कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

काठमाडौंः तार्केश्वर नगरपालिकामा केही वर्षअघि चर्चाको शिखरमा रहेको ‘मह एग्रिकल्चर’ अहिले सुनसान छ। यहाँ न राम्रोसँग खेती गरिएको छ, न त जग्गाको उचित सदुपयोग नै भएको छ। फार्मभित्र छिर्दा कहीं मर्मतका कामहरू भइरहेका देखिन्छन् भने कहीं झाडी नै झाडीले जग्गा भरिएको छ।

चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको यो ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चलेर बन्द भयो। १२ जना मिलेर ५५ लाख रुपैयाँ लगानी गरेको फार्मले उक्त समयमा भने धेरै चर्चा पनि बटुलेको थियो।

नेपालबाट मात्र नभएर सार्क मुलुकसँगै, बेलायत, जापान, कोरिया, थाइल्याण्ड, अष्ट्रेलियाबाट पनि मानिसहरू यो फार्म हेर्न आउने गर्थे। त्यो बेला फार्ममा गरिएको थोपा सिंचाइको प्रयोगले निकै चर्चा बटुलेको थियो।

थोपा सिंचाइ भनेको पानीको अभाव हुने क्षेत्रमा पोलिथिन पाइप बिछ्याएर गरिने त्यस्तो प्रविधि हो जहाँ पाइपमा निश्चित अन्तरमा स-साना प्वाल पारिएका हुन्छन् र यसबाट थोपा-थोपा गरेर पानी चुहिन्छ र सोझै बिरुवाको जरामा पुग्छ।

इजरायलबाट फर्किएका युवाको संलग्नता र सीपमा संचालन गरिएको यस फार्मको थोपा विधिद्वारा सिंचित गोलभेडा खेतीले एक समय तहल्का नै मच्चाएको थियो। यही फार्मलाई हेरेर त्यस ठाउँ वरपर पनि तराकारी खेतीका लागि थुप्रै टनेलहरू बन्न थालेका थिए।

इजरायली प्रविधि विस्तार र व्यावसायिक कृषिका लागि नमूना फार्मका रुपमा स्थापित गर्ने भन्दै मह जोडीले सुरुवात गरेको उक्त फार्म बेला-बेला विवादमा पनि पर्दै आएको थियो। कारण थियो, सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने अनुदान सोही फार्मले मात्र लैजाने गरेको प्रशस्तै गुनासो।

मह एग्रिकल्चर स्थापनाताकाका सदस्यहरू मध्येका एक खोजराज कटुवाल भन्छन्, ‘जे-जस्तो अवस्था र परिस्थितिमा मह एग्रिकल्चर स्थापना भयो, जस्तो तरिकाले प्रचारप्रसार पायो, त्यसले निरन्तरता पाउन नसक्नुले नेपाली कृषि क्षेत्रमा एउटा गलत नजिर स्थापित गरेको मान्नुपर्छ।’

मह एग्रिकल्चरकै सिको गर्दै केही ठूला व्यापारीले पनि सरकारी अनुदान वा सहुलियत ऋण प्राप्त गर्नका लागि कृषिमा लगानी गरे। तर, त्यसले पनि सफलता हात पार्न सकेको देखिंदैन।

कांग्रेस सांसद गगन थापासहित ४ जना मिलेर कुरिलो खेतीमा हात हाले। उनले १४ रोपनी जग्गामा कुरिलो खेती सुरु गरेका थिए। उनले त्यो खेती सुरु गर्दा कुरिलोको माग धेरै थियो। कुरिलो एक किलोकै ८०० रुपैयाँ पर्थ्यो। त्यसले पनि चर्चा त निकै पायो तर खेतीले गति लिन भने सकेन।

‘सबै काम थालियो तर बजार मुल्याकंन गर्न चुक्यौं। यही मात्र व्यवसाय गर्ने हो र यस खेतीमा राम्रो अध्ययन गर्ने हो भने सफलता हासिल गर्न सकिन्छ,’ गगनकै फार्ममा लगानी गर्ने मध्येका एक विनोद तामाङ थप भन्छन्, ‘सुरुमा कुरिलो केजीको ८०० रूपैयाँसम्म विक्री हुन्थ्यो। तर पछि १०० मा बेच्नुपर्ने भयो। सबै तिरबाट कुरिलो बजारमा आउन थाल्यो। जसले गर्दा लगानी पनि उठाउन नसकेर फार्म बन्द भयो।’

मह जोडीलाई नै उदाहरणको रूपमा हेरेर काम गर्ने अरू किसानहरू पनि अहिले दिक्दारीको अवस्थामा छन्। 

मह फार्म नजिकै आफ्नै फार्म संचालन गरिरहेका महेश तामाङ भन्छन्, ‘त्यो बेला उहाँहरूलाई देखेर जग्गा भाडामा लिइयो। अहिले भाडा तिर्न पनि हम्मे-हम्मे परिरहेको छ। आधुनिक मेसिन भएका पैसावालाको त यो हालत छ। झन् हामी यही काम गरेर गुजारा चलाउनेलाई न सरकारको सहयोग छ, न आफूलाई नै यस सम्बन्धी आवश्यक केही ज्ञान छ।’

विदेश जानु बाहेक छैन विकल्प

मह एग्रिकल्चरको केही भाग अहिले पुकार तण्डुकारले संचालन गर्न खोजिरहेका छन्। उनी भन्छन्, ‘मैले उहाँहरूकै बिंडो थाम्न लागेको हो। अहिले पनि यो फार्मको आवश्यकता र माग उत्तिकै छ। त्यसैले म यसलाई बिउँताउने प्रयासमा लागिरहेको छु।’

उनको आग्रहमा काम गर्दै गरेका एक कामदार बुद्ध रत्न तामाङ एक- एक पटक साउदी र मलेसिया गएर फर्किएका हुन्। आफ्नो घर-परिवारबाट टाढा बस्नु पर्दाको पीडा त उनलाई एकातिर छँदै नै थियो। उनको जीवनमा अर्को झन् ठूलो पीडा पनि थपियो।

साउदीमा काम गर्दा उनलाई काम गरिरहेको कम्पनीले तलब दिएन। उनी त्यहाँबाट भाग्न खोजे। जसले गर्दा उनलाई जेलमा हालियो। 

उनी साउदीको जेलमा १५ महिनासम्म बसे। न त्यतिबेला उनको घरमा कसैसँग कुरा हुन्थ्यो न त दूतावासले नै उनलाई केही सहयोग गर्थ्यो।

दूतावासलाई सहयोग गर्नको लागि मेसेज पठाउँदा दूतावासले १७ महिनापछि रिप्लाई गरेको बताउँदै तामाङ भन्छन्, ‘जिन्दगीमा यति अचम्म हुन्छ भन्ने थाहा थिएन। म त्यतिबेला जेलबाट छुटिसकेको थिए। कोही पहुँचका आधारमा छिट्टै निस्किन पनि पाउँदा रहेछन्। तर मैले त्यस्तो केही पाइनँ। अझै थुप्रै साथीहरू त्यहाँ छन्। जसलाई बिना गल्ती जेल हालिएको छ।’

‘जेलमा बस्दा बोतलको सिरानी हाल्न पाइँदैन थ्यो। पूरा बाउला भएको लुगा लगाउँदा झुन्डेर मर्छ भनेर हाफ मात्र लगाउन दिन्थे। ट्वाइलेट र बस्ने ठाउँ पनि सँगै थियाे। त्यहाँबाट छुटेर आउँदा पनि अर्को जुनी फेरेर आए जस्तो लाग्छ। तर देशमा राम्रा अवसर नभएको देखेर विदेश जानु बाहेको विकल्प देख्दिनँ,’ उनले थपे।

तामाङले जेलबाट छुटेर नेपाल आएपछि बिहे गरे। अहिले उनका एक छोरा र एक छोरी छन्। उनलाई विदेश जान मन छैन। उनले ५ रोपनी जग्गा भाडामा लिएर आफैंले तरकारी खेती पनि गरेका छन्।

त्यो बाहेकको समयमा उनी अरूको तरकारी खेतीमा पनि काम गर्छन्। टनेल हाल्नको लागि ज्यालामा काम गर्न जानु पनि उनको अर्को दैनिकी हो। तर उनलाई यतिले मात्र घर खर्च चलाउन पुगेको छैन।

उनलाई आफू वास्तविक किसान भएर पनि सरकारले नचिनेकोमा दुःख लाग्छ। यस्तै अवस्थामा रहेका उनका साथीहरू थुप्रै छन्। उनी मात्र होइन, उनकै दाजुभाइ पनि विदेशमै हन्डर खाइरहेका छन्। 

यस्तोमा न आफूले कृषिमा राम्रो आम्दानी गर्न सकियो न त सरकारले नै केही गर्न सक्यो भनेर उनी चिन्तित हुँदै बताउँछन्, ‘छोराछोरी ठूला हुँदै छन्। करारमा भाडामा लिएको जग्गा पनि अब फिर्ता गर्नुपर्छ। तीन लाखको व्यवस्था गर्दै छु। अब एक चोटी विदेश नै जान्छु। त्यसपछि फर्केर व्यवस्थित तरिकाले तरकारी खेती गर्छु।’

कृषिमा खर्बौंको बजेट, बेखबर किसान

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। कृषि, मत्स्यपालन, वन र सिंचाइ कार्यक्रमका लागि उक्त रकम छुट्याइरहँदा किसानहरू भने सरकारले यत्रो रकम कहाँ खर्च गर्छ भन्ने समेत थाहा पाउँदैनन्।

बैंकबाट सहुलियत ब्याजमा कृषि ऋण कसरी लिने र के छ यसको व्यवस्था भन्ने बारे अनभिज्ञ रहेका किसान भगत मानन्धर भन्छन्, ‘आफ्नो लागि दुःख आफैंले गर्नुपर्दो रहेछ। कृषिप्रधान देश भनिएको छ। युवाहरू विदेश जान वाध्य छन्। न कति बजेट आयो थाहा हुन्छ न सरकारले कति अनुदान दियो नै। हामीलाई त कसरी अनुदान लिने भन्ने पनि थाहा छैन।’

दुई छोराछोरीलाई पढाउँदै आइरहेका मानन्धरले जवानीमा थुप्रै काम गरे। खाइ-नखाइ गरेर तारकेश्वरमा घर पनि बनाइसकेका छन् उनले। अब उनलाई बुढेसकालमा आफ्नै तरकारीबारीमा डुल्ने मन छ।

उनलाई अर्गानिक तरकारी खान र खुवाउन मन छ। तर कृषिमा गरेको लगानीको प्रतिफल बिचौलियाले खाएर सक्छन् भनेर चिन्तित छन् उनी। सरकारी माध्यमबाट पनि यस सन्दर्भमा केही काम नभएको देख्दा उनमा आएको जाँगर पनि हराउने गर्छ।

उनी थप्छन्, ‘उचित तालिमको व्यवस्था सँगसँगै बजारको व्यवस्थापन भइदिए र बिऊ मल समयमै पाए नेपालमै केही गरेर बस्ने थिएँ। लाखौं रकम खर्च गरेर विदेश जाने थिइनँ।’

२१ पुस, २०७९, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।