चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन

चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन

एजेन्सी: जर्मनीले शनिबारबाट चीनमा अत्यावश्यकबाहेकका यात्रालाई निरुत्साहित गरेको छ। कोरोना सङ्क्रमणलाई कारण देखाउँदै जर्मनीले यस्तो कदम चालेको हो।

“हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौँ। यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो”, जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ।

कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन्।युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाव दिएका छन्।

जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली सङ्घका अन्य धेरै राष्ट्रले एसियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन्। गैर–युरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन्।

चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा सङ्क्रमणको पहिलो लहर चरम विन्दुमा पुगेको बताएका छन्। जाडो याम र चिनियाँ नयाँ वर्षको सुरुमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन्।

२३ पुस, २०७९, २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।