प्रेममा उत्साह ल्याउन रातो गुलाफ, गुलाबी गुलाफ यौन र प्रेमभावको अभिव्यक्ति

प्रेममा उत्साह ल्याउन रातो गुलाफ, गुलाबी गुलाफ यौन र प्रेमभावको अभिव्यक्ति

काँडामाथि फुल्ने गुलाफ प्रेम अभिव्यक्त गर्ने सजिलो माध्यम हो। यो फूल कोमल हुन्छ। प्रेम पनि गुलाफ जस्तै कोमल होस् भनेर नै हुनसक्छ यसलाई प्रेमको विम्ब मानिएको।

तर, प्रेममा पनि उतारचढाव आउन सक्छन्। प्रेमी-प्रेमिकाबीच प्रेम बढ्दै जाँदा त्याग, समर्पण र सङ्घर्षलाई छिचोल्दै सँगै बस्ने प्रतिज्ञा हुनसक्छ। यो सङ्घर्ष गुलाफको छेउछाउ हुने काँडा जस्तै हुन्। प्रेम दिवस पनि सङ्घर्षकै उपजका रूपमा लिइन्छ।

प्रेममा जोडी भावनामा बगेको हुन्छ। दुईमध्ये एकलाई सानो समस्या परे पनि सच्चा प्रेममा बाँधिएका जोडी भावुक बन्छन्।

रातो र गुलाबी गुलाफ हेर्दै आकर्षक हुने भएकाले मनोवैज्ञानिक रूपमा प्रेमी-प्रेमिकालाई आकर्षित बनाउन यो फूल उपयोगी हुन्छ। सुन्दरतामा व्यक्ति आकर्षित हुनु स्वाभाविक पनि हो। सुन्दर दृश्यले जोसुकैको मन प्रफुल्ल हुन्छ। प्रेमभाव प्रकट हुन्छ।

त्यसैले रातो तथा गुलाबी रङ्गको फूल एकापसमा उपहार स्वरूप साटासाट गर्नाले जोडीलाई प्रेमभाव प्रकट गर्न र नजिकिन मद्दत मिल्ने मनोवैज्ञानिक कारण छ। त्यसैले प्रेम दिवस सप्ताहको पहिलो दिनलाई 'रोज डे'का रूपमा मनाउने प्रेमी-प्रेमिकाको जमात ठूलै छ।

फेब्रुअरी १४ मा प्रेम दिवसको दिन पनि रातो तथा गुलाबी रङ्गको गुलाफलाई प्रेम साटासाट गर्ने प्रतिकको रूपमा प्रयोग गरेको देखिन्छ। त्यसैले अन्य समयमा पनि कसैले गुलाफको फूल उपहार दियो भने त्यसलाई प्रेमकै प्रतिकको रूपमा लिइन्छ। 

मनोवैज्ञानिक दृष्टिमा रङ्गले व्यक्तिको मन–मस्तिस्क, भावना तथा व्यवहारमा गहिरो प्रभाव पार्छ। त्यसैले विभिन्न फूलका रङ्गको प्रयोग गरी कलर थेरापी मनोवैज्ञानिक उपचार विधि समेत अपनाइन्छ।

विभिन्न मानसिक समस्याको उपचारका लागि कलर थेरापीका रूपमा फूल तथा रङ्गको प्रयोग गरिन्छ। डिप्रेशन जस्तो मानसिक रोगको उपचारका लागि कलर थेरापीमा रातो रङ्गको प्रयोग गरिन्छ।

सामान्यतया प्रेम दिवसको दिन रातो तथा गुलाबी रङ्गका गुलाफ प्रेमी–प्रेमिकाबीच उपहारस्वरूप साटासाट गर्ने चलन छ। 

रातो गुलाफ
रातो रङ्ग उत्साह, उत्तेजना तथा जोसको प्रतिक हो। शक्ति तथा ऊर्जाको प्रतिकका रूपमा लिइन्छ यसलाई। त्यसैले मनोवैज्ञानिक दृष्टिमा प्रेममा उत्साह ल्याउन यस किसिमको गुलाफले सहयोग मिल्नसक्छ।

रातो गुलाफलाई मनोवैज्ञानिक रूपमा यौन उत्तेजनाको सङ्केतका रूपमा समेत लिइन्छ। सुन्दरताको प्रतिकका रूपमा समेत यो रङ्गको प्रयोग गरिन्छ।

मनोवैज्ञानिक दृष्टिमा हेर्ने हो भने रातो रङ्ग मन पराउने व्यक्तिको स्वभाव सक्रिय, आक्रामक, क्रोधयुक्त, महत्त्वकांक्षी, स्वार्थी भन्ने समेत बुझाउँछ।

निराश भएका व्यक्तिका लागि रातो रङ्ग लगाएर कलर थेरापी उपचारात्मक विधि समेत अपनाइन्छ। त्यसैले प्रेम दिवसमा रातो रङ्गको गुलाफ उपहारस्वरूप साटासाट गर्नु प्रेमिल ऊर्जाका रूपमा लिन सकिन्छ।

यो रङ्ग टाढैबाट देख्न सकिन्छ। 

गुलाबी गुलाफ 
रातो मात्रै होइन प्रेम दिवसका दिन गुलाबी रङ्गको गुलाफको प्रयोग पनि त्यत्तिकै भएको देखिन्छ। यो रोमाञ्चकता थप्ने रङ्ग हो।

युवा अवस्थामा मनोवैज्ञानिक रूपमा प्रेमभाव प्रकट गर्न विशेषगरी युवाहरूले गुलाबी रङ्गको गुलाफलाई बढी मन पराएको देखिन्छ।

गुलाबी रङ्गको गुलाफले आत्मविश्वास बढाउन समेत लाभ मिल्ने मनोवैज्ञानिक कारण देखिन्छ। गुलाबी रङ्गको गुलाफ उपहारस्वरूप साटासाट गर्नु यौनभाव तथा प्रेमभाव प्रकट गर्नु हो।

(मनोवैज्ञानिक ढकालसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

#पुनः प्रकाशित सामग्री

२ फागुन, २०७९, ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।