डा. सुरेन्द्रकाे उपचार अनुभव : औंला जलेर आएका बिरामीले थर्काउँदै भने- ‘मेरो बिग्रिए तिमरूको पनि काट्दिन्छु’

डा. सुरेन्द्रकाे उपचार अनुभव : औंला जलेर आएका बिरामीले थर्काउँदै भने- ‘मेरो  बिग्रिए तिमरूको पनि काट्दिन्छु’
तस्बिर- डाक्टर सुरेन्द्रकाे फेसबुकबाट

डा. सुरेन्द्रजंग बस्नेत वर्न प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जन हुन्। उनी व्यक्तिको सुन्दरता निखार्ने कस्मेटिक सर्जदरीदेखि लिएर जल्ने लगायत विभिन्न कारणले अंगभंग भएका व्यक्तिको उपचार गर्छन्।

नेपालमा सामान्यतया ४० प्रतिशतभन्दा बढि शरीरको भाग जलेको अवस्थामा व्यक्तिलाई बचाउन निक्कै कठिन हुन्छ। तर, शरीरको ४० प्रतिशत भन्दा बढि भाग जलेका केही व्यक्ति बाँचेका छन्।

कयौंलाई उनले बचाएका छन्। कतिपय व्यक्तिलाई अथक उपचार प्रयास गर्दा–गर्दै पनि बचाउन नसकेकोमा उनलाई दिक्क लाग्छ।

‘घिस्रेर अस्पताल आएकी महिला ठमठम हिँड्ने भइन्’
डा. सुरेन्द्रले उपचार गरेका मध्ये करिब दश वर्षअघिको एक प्रसंग कहिल्यै भुल्दैनन्। त्यो बेला विराटनगरमा स्वास्थ्य शिविर लिएर गएको समयमा एक जना करिब ३२ वर्षकी महिला बामे सर्दै स्वास्थ्य शिविरमा पुगेकी थिइन्। ती महिलाको दुवै घुँडा जलेका कारण जोडिएका थिए। टाँसिएका थिए।

ती महिलाको समस्याको प्रकृतिअनुसार काठमाडौं लगेर शल्यक्रिया गर्ने सोच बनाएको थियो डा. सुरेन्द्रको टिमले। तर, आर्थिक अभाव लगायत कारणले काठमाडौं आउन सम्भव नहुने भयो। चिकित्सकको टिमले महिलालाई काठमाडौं जानुपर्छ अप्रेशन गर्न भन्दा महिलाले भनिछन्, ‘डाक्टरसाप, म काठमाडौं जान सक्दिन। जे जसरी हुन्छ यहिँ अप्रेशन गरिदिनुहोस्।’

ति महिलाले काठमाडौं आउने अवस्था नदेखिएपछि चिकित्सकको टिमले विराटनगरमा नै शल्यक्रिया गर्ने निष्कर्ष निकाल्यो। त्यसपछि डा. सुरेन्द्रको टिमले विराटनगरमा नै महिलाको घुँडाको शल्यक्रिया गर्यो। चिकित्सकको टिम महिलाका ति जोडिएका घुँडा शल्यक्रियागरी छुट्याउन सफल भयो।

करिब तीन महिनापछि पुनः त्यहि ठाउँमा पुगेका थिए डा. सुरेन्द्र। त्यहाँ जाँदा शल्यक्रिया गरेर पठाएकी महिला ठमठम हिँडेर आएको देखे उनले। ती महिला फलोअपका लागि गएकी थिइन्।

उपचारपछि बुवाआमाको ज्यान बाँच्यो। जलनका कारण शरीरमा संक्रमण फैलिएर छोराको भने मृत्यु भयो।

आफैं हिँड्न सक्ने भएर ती महिला हाँस्दै आएको देखेर डा. सुरेन्द्रलाई निक्कै आनन्द लाग्यो। अपांगता भइसकेकी एउटी महिला उपचारपछि मज्जाले हिँडेको त्यो प्रसंग सम्झँदा उनी आफूले अंगालेको चिकित्सकीय पेशाप्रति गौरवान्वित हुन्छन्।

बालकको टाँसिएको हात छुट्याइदिएपछि...
त्यसैगरी बालकको हात जलेपछि दोब्रिएर टाँसिएको र शल्यक्रिया गरेर हात चल्ने बनाएको प्रसंग डा. सुरेन्द्र भुल्दैनन्।

एक महिना अघिको मात्रै प्रसंग हो। करिब १२ वर्षका बालक उनीकहाँ उपचारका लागि पुगेका थिए। बालकको जलेर हात तथा हत्केलो कुहिनोमाथि कुमसम्म टाँसिएको थियो। ती बालक न त्यो हातले समाएर केही खान सक्थे। न कुनै वस्तु समाउन नै।

सानो बेलामा नै आगोको भुङ्ग्रोमा हात परेर जलेको रहेछ। त्यो बेलासम्म बालकको उपचार नै भएको रहेनछ। त्यसपछि डा. सुरेन्द्रको टिमले बालकको हातको शल्यक्रिया गरी टाँसिएको हात छुट्याउन सफल भयो। शल्यक्रिया सफल भएपछि ती कलिला बालक खुसी भएको देख्दा बालकसँगै आफू पनि खुसीमा डुबेको उनले सुनाए।

‘माया मारेका पुरुष बाँचे’
डा. सुरेन्द्रका अनुसार नेपालमा सामान्यतया ४० प्रतिशतभन्दा बढि शरीरको भाग जलेको अवस्थामा व्यक्तिलाई बचाउन निक्कै कठिन हुन्छ। तर, शरीरको ४० प्रतिशत भन्दा बढि भाग जलेका केही व्यक्तिलाई भने बचाउन सफल भएको डा. सुरेन्द्रले सुनाए।

‘४० प्रतिशत भन्दा माथि ५० प्रतिशतसम्म शरीरको भाग जलेका २/४ जना बचाएका छौं,’ उनले भने।

करिब चार वर्षअघि ५० प्रतिशत शरीरको भाग जलेका व्यक्तिलाई बचाएको प्रसङ्ग सुनाए उनले। अस्पताल पुर्याइएका पूर्वका एक जना पुरुषको शरीरको करिब ५० प्रतिशत भाग जलेको थियो। ४० प्रतिशत भन्दा बढि भाग जलेकाले उपचारपछि ती पुरुषलाई बचाउने झिनो आशामात्रै बाँकी थियो। घर परिवारले समेत आशा मारिसकेका थिए।

त्यही झिनो आशा लिएर डा. सुरेन्द्रको टिमले पुरुषको उपचार गर्यो। नभन्दै लामो उपचारपछि बिरामी बाँचे। डिस्चार्ज भएर पुुरुष घर फर्किए।

बिरामीको ज्यान बचाउन सकेकोमा उनी खुसी त हुने नै भए। बाँच्ने आशा नै मारिसकेका परिवारले बचाएर आफ्नो मान्छे घर फर्काउन पाउँदा खुसीको सीमा नै थिएन। त्यो प्रसंगले उनलाई चिकित्सकले अन्तिमसम्म पनि आशा मार्नुहुँदैन भन्ने आत्मबल बढ्यो डा. सुरेन्द्रलाई।

‘बुवाआमा बचाउँदा छोरालाई सकेनौं’
त्यसो त कहिलेकाहिँ शरीरको करिब १५/२० प्रतिशत मात्रै भाग जलेका युवावस्थाका व्यक्तिलाई समेत बचाउन नसकेको अनुभव छ उनीसँग। ४/५ वर्षअघि ग्यास पड्किएर जलेका कारण बुवा आमा र छोरा अस्पताल भर्ना भएका थिए।

उपचारपछि बुवाआमाको ज्यान बाँच्यो। जलनका कारण शरीरमा संक्रमण फैलिएर छोराको भने मृत्यु भयो। ती छोरालाई बचाउन नसकेको घटना सम्झँदा अझै डा. सुरेन्द्रको मन चसक्क हुन्छ। कहिलेकाही शरीरको कम भाग जलेको भए पनि विभिन्न स्वास्थ्य जटिलता निम्तँदा बिरामीलाई बचाउन नसकिने उनले सुनाए।

त्यसरी बिरामी बचाउन नसकेको समयमा भने शल्यक्रिया गर्ने पेशा नै छाडौंकी जस्तो महसुस हुन्छ रे उनलाई। ‘बिरामी बचाउन नसकेको बेला त सर्जरी गर्ने पेशा नै छाडिदिउँ कि जस्तो लाग्छ,’ उनले सुनाए। 

तर, चिकित्सकीय पेशामा सत प्रतिशत बिरामी बचाउन सकिन्छ नै भन्ने एकिन हुँदैन। त्यसैमा उनी चित्त बुझाउँछन्। र, आफ्नो काममा अघि बढ्छन्। जलनका बिरामी नेपालमा धेरै ढिला मात्रै अस्पताल पुग्ने गरेकाले बचाउन सकिनेको स्वास्थ्यमा पनि जटिलता आउने उनी बताउँछन्।

‘मेरो औंला बिग्रिए तिमीहरूको पनि काटिदिन्छु’
करिब सात वर्षअघि स्वास्थ्य शिविरमा जाँदाको एउटा प्रसंग पनि डा. सुरेन्द्र कहिल्यै भुल्दैनन्। त्यो बेला औंला जलेका करिब २५ वर्षका युवा उपचारका लागि पुगेका रहेछन्। ती युवाको औंला डढेर टाँसिएको रहेछ।

त्यसैले औंला सिधा बनाउन डा. सुरेन्द्रको टिमले औंलामा एउटा पिनजस्तो वस्तु रखिदिए। चिकित्सकको टोली शिविर सकेको भोलिपल्ट काठमाडौं फर्कियो। चिकित्सकको टिम काठमाडौं फर्केपछि ती युवा शिविरमा रहेका कर्मचारी भएको ठाउँमा पुगेछन्।

युवाको त्यो औंला हल्का निलो भएछ। त्यसपछि युवाले शिविरमा खटिएका कर्मचारीलाई भनेछन्, ‘मेरो औंला बिग्रियो भने तिमीहरूको औंला पनि काटिदिन्छु।’

त्यसपछि कर्मचारीले परामर्श दिएर युवालाई शल्यक्रिया गरेर औंला सिधा बनाइदिने भन्दै डा. सुरेन्द्रलाई भेट्न काठमाडौं जान अनुरोध गरे। नभन्दै सल्लाह मान्दै युवा काठमाडौं आए। काठमाडौं आएपछि ती युवालाई डा. सुरेन्द्रले राम्रोसँग परामर्श दिए। औषधि उपचारपछि समस्या अहिले समाधान भएको छ।

०००

त्यसो त कतिपय व्यक्तिको अपेक्षाअनुसारको सुन्दरता निखार्न सम्भव हुँदैन। अपेक्षाअनुसार सुन्दरता निनिख्रन सक्छ। त्यस्तो अवस्थामा कतिपय बिरामीका आफन्तले गाली समेत गरेका छन्। विशेषगरी जलनको अवस्थामा बिरामी बचाउन नसक्दा कतिपय बिरामीका आफन्तले गाली गर्ने गरेको उनले सुनाए।

त्यसरी गाली सुन्दा एकातर्फ बिरामी बचाउन नसकेको तनाव त छँदैछ बिरामीका आफन्तबाट पनि गाली आउँदा मन चसक्क हुने गरेको उनले सुनाए। तर, आफैंलाई भने प्रत्यक्ष रूपमा अहिलेसम्म बिरामीका आफन्तले गाली नगरेको डा. सुरेन्द्रले सुनाए।

युवतीको नाक मिलाइदिएपछिकाे खुसी
त्यसो त डा. सुरेन्द्र सुन्दरता निखार्ने चिकित्सक समेत हुन्। डा. सुरेन्द्र कस्मेटिक सर्जरी विधि अपनाइ व्यक्तिको विशेषगरी अनुहारको सुन्दरता निखार्ने काम गर्छन्।

केही वर्ष अघिको प्रसंग हो। एक जना किरब २६ वर्षकी युवती सर्जरी गरी नाक मिलाउन उनीकहाँ पुगिन्। उनको नाक त्यसै राम्रो थियो। तर, मिलाएर थप सुन्दरी देखिन मन लागेछ ती युवतीलाई।

ओठ फाटेको, तालु फाटेको जलेर शरीरको एउटा भाग अर्को भागमा गएर टाँसिएको जस्ता समस्यालाई शल्यक्रिया गरी छुट्याएर काम गर्न सहज बनाइदिन्छन् उनी।

त्यसपछि युवतीको चाहनाबमोजिम डा. सुरेन्द्रले सर्जरी गरि नाकको आकार मिलाइदिए। चाहेकै जस्तो गरी नाकको आकार मिलाइदिएपछि युवती निकै खुसी भएको र अहिले पति ती युवतीले बेलाबेलामा सल्लाह तथा परामर्श लिने गरेको उनले सुनाए।

फौजीमा दुःख पाइने डरले डाक्टर
वि.सं.२०३५ मा जन्मिएका सुरेन्द्रको स्थायी घर सोलुखुम्बु भए पनि बुवा प्रहरीमा जागिरे भएकाले उनी धनकुटामा हुर्के। उनले धनकुटाकै गोकुलेश्वर बालमन्दिर माविबाट २०५० एसएलसी पास गरे। त्यसपछि सुरेन्द्रले काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएस्सी गरे।

आइस्सीपछि उनले बुवा प्रहरी भएकाले प्रहरीमा नै जागिर खाने विचार गरेका रहेछन्। फौजीमा साह्रै दुःख हुन्छ भनेर बुवाले उनलाई प्रहरीमा जागिर नखान अर्ती दिए। त्यसपछि उनले एभिएशन सम्बन्धी इन्जिनियरिङ (एयरनटिकल इन्जिनियरिङ) पढ्ने सोच बनाएका थिए। तर, उनलाई त्यो विषय पनि पढ्न मन लागेन। त्यसपछि उनले डाक्टर पढ्ने निर्णय लिए।

सुरेन्द्रले सन् १९९८ मा चीन पुगेर एमबीबीएस अध्ययन गर्न थाले। एक वर्ष चीनियाँ भाषा पढ्नुपथ्र्यो। सन् २००४ मा सुरेन्द्रले एमबीबीएस अध्ययन पूरा गरे। त्यसपछि नेपाल फर्केर केहीसमय काम गरे। शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा प्लाटिक सर्जरी विषयमा स्नातकोत्तर तहको एमएस सर्जरी विषय अध्ययन गर्न चीन पुगे। सन् २००६ मा चीन पुगेका उनी सन् २००९ मा अध्ययन सकेर नेपाल फर्के। त्यो बेला नेपालमा प्लाष्टिक सर्जरी सम्बन्धी पढाइ हुँदैनथ्यो।

प्लाष्टिक सर्जरी विषय अध्ययनपछि नेपाल फर्केर हेल्थ कन्सर्न ट्रष्ट अन्तर्गतको मोडल अस्पतालमा उनले काम गर्न थाले। अहिले पनि डा. सुरेन्द्र त्यही ट्रष्ट अन्तर्गतको कीर्तिपुर बर्न अस्पतालमा काम गरिरहेका छन्।

सुन्दरता निखार्ने कला
नेपालमा जलनसम्बन्धी बिरामीको लागि विशेषज्ञ चिकित्सकसमेत कम भएको देखेपछि आफूले यो विषय छानेको उनले सुनाए। त्यो बेला उनले यो विषय पढ्दा नेपालमा करिब दश जनामात्रै प्लाष्टिक सर्जन थिए रे।

नेपालमा शरीरको करिब ४० प्रतिशत वा सो भन्दा बढी भाग जलेको खण्डमा शत प्रतिशतजसो मृत्यु हुने गरेको उनले सुनाए। त्यो बेला जलेर अस्पताल भर्ना भएका बिरामीको आज उपचार गरे पनि भोलिपल्ट मृत्यु भइसकेको हुन्थ्यो रे।

‘त्यो बेला बिरामी आउने, आज ड्रेसिङ गर्यो भोली बिरामी नहुने, यहाँको बिरामी खै भन्दा मृत्यु भइसक्यो भन्थे,’ उनले सुनाए।

आगो, हिटर, करेन्ट, तातोपानी, एसिड लगायतका कारण शरीर जलेका बिरामीको उपचार गर्नु उनको दैनिकी हो। त्यसैगरी हातखुट्टा जस्ता अंग जलेर, कुनै दुर्घटनामा परेर, क्यान्सर भएर, जन्मजातै जस्ता कारणले अपांगता भएका व्यक्तिको शरीरका अंग उपचार गरी ठिक ठाउँमा ल्याउनु उनको विशेषज्ञताको काम हो।

सामान्यतया नेपालमा वयस्क व्यक्तिमा आगोले पोलेर जल्ने अनि बालबालिका भने तातो पानी, तातो तेल जस्ता पदार्थले जलेको पाइने गरेको डा. सुरेन्द्रले सुनाए। व्यक्तिको सुन्दरता निखार्ने सवालमा आँखाको मुन्द्री बनाउने, नाक मिलाउने, कान मिलाउने, अनुहार मिलाउने जस्ता काम गर्छन् उनी।

जलेर वा कुनै किसिमले हात, खुट्टाजस्ता शरीरका अंग जोखिएको खण्डमा शल्यक्रिया गरी छुट्याएर औषधि उपचार गरी उनी त्यस्ता अंगले काम गर्न सहज बनाउँछन्। ओठ फाटेको, तालु फाटेको जलेर शरीरको एउटा भाग अर्को भागमा गएर टाँसिएको जस्ता समस्यालाई शल्यक्रिया गरी छुट्याएर काम गर्न सहज बनाइदिन्छन् उनी।

१६ पुस, २०७९, १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।