?'

नेयमारले यसरी मेस्सीप्रति देखाएको प्रेम र सम्मानलाई लिएर यतिबेला सामाजिक सञ्जालमा तारिफ र चर्चा भइरहेको छ। अर्कोतर्फ मेस्सीको स्वागतमा उपस्थित नभएको भन्दै एम्बाप्पेको आलोचना भइरहेको छ।

२४ पुस, २०७९, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।