हक्की स्वभावकी रश्मि जसलाई लाग्छ नसक्ने काम केही छैन, भिड्ने आँट चैँ हुनुपर्छ

हक्की स्वभावकी रश्मि जसलाई लाग्छ नसक्ने काम केही छैन, भिड्ने आँट चैँ हुनुपर्छ

इसिमोडमा काम गरेको अनुभव सँगालेर रश्मि पन्त फुर्सदमै थिइन्। उनको नजर प्रभु बैङ्कको भ्याकेन्सी विज्ञापनमा पर्यो। उनलाई बैङ्किङ करिअरमा रुचि नै थिएन। खै के भयो उनलाई 'हेरौँ न त' भनेर फर्म भरिन्।

अन्तर्वार्ताको दिन आयो। त्यति तयारी गरेर गएकी पनि हैनन्। अन्तर्वार्ता लिन बसेका थिए तारा मानन्धर लगायतकाहरु।

अन्तर्वार्ताको औपचारिक प्रश्न सुरु भयो।

'बैङ्किङ क्षेत्रमा किन आउन चाहनुहुन्छ?'

उनले ढाँटिनन्।

'मलाई बैकिंग क्षेत्रमा त्यति रुचि छैन'

केही समय अन्तर्वार्ताकारहरू अलि चकित भए।

'मन नपर्ने पेसामा किन अन्तर्वार्ता दिन आएको त?' भन्ने पूरक प्रश्नमा उनको जवाफ थियो' क्यास काउन्टर बस्ने लगायतका कोर बैङ्किङको काममा मलाई रुचि छैन। तर व्यवस्थापन अनि पोलिसी मेकिङको अवसर आयो भने म काम गर्न इच्छुक छु।'

ताराले सोधे'पक्का' उनको उत्तर थियो'पक्का।'

बैङ्कको पाँच वर्षको रणनीतिक योजना बनाउने चुनौती आयो। उनले उनले'स्योर' भन्दै स्वीकार गरिन्। र, यसरी सन् २०१६ मा उनको बैकिगं करिअर सुरु भयो। आठ वर्ष भयो उनले नरुचाएको पेसामा यात्रा सुरु गरेको। अहिले बैङ्कको सिओओको जिम्मेवारीमा छिन्। खुसी छिन्।

OOO

महेन्द्रनगरमा पन्त परिवारमा जेठी छोरीको रूपमा उनको जन्म भए पनि उनको बाल्यकालदेखि किशोरकालसम्म महेन्द्रनगरमै अड्किए।

उनको बाबु न्याय क्षेत्रका कर्मचारी, अब सरुवा हुने त भइहाल्यो। जताजता बुबा अनि उतै उतै रश्मि। दार्चुलामा एलकेजीमा भर्ना भएर सुरु भएको उनको विद्यालय यात्रा महेन्द्रनगर, नेपालगन्ज, गुलरिया, सुर्खेत, घोराहीहुँदै घुमिरह्यो।

एकै विद्यालयमा २ वटा कक्षा पढेको कमै अनुभव रहेछ उनीसँग। त्यसको असर साथीसँगी बनाउने उनको स्वभावमा पर्यो। जुन स्कुलमा पुगे पनि सधैँ नयाँ वातावरण, नयाँ शिक्षक-शिक्षिका अनि नयाँ साथी सर्कल। त्यसले उनलाई अन्तर्मुखी स्वभावको बनाउँदै लग्यो।

उनी कक्षा ९ को आधा वर्ष पढेर महेन्द्रनगर पुगिन्। धन्न उनले एसएलसी भने त्यहीबाट दिन पाइन्। माओवादी सशस्त्र द्वन्द्व बढ्दै गएकाले उनले क्याम्पस जीवन महेन्द्रनगरबाटै सुरु गर्न पाइन्। महेन्द्रनगरको सिद्धनाथ साइन्स क्याम्पसबाट आईएससी उत्तीर्ण गरिन्।

उनको स्नातकको पढाइ भने काठमाडौँमा सुरु भयो। अनि स्थायी पनि यतै काठमाडौँमै भयो। भीएस निकेतनमा बिबिए र काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट स्नातकोत्तर उत्तीर्ण गरेपछि उनै यही काठमाडौँको खाल्डोमै रमाउन थालिन्। रमाइरहेकी छिन् अहिलेसम्म।

'काठमाडौँमा पढ्न थालेपछि भने अन्त कतै जानुपरेन। यतै उच्च तहको अध्ययन सक्काए। तर व्यवस्थापन मेरो रोजाइको विषय थिएन। कुन विषयमा भर्नाको सिट खाली छ भनेर बुझ्दा व्यवस्थापन भन्ने देखियो। बहिनीले त्यही पढ्ने भनेकाले म पनि भर्ना भएँ। तर मेरो मनमा भने कूटनीतिक ज्ञान लिने भोक थियो।'

जीवनमा सधैँ सोचेको मात्र हुँदैन। नसोचेको चुनौती पनि आइलाग्छन्। चुनौतीसँग डराउने भाग्छन्। हिम्मत हुनेले हेरौँ न त भनेर चुनौती स्वीकार गर्छन्। उनको स्वभाव दोस्रो रहेछ।

उनले बाल्यकालदेखि किशोरकालसम्म पढाइको दौरानमा १२ जिल्लाको अनुभव पाइसकेकी थिइन्। परिवारको पृष्ठभूमि न्याय। पहिला साइन्स पढिन्। अनि बहिनीले कमर्स पढ्ने भनेकै आधारमा त्यसैमा उच्चशिक्षा लिइन्। लक्ष्य मल्टीन्यासनल कम्पनीमा वा कूटनीतिक नियोगमा काम गर्ने बनाइन्। तर पुगिन् त्यति तयारी नगरेको बैङ्किङ क्षेत्रमा। र, सफल पनि भइन्।

हार स्वीकार गर्न तयार तर पहिल्यै सक्दिन कि भन्नै नचाहने। उनको यही स्वभावले अहिले उनी प्रभु बैङ्कको व्यवस्थापन समूहको उच्च पदमध्ये तेस्रोमा छिन्। १० वर्षीय यात्रामा तेस्रो तहमा पुगेर बैङ्कको सीओओको रूपमा कार्यरत उनमा बैङ्कको व्यवस्थापनको उच्च तह सिइओ हुन मन लाग्नु के नै नौलो भयो र।

'हेरौँ न त के हुने रहेछ भनेरै म प्रभु बैङ्कमा अन्तर्वार्ता दिन आएकी थिए। बैङ्कबारे खासै अनुभव थिएन। तर गर्न सक्छु भन्ने आत्मबल त थियो,' बैङ्किङ करिअरको पहिलो पाइला सम्झँदै उनले उकेरासँग भनिन्' पहिलो प्रयासमै सफल भए। खुसी लाग्छ सम्झँदा। अब यही क्षेत्रको व्यवस्थापनको उच्च तहमा पुगेर अवकाश लिने योजनामा छु।'

OOO

सिओओ पन्तले कुराकानीमा धेरै पटक आफूलाई अन्तरमुखी स्वभावको भनिरहिन्। तर डेढ घण्टाको बसाइमा त्यस्तो देखिएन। उनी मज्जाले खुलेर कुरा गरिरहेकी थिइन् हरेक विषयमा।

'यस्तो मज्जाले गफ गर्ने व्यक्ति कसरी अन्तरमुखी स्वभावको मान्ने?' प्रश्न स्वाभाविक थियो।

कुर्सीमा एकै पोजिनसमा बस्दा हल्का असजिलो भएछ क्यारे। पोजिसन मिलाउँदै उनले भनिन्' हो भन्या, म इन्ट्रोभर्ट स्वभावैको हो। बैङ्किङ करिअर सुरु भएपछि मात्रै म एक्सट्रोभर्ट भएको हो।'

तर कसरी पत्याउने!

'बाल्यकालमा छिटो-छिटो विद्यालय परिवर्तन हुँदा लामो समय बेस्टफ्रेन्ड भएनन्। जहाँ गयो नयाँ साथी। कलेज पनि त्यस्तै भयो। स्कुल अनि कलेजका २-३ जना बाहेक साथी नै भएनन्। त्यसले एकदम रिजर्भ स्वभाव बस्यो,' उनले भनिन्' बैकिंग क्षेत्रमा आएपछि त्यो स्वभाव त काम लागेन। पेसा र जिम्मेवारीले खुल्नै पर्ने बाध्यता भयो। मेरो नेचर यस्तै हो भनेर बस्ने हो भने मेरो कामको जिम्मेवारीलाई न्याय गर्न सकिँदैनथ्यो।त्यसले मलाई खुलाउँदै लग्यो।'

पेसागत रूपमा घुलमिल हुने स्वभाव बसे पनि जब निजी जीवन सुरु हुन्छ उनी एकान्ततिरै लाग्ने रहिछिन्। ग्यादरिङहरुमा त्यति जान मन लाग्दैन रे। पार्टीहरूको निम्ता आइरहन्छ। तर जानै पर्ने बाहेकमा उनी पुग्दिनन्।

'फुर्सद भयो भने घुम्न अनि बरु एक्लै किताब लिएर कफी खाएर बस्न बढो मज्जा लाग्छ,' हाँस्दै उनले भनिन्।

OOO

उनको बैङ्किङ यात्राबारे कुराकानीपछि विषय प्रवेश भयो नेपालको बैङ्किङ क्षेत्र र महिलाको उपस्थितिबारे। उनले यो विषयमा पनि उत्तिकै खुलेर कुरा गरिन् जसरी आफ्नो जीवनयात्राबारे खुलेकी थिइन्।

एकाध महिला सिइओ नभएका हैनन् नेपाली बैङ्किङ क्षेत्रमा। तर प्राय बैङ्कमा महिला कर्मचारी भन्यो कि कि रिसेप्सन अनि कि क्यास काउन्टरमा मात्रै बढी देखिन्छन्। यसमा सधैँ खसखस लागिरहन्थ्यो। उनी त सिओओको पोजिसनमा पुगेकी। उनलाई पनि त्यो दृश्य खट्किन्छ कि खट्किँदैन होला?

खट्किने रहेछ।

'बैङ्किङ क्षेत्रमा व्यवस्थापनतिर महिला कर्मचारीहरू नै नभएका हैनन्। तर अधिकांश महिलाहरू फ्रन्ट डेस्कमा बढी देखिने सत्य हो।'

यसको कारण बैङ्किङ क्षेत्रको नीति भन्दा पनि पारिवारिक अनि सामाजिक व्यवहारको प्रभाव हो भन्ने उनको निष्कर्ष रहेछ।

'अधिकांश फिमेलहरुलाई यता दौडिने अनि उता दौडिने जिम्मेवारी भन्दा फिक्स १०-५ को जिम्मेवारी ठिक लाग्ने रहेछ,' उनले आफ्नो अनुभव सुनाइन्।' अनि फ्रन्टलाइनको जिम्मेवारी पुरुषहरूको तुलनामा महिलाहरूले सहज रूपमा सम्हाल्ने भएकाले पनि पहिलो प्राथमिकतामा परेको हो।'

नेपालको बैङ्किङ क्षेत्रमा करिब ४४ हजार जनशक्ति कार्यरत रहेको अनुमान गरिन्छ। पन्तको दाबी अनुसार त्यसमा ५० प्रतिशत जनशक्ति महिला छन्। नयाँ पुस्ताको आकर्षण बढ्दो छ। अनि नयाँ पुस्ताको प्रवेशसँगै जिम्मेवारी पनि बदलिँदै गएको छ।

अहिले फ्रन्ट डेस्कमा मात्रै हैन बैङ्कको व्यवस्थापन सम्बन्धी अन्य शाखामा पनि महिला कर्मचारीहरूको सङ्ख्या बढ्दै गएको छ। ब्रान्च म्यानेजर हुन् या शाखा प्रमुख भएर नेतृत्व गर्नेहरूको सङ्ख्या बढिरहेको उनको अनुभव रहेछ।

'बैङ्किङ क्षेत्रको नीति हेर्ने हो भने लैङ्गिक रूपमा विभेद गर्ने खालको छैन। तर सामाजिक र पारिवारिक प्रभाव पुरुषमा भन्दा बढी महिलामा पर्ने गरेको छ। घरको वातावरण नै छोरी छौँ यो गर्न हुन्छ अनि यो गर्न हुन्न भन्ने भयो भने अनि अलि ढिला घर पुग्दा कहाँ गएको भनेर सोध्ने वातावरण छ भने त्यसले महिलालाई फिक्स काम मात्र गर्न पाए हुने भन्ने लाग्न सक्छ। जसले नेतृत्वमा पुग्न अवरोध हुनसक्छ।'

आन्तरिक रूपमा व्यवस्थापनमा अलि सोच बदल्नुपर्ने हो कि भन्ने उनलाई नलाग्ने हैन जिम्मेवारीको सवालमा। पहिल्यै यसले सक्छ, उसले चैँ सक्दिन कि भन्ने सोचले पनि कहिलेकाहीँ महिलालाई नेतृत्वको अवसर नपुग्न सक्ने उनको बुझाई छ।

पहिल्यै सक्दिन कि भन्ने निष्कर्ष निकाल्नुको साटो सबैलाई क्षमता परीक्षणको समान अवसर दिनुपर्छ, एक दिन नसक्ला, दुई दिन गाह्रो होला तर सिक्न सक्छ, अनि गर्न पनि सक्छ भन्ने सोच्ने हो भने नेपालको बैङ्किङ क्षेत्रमा सङ्ख्यामा मात्रै हैन व्यवस्थापन र नेतृत्व तहमा समेत ५०-५० प्रतिशत सङ्ख्या पुग्न धेरै समय नलाग्नेमा आत्मविश्वासी देखिइन् उनी।

'नेतृत्व गर्ने अवसर दिएपछि नै कसको कतिसम्म क्षमता छ भन्ने थाहा हुने हो। नेतृत्वको अवसरसँगै काम सिक्ने समय पनि दिनै पर्छ। नेतृत्वको मौका पाएका महिलाहरूले गरेका छन्। अब पनि गर्न सक्छन्। मौका दिनुपर्छ,' उनले भनिन्।

उनी त नेतृत्वमै छिन्। आफ्नो बैङ्कमा कतिको मौका दिएकी छिन् त महिला कर्मचारीलाई?

नहिच्किचाइकन भनिन्' बैङ्कको नीति पनि प्रोत्साहित गर्ने नै छ। मैले पनि सकेसम्म उनीहरूलाई प्रोत्साहितै गर्छु। सक्दिन नभन, प्रयास गर भनेर शाखाहरूमा राउन्ड सिस्टममा भए पनि जिम्मेवारी दिने गरेको छु। २० जना बढी ब्रान्चको म्यानेजर महिला छन्। जसले नेतृत्वको अवसर पाएका छन् राम्रो रिजल्ट नै आएको छ।

व्यवसायीक यात्रा अगाडि बढाउन उनले केही टिप्स पनि दिइन्।

'म गर्न सक्छु भने आत्मबल चाहिन्छ। आउँदैन भनेर डरायो भने जहाँकोत्यही होइन्छ। आउँदैन भने सिक्न सकिन्छ। सहनशील स्वभाव, अध्ययन र समय अनुसार अपडेट हुने स्वभाव भए राम्रो,' उनले भनिन्' नयाँसँग ज्ञान अनि पुरानोसँग अनुभव सिक्ने कला भयो भने जुनसुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ।'

OOO

प्रभु बैङ्कमा प्रवेश भएसँगै पाँच वर्षीय योजना निमार्ण। अनि आठ वर्षमै सिओओ। बैङ्किङ क्षेत्रमा उनको इन्ट्री गज्जबै हो। उनको अहिलेको यात्रा पनि रमाइलै रहेछ। जिम्मेवारी बढ्दो छ उनको। जति सफल भए पनि यो क्षेत्रबाट एक्जिटको समय त आइहाल्छ नै।

बैङ्किङ क्षेत्रमा इन्ट्री गर्ने उनको योजना थिएन। एक्जिट पनि त्यस्तै योजनाहीन हो र?

'हैन, कहाँ हुनु। एक्जिट गजब बनाउने लक्ष्य छ। सकेसम्म जहाँबाट बैङ्किङ करिअर सुरु भयो त्यहीको व्यवस्थापनको उच्च पदमा पुगेर नेतृत्व गर्ने लक्ष्य छ। तर म एक पटक बाहेक नेतृत्वमा बस्दिन। निश्चित समय नेतृत्व गरेपछि अर्कै क्षेत्रमा जान्छु।'

अर्को क्षेत्र ! कहाँ ?

उनमा कूटनीतिक क्षेत्रमा काम गर्ने मोह अझैँ रहेछ। त्यसैको ज्ञान बढाउन अहिले राजनीतिशास्त्रमा पिएचडी गर्दैछिन् उनी। त्यसपछिको योजना कानुन पढ्ने। सम्भव भए प्रभु बैङ्कको सिइओ भएर एक कार्यकाल नेतृत्व गर्ने। एक पटक नेतृत्व गरेपछि राजीनामा दिएर कूटनीतिक क्षेत्रमा प्रयास गर्ने।

त्यो बेलासम्म पक्कै पनि परराष्ट्र क्षेत्रमा सरकारी कर्मचारी बनेर जाने उमेर कट्छ नै उनको। विकल्प रह्यो २ वटा। कि राजनीतिक नियुक्ति लिएर यतै परराष्ट्र मन्त्रालयमा काम गर्ने या कुनै देशको राजदूत हुने।

'यतै राजनीतिक नियुक्तिको लक्ष्य हो कि राजदूत बन्ने हो?'

उकेराको प्रश्नमा मुसुक्क हाँस्दै उनले भनिन्' केही कुरा समयलाई नै छाड्नु राम्रो।'

१९ पुस, २०७९, १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।