डिआइले आमाकै अगाडि चरित्रमाथि प्रश्न उठाउँदा स्कुल ड्रेसमै आत्महत्या, पिटे पनि शिक्षकलाई केही गर्न नमिल्ने प्रहरीको भनाई

डिआइले आमाकै अगाडि चरित्रमाथि प्रश्न उठाउँदा स्कुल ड्रेसमै आत्महत्या, पिटे पनि शिक्षकलाई केही गर्न नमिल्ने प्रहरीको भनाई

काठमाडौँ : सामुदायिक विद्यालयमाझ ’नमुना विद्यालय’ घोषित काठमाडौँको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा गएको मङ्सिर २१ गते अलि फरक दृश्य देखियो। उत्कृष्ट भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान दिएको सूचना टास्ने गेटमा परीक्षा स्थगित र कक्षा ११ मा पढ्ने छात्रा सदीक्षा चौधरीको असामयिक निधनले शोक बिदा दिइएको सूचनाहरू टाँसिएको थियो।

विद्यालय वरपर ’जस्टिस फर सदीक्षा’ लेखिएको थुप्रै पम्प्लेटहरु टाँसिएको थियो। अनि ठुलठुलो आवाजमा न्याय मागिरहेका विद्यार्थीहरू आक्रोशित हुँदै विद्यालय घेरेर तोडफोडमै उत्रिए। विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन पनि गरे।

विद्यार्थीको भिडमा अत्यधिक रोइरहेकी थिइन् शारदा विष्ट चौधरी। ती ११ कक्षामा अध्ययनरत विद्यार्थी सदीक्षाकी आमा थिइन्। प्रदर्शनको भिडबाट ’जस्टिस फर सदिक्षा’ सँगै ’डिआइलाई कारबाही गर’ भनेर आवाज समेत आइरहेको थियो।

घटनाको भोलिपल्टैदेखि अनुशासन प्रमुख (डिआइ) नवराज लोहनीलाई कारबाही स्वरूप निलम्बन गरिएको विद्यालयले सूचना निकाल्यो। २१ गते आफ्नो आमासँगै विद्यालय उपस्थित भएकी सदीक्षाले विद्यालयबाट फर्किएको केही समयपछि नै स्कुल ड्रेसमै झुन्डिएर आत्महत्या गरेकी थिइन्।

घटना अगाडि विद्यालयमा के भएको थियो?

१५ दिन सम्म अनुपस्थित भएकी सदीक्षा घटनाको केही दिन अघि मात्र विद्यालय गएकी थिइन्। लामो समयसम्म अनुपस्थित भएको भन्दै  डिआई लोहनीले उनलाई अफिसमा बोलाए अनि आफ्नो अभिभावक बोलाउन लगाए। 

’उनले एक जना दाइ लिएर आए अनि कुरा गर्दागर्दै त्यो दाइ आफ्नो होइन भन्ने स्पष्ट भयो। सरले, फेक अभिभावक बनेर आउने अब प्रहरीकोमा लैजान्छु भनेपछि उनी त्यहाँबाट गए’ विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षक केदारप्रसाद दाहाल भन्छन्,’ त्यति दिनसम्म विद्यालय न आउने अनि फेक अभिभावक बोलाउने भनेर सरले कराए। त्यति नै खेर अर्को एक जना महिलालाई आफ्नो आमा भन्दै फोनबाट कुरा गर्न लगाए। तर, उनी पनि फोनमा लडबडाउँदै गएपछि फोन काटियो।’

पछि आफ्नै आमा नल्याई हुँदैन भन्दै उनको स्कुल ब्याग अफिसमै राखियो। सदीक्षाले आमा लिएर विद्यालय पनि गइन्।

'आमा ल्याएको दिन भोलिपल्टदेखि हाम्रो जाँच भएकाले प्रश्न पत्र पुर्याउन म पनि दुई चोटि त्यहाँ कोठामा पसेको छु। आमा कुर्सीमा बस्नुभएको थियो। नानी रुँदै उभिएकी थिइन्’ सहायक प्रधानाध्यापक दाहालले भने, ’त्यसपछि त्यहाँ के-के भयो मलाई थाहा छैन। सरले एक चोटि डाक्टरलाई पनि देखाउनु नानीलाई अलि स्ट्रेस छ भन्ने कुराहरू भएको थियो।’

तीन रात घरमा नबसेको सदीक्षा आफैले बताएको उनको दाबी छ। तीन रात घरमा नबसेको, नक्कली अभिभावक ल्याएको, पूजा भन्ने साथीकोमा गएको दाबी गरेको विद्यालय प्रशासनको दाबी छ।

'अब त्यस्तो समयमा एउटा नानीलाई आमाको अगाडी श्लील-अश्लील केके शब्द बोल्न हुन्छ भनेर त अनुशासन इन्चार्जले भनिराख्नु पर्दैन,’ उनी थप्छन्, ’आमाले यहाँबाट लिएर जानुभयो। त्यसपछि आमाको जिम्मामा भयो। यहाँबाट गए पछि खाना खाने काम भयो रे। आमाले बाटोमा के भन्नुभयो कसो भन्नुभयो। पछि के कसो भयो थाहा भएन’ उनले उकेरासँग भने।

घटनाको भोलिपल्ट बिहान सदीक्षाको आमालाई प्रधानाध्यापकसँगै भेट्न गएको पनि उनले बताए। आमाले छोरीलाई सम्झाउन पनि नपाएको बताएको उनले बताए। खाना ख्वाएको अनि लुगा फेर्छु भनेर माथि गएको केही समयमा आफू जाँदा झुन्डिएको देखिएको दाहालले बताए।

डिआई लोहनीले आफू बिदामा बसेको बताए। उकेरासँग कुरा गर्दै निलम्बनबारे उनले भने, ’हो र? खै निलम्बनमा परेको भए त मलाई स्कुलबाट पत्र आउनुपर्थ्यो नि, होइन र? त्यहाँ(विश्व निकेतन मावि) चार हजार भन्दा बढी विद्यार्थी छन्। मैले त अनुशासन विभागको प्रमुख भएको नाताले मेरो काम मात्र गरेको हुँ।’

'डिआइको टर्चरबाट विद्यार्थीले आत्महत्या गरेको’ भन्ने आरोप उनले अस्वीकार गरे। उनले आरोपबारे समेत जानकारी नभएको दाबी गरे।

'जब कसैले राम्रो काम गर्छन् तब खुट्टा तान्ने धेरै आउँछन्। त्यस्तै भएको हो स्कुलमा। स्कुल त मेरो मात्र होइन नि। म त यहाँ जोडिएको एउटा व्यक्ति मात्र हो,' उनले भने' संस्थालाई ढाल्न त्यति सहज हुन्छ र?’

आमाकै अगाडि छोरीको रिलेसन छ भन्दा चिन्ता

गएको बिहीबार सदीक्षाको घर (सानेपा) पुग्दा सपरिवार कौसीमा घाम ताप्दै एकनासले टपरी बुनिरहेका थिए। सदीक्षाकै पुजाको लागि तयारी गरेको उनकी दिदीले बताइन्। सुरुमा बोल्न नचाहेकी सदिक्षाको आमा शारदा केही समय घटनालाई सम्झिँदै भावुक भइन्।

अनि एक सुरले भन्न थालिन्, ’सरले मलाई; यसले हिजो चैँ कसलाई दाइ बनाएर ल्याई । यसको पर्सनल रिलेसन होला त्यै भएर ल्याई भने। अब आमाको अगाडी छोरीलाई त्यस्तो भन्ने हो त? मैले छोरीलाई सोध्दा उसले टिकटकमा चिनेको दाइ हो भनिन्।’

'अर्कैलाई अभिभावक बनाएर लग्यो भन्दैमा रिलेसन भएको नै भन्न मिल्दैन नि। उसले त्यस्तो के गरेको थियो र। अझ अहिले नहोला। तेरो त्योसँग फिजिकल रिलेसन पछि त्यसले गर्छ नै; भनेर समेत भन्यो’ उनले भनिन्।

१५ दिन छोरी स्कुल नगएको र अभिभावक बोला भनेर ब्याग राखिदिएको उनले सुनाइन्। १५ दिनको १५ हजार जरिवाना मागेपछि छोरीले 'त्यति पैसा किन दिनु, ममी तपाई जानु' भनेको उनले सुनाइन्।

१५ दिन बाहेक विद्यालय समयमै जाने र घर पनि समयमै आएको उनले बताइन्। छोरीले आत्महत्या गर्नु अगाडी असाधारण गतिविधि नगरेको उनको भनाई छ। 

'त्यो दिन पनि उसको दिदीले तँलाई जान मन नभए नजा न त ममीले गएर ब्याग ल्याउनु हुन्छ भनेको थियो। अनि उसले भोलिदेखि एक्जाम छ जान्छु भनेको थिए' शारदाले भनिन्।

अभिभावकको अगाडि विद्यार्थीलाई धम्की 

शारदाका अनुसार डिसिप्लेन इन्चार्जले बङ्क गरेकाले विद्यालयबाट निकाल्ने भनेर धेरै पटक धम्क्याएका थिए।  उनले पटक पटक 'तपाईँको छोरी रेस्टिकेट त रेस्टिकेट नै हो' भनेको उनले दाबी गरिन्।

होटेलमा को केटासँग बसेको त्यसको फोन नम्बर र केटा ल्याएर प्रमाणितै गर्नु पर्छ भनेको धम्क्याएको उनले बताइन्।

बिहान ७ बजे विद्यालय गएको आमा-छोरी ९ बजेसम्म त्यतै बसे। विद्यालयबाट फर्किने बेला उनले बाटोमा छोरीलाई केही भनिनन्।

'बाटोमा केही बोलेको भए हुने रहेछ। मर्ने बेलामा आफ्नो छोरीसँग बोल्न पनि पाइन। मेरो बच्चा पातलो छ। केही भन्यो भने बाटोमै रोइदेली भन्ने सोचे। अनि घर आए। बाबाले छोरी भात खा भने। रुँदै खाई अनि आफ्नो कोठामा गई। खाना खाएको १५ मिनेटपछि अब छोरीलाई सम्झाउँछु भनेर माथि जाँदा झुण्डीसकेछ’ उनले भनिन्।

सदीक्षाको बुवा झ्यालबाट भित्र जाँदा शरीर तातो नै भएकाले छोरी जिउँदै छ कि भन्ने पनि लागेछ। अनि उनलाई तुरुन्तै हस्पिटल लगियो। अस्पतालमा मृत्यु भइसक्यो भने।

रुटिन पछाडि 'सुसाइड नोट'

आत्महत्याको घटना भएको कारण कोठामा प्रहरी आएर मुचुल्का उठाए। मुचुल्का उठाउने बेला खाटमा पेन रहेकाले सदीक्षाले केही ’नोट’ लेखेको छ कि भनेर खोज्न थालियो। उनले परीक्षाको रुटिनको पछाडि ’सुसाइड नोट’ लेखेकी रहिछिन्।

नोटमा 'आइ एम राइट। मैले कसैलाई केही प्रुफ गर्नु छैन। लभ दिदी’ लेखिएको थियो।

'क्यारेक्टरमा प्रश्न उठाएकोमा उसलाई चित्त दुखेको रहेछ’ शारदाले भनिन्, ’केही दिन अघि मलाई फोन गरेर यस्तो घटना हाम्रोमा पनि घटेको थियो। तर, हाम्रोतिर अविभावकहरु नगएकाले त्यत्तिकै भयो भनेको थियो। मेरो छोरी सँग चार जनाले यस्तै केसमा सुसाइड गरेको रहेछ। मेरो छोरीको घटना बाहिर आएपछि उहाँहरूले फोन गर्नु भएको रहेछ। कलेजबाट घर जाने रे अनि झुन्डी हाल्ने रे। बुझ्न गयो भने त्यसको ब्वाइफ्रेण्ड थियो भन्ने रहेछन्' उनले भने।

डिआइलाई तत्काल पक्राउ गर्न नमिल्ने प्रहरीको भनाई

घटना लगत्तै हस्पिटलमा लगेको सदीक्षाको पोस्टमटम रिपोर्टमा झुन्डिएर मृत्यु भएको देखिएको थियो। परिवारले डिआइलाई कारबाही हुनुपर्ने भन्दै ६ दिनसम्म शव पनि बुझ्न मानेका थिएनन्। तर, दिन बित्तै जाँदा पनि डिआइ पक्राउ पर्ने छाँट नदेखेपछि शव बुझे।

घटना अनुसन्धानकै क्रममा भएको कारण अहिले चौधरी परिवार जावलाखेल प्रहरी चौकीमा गइरहन्छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेलले तत्काल डिआई लोहनीमाथि आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गर्न नमिल्ने बताए।

'डिआई त्यस विद्यालयको शिक्षक हुन्। शिक्षकले विद्यालयमा विद्यार्थीलाई कराउने र सामान्य पिटपाट गरे पनि हामीले केही गर्न मिल्दैन’ उनले भने 'आत्महत्याको केससँगै विद्यालय तनावग्रस्त भएपछि हामी अहिलेसम्म अनुसन्धानको प्रक्रियामै छौँ। पीडितको साथीहरूसँग हामीले कुरा गर्यौँ। अहिले हामी अनुसन्धानमै छौँ भन्ने बाहेक केही भन्न सक्दैनौ।’

२१ पुस, २०७९, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।