२२ अर्बमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भद्रगोल, यात्रु बस्ने ठाउँ छैन, शौचालयका संरचना फुट्न थाले

२२ अर्बमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भद्रगोल, यात्रु बस्ने ठाउँ छैन, शौचालयका संरचना फुट्न थाले

पोखरा : तामझामका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेसँगै आन्तरिकतर्फको उडान नयाँ विमानस्थलमा सर्यो। बाहिरबाट हेर्दा निकै भव्य देखिन्छ विमानस्थलको संरचना। तर आन्तरिक उडानतर्फको अवस्था भद्रगोल छ।

पुरानो विमानस्थलले सहजै व्यवस्थापन गरिरहेको यात्रुहरूलाई नयाँ विमानस्थलले धान्नै सकेको छैन। टर्मिनलमा यात्रुहरूको लामो लाइन छन् भने यात्रुहरूलाई बस्ने पर्याप्त भौतिक संरचना समेत छैन। तीन दिन भयो सो विमानस्थल सञ्चालनमा आएको। तर भौतिक संरचना फुट्न थालिसके।

आन्तरिकतर्फको शौचालयमा प्लग फुटेको अवस्थामा देखियो मङ्गलवार। तर मर्मत हुन सकेको छैन। सिट व्यवस्थापन समेत भद्रगोल देखिन्छ। व्यवस्थापनमा विमानस्थल प्रशासनको सक्रियता देखिन्न।

चीनको २२ अर्ब रुपैयाँको ऋणमा बनेको सो विमानस्थलको निर्माण प्रक्रिया प्रारम्भदेखि नै विवादमा आइरहेको हो। लागतदेखि ठेक्का प्रक्रिया अनि चीनसँगको ऋणका सर्तहरू अझै विवादमा नै छ। सो विमानस्थल चाइना सीएएमसी इन्जिनियरिङले बनाएको हो।

परियोजनामा ०७४ कात्तिकदेखि ठेकेदार कम्पनीले विमानस्थल निर्माण सुरु गरेको थियो। नेपालले चीनको एक्जिम बैंकसँग ऋण लिएको थियो। सो विमानस्थल चीनको बिआरआई रणनीति अनुसार निर्माण भएको चीनियापक्षको खुलासासँगै नयाँ विवाद सुरु भएकोमा व्यवस्थापनको कमजोरी समेत तीन दिनमै छरपस्ट भयो। विमानस्थल सञ्चालनमा दक्ष जनशक्तीको अभाव प्रष्टै खट्किन्छ आन्तरिकतर्फको ट्रमिनलमै भने अन्तराष्ट्रिय उडानतर्फको अवस्था के होला?

१९ पुस, २०७९, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।