२० लाख खर्च गरेर मान्छेबाट ‘कुकुर’ बनेका व्यक्ति अहिले पछुताउन थाले

२० लाख खर्च गरेर मान्छेबाट ‘कुकुर’ बनेका व्यक्ति अहिले पछुताउन थाले
तस्बिर: कुकुरको स्वरूपमा टोको ।

एजेन्सी: धनीहरूको घरमा कुकुरले पाएको माया र विलासी जीवन देखेर अधिकांशले सोच्ने गर्छन्- काश हाम्रो पनि यस्तै भाग्य भइदिए। कुकुरले जस्तै खुशी पाउन र विलाशी जीवन जिउन मान्छेले कुकुरको जीवनसँग पनि डाह गर्न थाल्छन्।

यो त फगत कल्पनाको कुरा भइहाल्यो। केही समयअघि वास्तविकतामै एक व्यक्ति भने लाखौँ खर्चेर मान्छेबाट कुकुर बनेका थिए। उनलाई देखेर जो कोही पनि झुक्किन्छ। उनी मान्छे हुन् भनेर कसैलाई पत्यारै हुँदैन।

टोको नाम गरेका उनलाई सधैँ जनावरको जीवन जिउन मन लाग्थ्यो। उनलाई कुकुरहरूप्रति अगाध माया थियो। यस्तो अवस्थामा एकदिन उनले आफ्नो स्वरूप बदल्ने सोच बनाए। स्पेशल इफेक्ट वर्कशप जेपेटमा सम्पर्क गरे।

स्थानीय जापान समाचार आउटलेट न्यूज मायनवीका अनुसार उनले एक अति-वास्तविक कुकुरको पोशाक बनाएका थिए। जसको लागत दुई मिलियन येन (२० लाख नेपाली रुपैयाँ)भन्दा बढी थियो। उनको पोशाक बनाउन करिब ४० दिन लागेको थियो। टोकोको अनौठो इच्छा पूरा गर्न कार्यशालाले कुकुरको जस्तो पोशाक बनाएर टोकोलाई दिएका थिए।

त्यसपछि टोकोले सामाजिक सञ्जालमा यो पोशाक लगाएको तस्बिर शेयर गरेका थिए। उनले आफ्नो नयाँ जीवनका बारेमा पनि जानकारी दिएका थिए।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै टोकोले कुकुर आफ्नो मनपर्ने जनावर भएकाले यस्तो स्वरूप बनाएको बताएका थिए। टोकोले यो पोशाक लगाउँदा, उनी कुकुर नै देखिन्छन्। यससँगै उनको हिँडाइ देखेर मानिसहरू विश्वासै गर्न सक्दैनन्।

तर हालैको दिनमा भने उनलाई यस स्वरूपबारे पछुतो छ। उनलाई साथीभाइले अनौठोरूपमा हेर्ने गरेकोले उनलाई पछुतो भएको हो।

टोको महिनामा केही दिन कुकुरको पोशाक लगाएर कुकुरको रूप धारण गर्छन्। तर त्यो कुरा उनी साथीभाइलाई खासै भन्दैनन्। उनले भनेका छन्, 'म विरलै साथीहरूलाई भन्छु। किनकि मलाई डर लाग्छ उनीहरूले मलाई अनौठोरूपमा हेर्छन् भनेर।'

आफ्ना साथीभाइ र परिवारले कुकुरस्वरूपलाई लिएर अनौठो मान्ने गरेको उनको भनाइ छ। २० लाख खर्च गरेर, आफ्नो रहर पूरा गरेर पनि खुशी हुन नकस्ने टोकोले कुकुर स्वरूप त्याग्छन् कि त्याग्दैनन् भन्ने चाहिँ खुलाएका छैनन्।

१५ पुस, २०७९, १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।