को हुन् लुम्बिनी प्रदेशसभा पहिलो अधिवेशनको अध्यक्षता गर्ने डिल्लीराज भुसाल?

को हुन् लुम्बिनी प्रदेशसभा पहिलो अधिवेशनको अध्यक्षता गर्ने डिल्लीराज भुसाल?

दाङ : लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे देउखुरीमा बस्दैछ।

आइतबारख प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसँगै आज बस्ने पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्दैछन्।

गुल्मी क्षेत्र नंं २ (१) बाट निर्वाचित भुसाल प्रदेश सभाका ८७ जना सांसदहरूमध्ये ज्येष्ठ सदस्य रहेकाले उनको अध्यक्षतामा बैठक बस्न लागेको हो। निर्वाचन आयोगलाई बुझाएको विवरणअनुसार उनको जन्म २०१० साल जेठ ७ गते भएको हो।

६९ वर्षीय भुसालले सभामुख र उपसभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन्।

रेसुङ्गा नगरपालिका–१ नयाँबजार तम्घास निवासी भुसालको जन्म भने अर्घाखाँची जिल्लाको साविक मरेङ गाविस ६ हाल मालारानी–१ मा भएको थियो।

रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुखसमेत रहेका भुसाल हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन्। २०३८ सालमा माले पार्टीसँग आबद्ध भइ लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य बनेका उनले रेसुङ्गा नगरपालिका पार्टी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटि सदस्यको जिम्मेवारी निभाई सकेका छन्।

तम्घास अस्पताल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका भुसाल दर्जनौं सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो।

१८ पुस, २०७९, १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।