अँध्यारो काठमाडौं -१ : महानगरसँग सम्झौता गरेको कम्पनी भन्छ- ‘झलल बलिरा छ त!’

अँध्यारो काठमाडौं -१ : महानगरसँग सम्झौता गरेको कम्पनी भन्छ- ‘झलल बलिरा छ त!’
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : पुस महिनाको चिसो। अनि पाँच बजे नै अँध्यारो हुने साँझ। घडीमा पाँच बजेपछि आफ्नो कार्यालयबाट निस्कने यात्री। जो सवारीको प्रयोग गर्छन् उनीहरूले केहि हदसम्म याद नगरेको भए पनि पैदल यात्री  र दुईपांग्रे सवारी चढ्नेले भने केहि महिनादेखि भोग्दै आएको समस्या हो, ‘ महानगरको अन्धकार सडक’। सडकमा कुदिरहेको गाडी र ठूल्ठूला चोकमा राखिएको डिजिटल विज्ञापनको उज्यालो बाहेक अहिले काठमाडौंको अधिकांश सडक बत्ती बल्दैनन्।

त्रिपुरेश्वर, सुन्धारा, जमल, लैनचौर, सोह्रखुट्टे, दरबारमार्ग हुँदै नागपोखरी जाने बाटो, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट हुँदै तिनकुने जाने बाटो, पुतलीसडक, अनामनगर, थापागाउँ, नयाँबानेश्वर, सिंहदरबार, बागबजार र पद्मोदयमोड जताततै अँध्यारो छ। यसबाहेकका विभिन्न चोकको भित्री सडकमा पनि बत्ती बल्दैनन्। यी सब सडकमा बत्ती नभएका हुन् त? पक्कै हैन। सब सडकमा दुवैतर्फ बकाइदा बत्ती छन्। तर, बल्दैनन्।

महिनौं भयो काठमाडौं अन्धकार भएको। तर काठमाडौं महानगरपालिका नेतृत्वलाई मतलव छैन।काठमाडौं अँध्यारो हुनुमा महानगरपालिका र नेपाल विद्युत प्राधिकरण उत्तिकै जिम्मेवार छन्। महानगरको  ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत लगानी गर्ने सहमति भए पनि दुवै निकायको कार्य देखिँदैन।

महानगरको १० वर्षे सम्झौता
सार्वजनिक निजी साझेदारीमा महानगरले ‘बिके ट्रेडर्स एण्ड सप्लायर्स’ कम्पनीले ०७३ असोज ४ गते दश वर्षको लागि सम्झौता गरेको छ। सम्झौता अनुसार सोलार बत्ती बिकेले राख्ने र त्यसवापत पोलमा बिज्ञापन राख्न पाउने। बिज्ञापन छ। पोल नि छ। तर बल्ने बत्ति छैन। 

सम्झौतामा  भनिएको छ–सडक सौर्य बत्ती सम्बन्धी प्यानल, पोल ब्याट्री लगायत सबै उपकरण र विज्ञापन बोर्ड समेतको मर्मत सम्भार तथा रंगरोगन कम्पनीले नियमित रूपमा गर्नुपर्ने, सोलार प्यानलहरू प्रत्येक ११ महिनामा सरसफाइ गर्नुपर्ने, सो वापत महानगरले खर्च नबेहोर्ने, जडान भएको पोल प्यानल, ब्याट्रीसमेत गरी सञ्चालन हुन नसक्ने भएमा कम्पनीले सो को प्रतिस्थापन गरी सञ्चालन गर्नुपर्ने।

उक्त कामको अनुगमन, मूल्यांकन तथा सहजीकरणको लागि भन्दै महानगरले एक संयोजकसहित पाँच सदस्यीय समिति पनि बनाएको छ। समितिमा प्रशासन विभागका प्रमुख संयोजक र राजश्व महाशाखा प्रमुख, खरिद इकाई प्रमुख–सदस्य, कानून महाशाखा प्रमुख, सार्वजनिक निजी साझेदारी इकाईमा कार्यरत इन्जिनियरसँगै सार्वजनिक निजी साझेदारी इकाई प्रमुख वा अधिकृत कर्मचारी सदस्य छन्। तर, शहर अँध्यारो भएको महिनौं बितिसक्दा पनि समितिले कम्पनीलाई कुनै कारबाही गरेको देखिँदैन।

नबलेको बत्ती आफ्नो नभएको कम्पनीको तर्क
कम्पनीको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका रजनराज श्रीवास्तव भने बत्ती झलल बलेको दाबी गर्दै नबलेको बत्ती आफ्नो नभएको बताउँछन्।

‘तपाईंहरूकोमा बलेको छैन र? हाम्रो यता त झलल बलिरहेको हुन्छ त! सम्झौता गरेको पाँच वर्ष पनि भयो त्यै भएर मेन्टेनेन्स गर्नुपर्ने भएको हुनसक्छ,’ उनी भन्छन्, ‘जहाँ–जहाँ नबलेको छ त्यहाँ पनि हामी छिटोभन्दा छिटो बनाउँदै गइरहेका छौं। अरु नबलेको भनेको प्राधिकरणको हुनसक्छ, हाम्रोमा त्यस्तो केहि समस्या छैन।’

तर महानगरमा बिज्ञापन झुुन्डिएको पोल राती हेर्दा अध्यारै हुन्छ। यसले कम्पनीले ढाँटेको प्रष्टेै देखिन्छ।

महानगरले कम्पनीसँग एक हजार ८५ वटा पोलमा सोलार बत्ती राख्ने सम्झौता गरे पनि कम्पनीले भने जम्मा आठ सय वटा पोलमा मात्र बत्ती राखेको श्रीवास्तव बताउँछन्।

उनी थप्छन्, ‘महानगरभित्र भएका हाम्रा ८ सयवटा बत्ती सबै बलिरहेकै छ।’

सबै बत्ति बलिरहेको अवस्थामै छन् भने मर्मतसम्भार चाहिँ किन गर्नु परिरहेको छ? कति वटा मर्मतसम्भारको क्रममा छ? भन्ने उकेराको प्रश्नमा उनी भन्छन्, ‘अलि पुरानो हुन लागेको भएर मेन्टेनेन्स मात्र गरेको हो। अहिले ६-७ सय वटाको मर्मतसम्भार भइरहेको छ।’

उनी आठ सयमध्ये सात सयको मर्मत भइरहेको नि बताउँछन् अनी नबलेको बत्ति आफ्नो नभएको पनि दाबी गर्छन्।

यता छन् निजीका बत्ती 

महानगरले ‘सेक्टर ए’, ‘सेक्टर बि’, र ‘सेक्टर सी’ गरेर कलंकी–त्रिपुरेश्वर–थापाथली–माइतीघर, केशरमहल–ठमेल, क्षेत्रपाटी–सोह्रखुट्टे–बालाजु–नयाँ बसपार्क, दरबारमार्ग महेन्द्र सालिक, काठमाडौं प्लाजा, कृष्ण पाउरोटी–ज्ञानेश्वर, ज्ञानेश्वर चोक–मैतीदेवी–बत्तीसपुतली, मैतीदेवी–डिल्लीबजार–पुतलीसडक, पुरानो बानेश्वर–रत्नराज्य स्कुल–नयाँ बानेश्वर–शंखमुल, तीनकुने–कोटेश्वर–जडिबुटी–नरेफाँट, पुरानो बानेश्वर–भिमशेनगोला–शंखमुल चोकमा सडक बत्तीका लागि सम्झौता गरेको छ। श्रीवास्तवले ‘चारैतिर झलल छ’ भनेर भनिएको यिनै सडक अहिले अन्धकार नै छ।

यहाँ भएको पोलमा टांगिएको विज्ञापनबाट कम्पनिले पैसा कमाइरहेको छ। महानगरले पनि वार्षिक करोडौं रूपैयाँ आम्दानी गर्छ। सम्झौताअनुसार एउटा पोलमा विज्ञापन राखे बापत महानगरले आठ हजार सात सय रूपैयाँ लिने गर्छन्। तर, अहिले पनि धेरै नबल्ने बत्तीको पोलमा विज्ञापन भने झुन्डेको देख्न सकिन्छ।

‘महानगरले प्राधिकरणसँग समन्वय नै गरेन’
विद्युत् प्राधिकरणसँग महानगरले समन्वय गरेर राखेको बत्तीको कुनै रेकर्ड छैन। प्राधिकरणका अनुसार बत्तीको विषयमा अहिलेसम्म महानगरसँग कुनै सम्झौता भएको पनि छैन।

प्राधिकरणका एक कर्मचारी भन्छन्, ‘सोलार बत्ती हामीले राखेका छैनौं। बरु अब राख्ने भनिएको बत्ती चाहिँ महानगर र हामी(प्राधिकरण) मिलेर राख्ने कुरा भएको छ।’

स्रोतका अनुसार अहिले काठमाडौंमा एक हजारभन्दा बढि पोलमा बत्ती छ। तर, प्राधिकरण भने पुरानो र अहिले भइरहेको बत्तीको बारेमा कुनै सम्बन्ध नभएको बताउँछ।

यसरी हेर्दा अहिले काठमाडौंमा कति सडक बत्ती छन् र कति बलिरहेको-बिग्रिरहेको अवस्थामा छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन।

२३ पुस, २०७९, ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।