मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ।

हाल विश्वका केही देशमा कोभिडको नयाँ भेरियन्ट बीएफ ७ देखापरेको छ। त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको त्रिविले जनाएको छ।

नेपालमा भने नयाँ भेरियन्ट पुष्टि भएको छैन। यद्यपि भारत र चीनमा नयाँ भेरियन्ट देखिएकाले नेपाल उच्च जोखिममा रहेको विज्ञले बताएका छन्।

१४ पुस, २०७९, २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।