ती राज्यलक्ष्मी यी आरजु : सत्ता गुम्दा ‘शासकका’ श्रीमतीलाई  किन खलनायक बनाइन्छ?

ती राज्यलक्ष्मी यी आरजु : सत्ता गुम्दा ‘शासकका’ श्रीमतीलाई  किन खलनायक बनाइन्छ?

शासक कमजोर हुनुमा उनका श्रीमतीलाई दोष लगाउने प्रचलन नौलो हैन। राजा र प्रधानमन्त्रीले गरेका गलत कामको अपजस बोक्न बाध्य रानीहरू नेपाली इतिहासमा प्रशस्तै भेटिन्छन्।

पृथ्वीनारायण शाहकी बुहारी प्रताप शाहकी श्रीमती मात्र नभएर पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा गाभ्नसमेत गाह्रो मानिएको लमजुङ, कास्की र तनहुँ लगायतका दर्जन भन्दा बढी राज्य गोरखा राज्यमा विलय गराएकी राजेन्द्रलक्ष्मीलाई जहिले पनि बहादुर शाहलाई सत्ताको बागडोर समाल्न नदिएर आफैँ बाठो हुनु परेकी रानी जसरी चित्रित गरिएको छ।

उनको आनीबानी स्वभाव अनि राजनैतिक चातुर्यताबारे कमै उल्लेख गरिएको छ। तर त्यसको बेवास्ता गर्दै यदि बहादुर शाहले नायवी भएर शासन चलाएको भए पृथ्वीनारायण शाहले सुरु गरेको राज्य विस्तारको अभिभारा अझ राम्रोसँग पूरा हुन्थ्यो भनेर उल्लेख गरिएको छ इतिहासमा।

छोरा रणबहादुरका लागि उनले नायवी लिएको राम्रो तर उनले गरेको काम चैँ कसरी गलत।

बहादुर शाहलाई बिचरा सम्झने अनि राजेन्द्र लक्ष्मीको सत्ता चलाउने इच्छा चैँ पुरै अनैतिक?

अर्को घटना हेरौँ,

१९०३ मा सुरु भएको राणा शासन सुरु हुनुमा तत्कालीन राजा राजेन्द्र विक्रम शाह हैन उनकी कान्छी श्रीमती राज्यलक्ष्मीदेविको हस्तक्षेपलाई कारक मानिन्छ।

रानीले भनेको ‘सबै कुरा मान्ने’ राजाको स्वभावका कारण जगंबहादुरलाई कोत पर्व गर्न सजिलो भएको इतिहासका पुस्तकमा विश्लेषण भेटिन्छ।

राजेन्द्रविक्रमको शासन गर्ने शैली नभएको, योग्यता नभएको पक्षलाई सकेसम्म लुकाइएको छ। इतिहासमा पुरुषको यौन पिपासुलाई सहजै ढाकछोप गर्ने र महिलाको चातुर्यता र क्षमतालाई पुरै अस्वीकार गरियो?

राजेन्द्रविक्रमको अक्षम भएपछि स्वाभाविक रूपमा राज्यलक्ष्मी देवी सक्रिय भइन्। त्यसमा दोष राजेन्द्रको कि राज्यलक्ष्मीको ?

पञ्चायतकाल हट्नु अनि दरबार हत्याकाण्डको कारक रानी ऐश्वर्यको अस्वाभाविक हस्तक्षेपलाई मानिन्छ किन? पञ्चायतकालीन पूर्व मन्त्रीहरूको पुस्तकमा यदि ऐश्वर्यको हस्तक्षेप हुँदैनथ्यो भने पञ्चायत टिक्थ्यो भन्ने रोइलो गर्वका साथ लेखेका छन्।

भारतमा इन्दिरा गान्धीले सत्ता चलाउनु स्वाभाविक बन्यो। तर नेपालमा राजा वीरेन्द्रको कमजोरी पुरा गर्न रानी ऐश्वर्याको सक्रियता अस्वीकार भयो।

अहिले पनि पुरुषको अहमतावादी त्यो सोच हराउन सकेन। प्रधानमन्त्री डा बाबुराम भट्टराई तर नम्बर वन भ्रष्टाचारी भन्दै हिसिला यमि बदनाम भइन्। आरोप उहीँ टिपिकल 'भट्टराईको हरेक निर्णयमा यमि हाबी भएको, हस्तक्षेप गरेको।' बाबुराम अलोकप्रिय हुनुमा यमिलाई दोष लगाइन्छ अहिले पनि। बाबुराम ठिक थिए यमि गलत थिन भन्ने भाष्य सिर्जना गरियो।

ओनसरी घर्तीलाई केबल वर्षमान पुनको श्रीमतीको रुपमा मात्रै ब्याख्या गरिन्छ अहिले पनि। उनी पनि सशस्त्र द्धन्द्धताकाकी नेतृको रुपमा हेरिन्न। बिना मगरको परिचय सकेसम्म प्रचण्डको बुहारीमै खुम्च्याउने प्रयास हुन्छ। उनी प्रचण्ड परिवारसँग जोडिनु अगाडि नै राजनीतिमा सक्रिय भइसकेको पक्ष ओझेलमा पारिन्छ।

सत्तामा रहेका पुरुष असफलहुँदा महिलाले अपजस पाउँछन्। फलाना त सोझो हो फलानीले बिगारी भन्ने सुनिनु सामान्य बनिसक्यो। 

त्यसैको प्रमाण हो कांग्रेस सभापति शेरबहादुर देउवा अनि उनको विश्वासपात्र मण्डलीको कच्चा विश्लेषणले सत्ता गुम्दा त्यसको अपजस एकल आरजु राणाले पाउनु।

सत्ता बाँडफाँडको बैठकमा निवर्तमान प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माधव नेपाल बसेर कुरा मिलाउन नसक्दा गीतको टुक्रा ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ राखेर आरजु र शेरबहादुरको भिडियो बन्नु त्यही राणाकालीन सोचकै निरन्तरताको प्रमाण हैन र?

सरकारी कामकाजमा देखिनु आरजुको चासो, सार्वजनिक मञ्चहरूमा उनले बोल्ने गैर राजनीतिक कुरा अनि सीमित व्यक्तिसँग मात्र निकट हुने उनको स्वभाव नभएको हैन। त्यसले देउवालाई कुनै न कुनै रुपमा राजनीतिक क्षती पूर्याएकै नै देखिन्छ। सरुवा-बढुवामा हस्तक्षेप गरेको सार्वजनिक भएकै विषय हुन्।

समानुपातिक कोटामा बसेर सांसद हुने उनको काम पक्कै स्वीकार्य पक्ष हैन। तर आरजुको एकल चाहनाले मात्र त यी सबै सम्भव भएको हो त?  

पुष्पकमल दाहाल पाँच दलीय गठबन्धन छाडेर एमालेसहितको सात दलीय गठबन्धनमा जानुमा गठबन्धनका दलहरूले प्रचण्डलाई बढी नै विश्वास गरेर वैकल्पिक रणनीति नबनाउनु कारण हो भन्ने स्वीकार गरिसकेको विषय हो नेताहरूले। देखिएको कारण पनि यही त हो।

तै पनि अझै 'आरजुले देउवालाई सत्ता छाड्न दिइनन्। अनि प्रचण्ड रिसाएर एमालेसँग मिल्न गए' भन्ने सन्देश जवर्जस्त स्थापित गर्न बौद्धिक वर्गबाटै भइरहेको प्रयत्नले उही राज्यलक्ष्मीकालिन सोचकै निरन्तरता हो भन्ने देखाउँदैन र?

भर्खरै सम्पन्न निर्वाचनमा सांसद सङ्ख्याले कांग्रेस संसद्को ठुलो दल हो। एमाले दोस्रो। कांग्रेस र एमालेबिच ११ सिटको अन्तर छ। माओवादी केन्द्र तेस्रो दल हो।

दोस्रो दलसँगको उसको सिटको दुरी ४६ सिट छ। पहिलोसँग छ ५७ सिटको अन्तर छ। तर सरकारको नेतृत्व गर्ने मौका उनैले पाए। यसमा प्रचण्ड कहाँ जान्छन् र भन्ने कांग्रेस नेताहरूको अल्प विश्लेषण अनि जुनसुकै सर्तमा पाँच दलको गठबन्धन भत्काउने ओलीको रणनीति अनि जसरी पनि तेस्रो पटक प्रधानमन्त्री हुने प्रचण्डको रहरले नयाँ राजनीतिक समीकरण बनेको प्रस्टै छ।

माओवादीसँग छलफल गरेका थिए ज्ञानेन्द्रबहादुर कार्की अनि प्रकाशशरण महतले। आरजु न सत्ता गठबन्धनको बैठकमा बसिन् न त कुनै दलका नेता फकाउन खटाएको खुलेको छ।

आरजु देउवामाथि हाबी देखिएकी नै हो। हाबी भएको पनि हो। तर पाँच दलीय गठबन्धनमै हाबी भएको त देखिएन। कांग्रेसको आन्तरिक राजनीतिमा समीकरण बनाउन र भत्काउन उनको सक्रियता देखिएकै हो। तर माओवादी वा एकीकृत समाजवादी वा अन्य दलभित्रको समीकरण मिलाउन वा भत्काउन उनी सक्रिय भएको खुल्यो र?

तै पनि अधिकांशले पाँच दलको गठबन्धन टुट्नुको कारक उनै आरजुलाई नै बनाए। सामाजिक सञ्जालमा देउवा दम्पतीको तस्बिरको ट्रोल बनाइयो। किन?

श्रीमान् देउवा पुन प्रधानमन्त्री बनुन् अनि बालुवाटारको शक्तिशाली परिसर छाड्न नपरोस् भन्ने श्रीमती देउवालाई पक्कै लागेको होला। तर उनलाई लागेको यही कारणले माओवादी रिसाएर एमालेसँग गठबन्धन गर्न गएको तर्कमा बल लगाउनु टाउकोमा चोट तर घुँडामा ओखती भने समान हैन र?

माओवादी केन्द्र गठबन्धन छाडेर एमालेसँग मिल्न जानुमा पहिलो कारण प्रधानमन्त्रीमा कुरा नमिल्नु देखिए पनि अन्तिम कारण पनि यही मात्र पक्कै हैन।

निर्वाचनअघि पाँच दलीय गठबन्धनको साझा एजेन्डा नहुनु, विचारलाई बेवास्ता गर्दै कार्यकर्तातहमा जबर्जस्ती मत ट्रान्सफर गराउन खोज्नु अनि प्रभाव र लोकप्रियताको आधारमा भन्दा जवर्जस्ती मत दिलाउन खोज्ने प्रवृत्तिले माओवादीले आँकलन गरे अनुसारको सिट जित्न सकेन।

अजेण्डा र पारदर्शिताका आधारमा भन्दा पनि बन्द कोठामा केही नेताको इच्छामा सत्ताको बाँडफाँड गरिनुको प्रभावले जसले जे वाचा गरेको दाबी गरियो उ सार्वजनिक रूपमा जबाफदेही हुनु परेन। यसले समेत गठबन्धनमा नकारात्मक प्रभाव पार्यो नै।

अबको तीन वर्षमा कांग्रेसको नेतृत्व परिवर्तन हुने पक्का हुनु अनि नेतृत्वमा पुग्न कस्सिएका शेखर-गगन समूहले बन्द कोठामा भएको गठबन्धनको सम्झौता दुई वर्षपछि कार्यान्वयन गर्न आफू जिम्मेवार नभएको सार्वजनिक अभिव्यक्ति दिँदा देउवाले आफूलाई असुरक्षित महसुस गरे।

गगनको यो अभिव्यक्तिले तत्काल प्रधानमन्त्री पद नपाए दुई वर्षपछि सत्ता आफ्नो नेतृत्वमा आउनेमा प्रचण्ड आश्वस्त हुन सकेनन्।

यी यावत् कारणले नै प्रचण्ड एमालेसँग सहकार्य गर्न गएको राजनीतिक दृश्य प्रस्ट हुँदाहुँदै देउवाकी श्रीमती आरजु राणालाई मूल खलनायकको रूपमा स्थापित गर्ने प्रयास हुनु उही पुरानै पुरुषवादी चिन्तनको निरन्तरता हैन?

आरजुका सार्वजनिक गतिविधिप्रति मेरो पनि असहमति छ। क्षेत्राधिकार भन्दा बाहिर गएर आरजुले सरकारी काममा हस्तक्षेप गरेको देखिएकै हो।

नियुत्तीमा राखेको चासोको सार्वजनिक आलोचना हुनु सामान्य हो। जो दृश्यमा देखिन्छ आलोचना हुने उसैको हो। तर कांग्रेसले सत्ता गुमाउनुको कारक एकल आरजुमात्र देख्नु राजनीतिक मात्रै हैन लैङ्गिक दृष्टि दोष समेत हो।

महिला हुन् या पुरुष सत्ताको चाहना सबैलाई हुन्छ। प्रचण्डमा सत्ताको चाहना भएजस्तै आरजुमा हुनु पनि अस्वाभाविक हैन। आरजु सांसद थिइन् नै। उनको पार्टीले पत्याए शेरबहादुर हैन उनी आफैँ पनि प्रधानमन्त्री बन्न सक्थिन्।

अचम्म के भने एकातिर देउवा कमजोरहुँदा सरकारदेखि पार्टीसम्म आरजु हाबी भइन् भनेर विश्लेषण पनि हुन्छ। अनि अर्कोतिर देउवाको अबको लक्ष्य आरजुलाई प्रधानमन्त्री बनाउने हो पनि भनिन्छ।

यो त पुरै विरोधभाषपूर्ण तर्क भएन र? यदि आरजु देउवाभन्दा शक्तिशाली हुन् भने उनले देउवालाई प्रधानमन्त्री बनाउन सक्षम छिन्। यदि उनी अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्षम छिन् भने आफैँ प्रधानमन्त्री बन्न नि सक्षम छिन्। यदि सरकार र पार्टीमा देउवा भन्दा आरजु शक्तिशाली हुन् भने प्रधानमन्त्री बन्न पनि उनी नै शक्तिशाली हुन्।

यदि देउवाले मात्र उनलाई प्रधानमन्त्री बनाउन सक्छन् भने आरजु हैन देउवा नै शक्तिशाली छन्। अब देउवा शक्तिशाली हो भने हस्तक्षेपको तर्क कसरी मिल्यो? यदि हस्तक्षेप सत्य हो भने प्रधानमन्त्री चैँ देउवाले मात्र बनाउन सक्ने तर्क कसरी मिल्यो?

व्यक्तिगत आंकाक्षाका लागि निर्वाचनमा एउटा दलको साथ लिने अनि सरकार बनाउन त्यसैलाई धोका दिएर अर्को दलको शरणमा गएर प्रधानमन्त्री बन्ने प्रचण्ड नायक अनि  आरजु कसरी खलनायक?

अस्थिर स्वभावका प्रचण्ड , मिलीजुली सरकार चलाउन अक्षम देउवा अनि जसले पनि हेप्छ भनेर कुण्ठा पालेर बस्ने माधवकुमार नेपाल गठबन्धन टुट्नुमा निर्दोष अनी आरजु कसरी दोषी?

कतिसम्म भने कांग्रेसको समानुपातिकतर्फको मत घट्नुको कारण आरजुलाई देखाइयो। प्रत्यक्षतर्फ मात्र केन्द्रित भएर गरिएको प्रचार, मतदातामा बढ्दो वितृष्णा अनि नयाँ दलका नेताका नक्कली कुरा पर्दाफास गर्न नसक्नुका परिणाम हैन त्यो?

यदि हो भने समानुपातिक मत घट्नुको एकल अपजसको स्वामित्व उनकै भागमा मात्र कसरी पर्छ?

सत्तामा पुग्ने इच्छा कसमा छैन? राजनीति गर्ने कुन नेताले प्रधानमन्त्री बन्न प्रयास गर्दैन? आरजु निर्वाचनमा प्रतिस्पर्धा गरेर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हैनन्?, कांग्रेस पार्टीको निर्णयबाट उनी समानुपातिकमा परेकी हैनन्?

यदि आरजुको नाम समानुपातिकमा रहेकैले सञ्जालहरूमा गरिएको दाबीझैँ 'त्यसकी श्रीमतीलाई सांसद बनाउन हामीले किन मत दिने' भनेर मतदाता बिच्कँदा पार्टीको समानुपातिक मत घटेको हो भने त्यसको दोष निर्णय प्रक्रियामै सहभागी नभएकी आरजुको हो कि सुचीमा सहमत हुने सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ अनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको पनि हो?

यसमा आरजु मात्र एकल भिलियन कसरी? अन्य पुरुष नेताले प्रधानमन्त्री हुने आकाङ्क्षा राखेर शक्ति बढाउनु स्वाभाविक अनि आरजुको त्यही आकाङ्क्षा कसरी अस्वाभाविक?, पुरुष नेता गुटको उम्मेदवार बनेर अगाडि बढ्नु स्वाभाविक अनि त्यही काम आरजुले गर्दा कसरी अस्वाभाविक?

त्यसैले कांग्रेसका हरेक जस पुरुषले लिने तर अपजसजति आरजु जस्ता महिलालाई बोकाउने सामाजिक सोचले हाम्रो समाज राज्यलक्ष्मीकै पालामा छ भन्दा फरक पर्ला र?

१४ पुस, २०७९, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।