खेलाडी र रेफ्रीले पारिश्रमिक नपाएपछि नेपाल टी–२० को टस हुन सकेन, आउटफिल्ड भिजेको भन्दै झुट फैलाइयो

खेलाडी र रेफ्रीले पारिश्रमिक नपाएपछि नेपाल टी–२० को टस हुन सकेन, आउटफिल्ड भिजेको भन्दै झुट फैलाइयो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज लिग नेपाल टी–२० को मंगलबारको खेलमा टस हुन सकेन।

जारी प्रतियोगितामा खेलाडी र रेफ्रीलाई तोकिएको पारिश्रमिक क्यानले नदिएपछि मंगलबारका लागि तय भएको विराटनगर सुपरकिंग्स र काठमाडौं नाइट्सबीचको प्रतियोगिताको टस नै भएन।

क्यानले पैसा नदिए प्रतियोगिता नै नखेल्ने धम्की दिएका उनीहरूले मंगलबार टस नै नगरेका हुन्। ९ बजेबाट सुरु हुने प्रतियोगिताको अहिलेसम्म टस नभएपछि स्कोर अपडेट हुने वेबसाइटहरूमा भने आउटफिल्ड भिजेका कारण टस ढिला भएको झुट फैलाइएकाे छ।

क्यानले प्रतियोगिता पटक-पटक स्थगित गरेर सुरु गरे पनि प्रतियोगितामा अपारदर्शी गतिविधि भइरहेका छन्।

विदेशी खेलाडीले श्रम स्वीकृति बेगर प्रतिस्पर्धा गरिरहेका छन् भने खेलाडी, अम्पायर लगायतले पारिश्रमिक पाएका छैनन्। ठुलो राशिको पुरस्कार घोषणा भए पनि जित्ने टिमले उक्त पुरस्कार पाउने सम्भावना कमजोर छ।

क्यान स्रोत भन्छ, ‘प्रतियोगिता नै पूरा हुन मुस्किल छ, भइहाले पनि विजेताले भनेको पुरस्कार रकम पाउने सम्भावना कमजोर छ।’

काठमाडौं, विराटनगरसहित जनकपुर रोयल्स र फारवेस्ट युनाइटेडका खेलाडीहरूले लिगका ६० प्रतिशतभन्दा बढी खेल भइसक्दा पनि कुनै पारिश्रमिक पाएका छैनन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अघिल्लो दिनबाट आयोजकहरू नै सम्पर्कमा नआएको बताएका थिए।

नेपाली खेलाडीहरूले प्रतियोगिताका लागि विभिन्न क्याटेगोरी अनुसार पारिश्रमिक पाउने छ्न्।

जसमा समूह ‘ए’ मा रहेका खेलाडीले १५ लाख, समूह ‘बी’ मा रहेकाको १० र समूह ‘सी’ मा रहेकाको ५ लाख पारिश्रमिक पाउने तय भएको छ।

रकम तोकिएको छ। त्यस्तै, विदेशी खेलाडीको हकमा समूह ‘ए’ मा रहेकाले ४० हजार डलर, समूह ‘बी’ ले २० हजार र ‘सी’ ले १२ हजार ५ सय डलर पारिश्रमिक पाउने प्रावधानअनुसार सम्झौता छ।

प्रतियोगिता सुरु हुनु २४ घन्टाअगाडि बैंकमार्फत् ५० प्रतिशत रकम खेलाडीको खातामा भुक्तानी हुनुपर्ने प्रावधान रहे पनि प्रतियोगिता अन्तिम समयमा पुग्दा चार टोलीका खेलाडीहरूले कुनै रकम नपाएको जनाइएको छ।

खेलाडीहरूले क्यानलाई चेतावनी नै दिएर पारिश्रमिक नपाए प्रतियोगिता बीचमा नै छाड्ने धम्की दिएका छन्। तर क्यानले थामथुम पार्ने प्रयास गरिरहेको छ।

१९ पुस, २०७९, ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।