बुटवल मेलामा खाद्य कार्यालयको अनौठो अनुगमन : चाखेर गुणस्तर मापन गर्ने प्रहरी, नष्ट गर्ने पत्रकार

बुटवल मेलामा खाद्य कार्यालयको अनौठो अनुगमन : चाखेर गुणस्तर मापन गर्ने प्रहरी, नष्ट गर्ने पत्रकार

बुटवल : खाद्य पदार्थ खानका लागि योग्य छ वा छैन भन्ने कसरी थाहा पाइन्छ? सामान्यतया कुनै प्रयोगशालामा लगेर परीक्षण गरेपछि मात्रै त्यसको गुणस्तरबारे थाहा हुन्छ र प्रयोग गर्न मिल्छ वा मिल्दैन भन्नेबारे एकीन गरिन्छ।

तर पुस ७ गतेदेखि बुटवलमा चलिरहेको मेलामा अनौठो दृश्य देखियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले त्यहाँ गरेको अनुगमनमा खाद्य पदार्थको परीक्षण साधारण तरिकाले भइरहेकाे थिएन।

टोलीले खाद्यपदार्थ चाखेकै भरमा गुणस्तर मापन गरिरहेको थियो। प्रहरी हवल्दार कुलचन्द्र पोखरेल थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको ल्याब। उनी रहेक खाद्यपसलका खानेकुरा चाख्थे अनि भन्थे गुणस्तर छ कि छैन।

पोखरेलले ‘ओके’ भने ठिक नभए त्यस्ता खाद्य सामग्री बरामद र नष्ट गरिथ्यो। मंगलबार साँझ अनुगमनका टोलीसँग मेलास्थल पुगेका पोखरेल मेलामा रहेको एक पसलमा गएर टोलीले जुस तयार पार्न लगाउँछन्।

तयार भएको जुस चाख्दै उनी भन्छन्– ‘ओके’। त्यसपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख बिमलकुमार दाहालले ‘ठिक छ’ भन्दै अनुगमनका लागि अर्को स्टल पुग्छन्।

प्रहरीले चाख्दै गुणस्तरको मापन गरेपछि व्यवसायी र अनुगमनमा खटिएका टोलीबीच केहीबेर भनाभनसमेत भयो।

यद्यपि अनुगमनमा अखाद्य तथा मापदण्ड विपरीतका पदार्थ प्रयोग गरी परिकार तयार पारिएको, उत्पादन मिति तथा उपभोग गर्न मिल्ने मिति लगायतका लेबल नलगाइएका बस्तुसमेत बिक्रिमा राखेपछि बरामद र नष्ट गरिएको दाहालले बताए।

लेवल स्पष्टसँग देखिने गरी नराखिएको तथा अचार लगायतका वस्तुहरू प्याकेजिङविना खुला रूपमा बिक्रि गरिएको भन्दै अनुगमन टोलीले कमजोरी देखाएको थियो। मेलामा राखिएको आइस कोला(गुलियो पानी)मा लेबल नभएको भन्दै मेलास्थल मै नष्ट गरिएको थियो।

अनुगमनको टोलीसँगै रहेका ‘आम नेपाल टिभी’का पत्रकार दिपेन्द्र ढकालले आफैँ आइस कोला नष्ट गरेपछि व्यवसायी झनै आक्रोशित भएका थिए। पत्रकारको काम समाचार सम्प्रेषण मात्रै गर्ने भन्दै उनीहरू नियमनकारी निकाय बनेको बताए।

‘पत्रकारको काम भएको देखाउने हो,’ व्यवसायी भन्छन्, ‘नियमन निकाय जस्तो खोज्दै हिँड्ने र आफैँ नष्ट गर्ने होइन, यो अधिकार कसले दियो।’

पत्रकारले नै जफत भएका खाद्य पदार्थ नष्ट गरेपछि रुपन्देही उद्योग संघका पदाधिकारीहरूले समेत यसबारे गुण नियन्त्रण कार्यालयसँग गुनासो गरेका थिए।

ईलाका प्रशासन कार्यालय बुटवलका केदारप्रसाद घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सवका प्रतिनिधि जिवकान्त काफ्ले लगायतको टोलीले मँगलबार मेलामा स्टलहरुको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख दाहालले आफूले २०÷२५ वर्षसम्म अनुगमनको काम गरेको अनुभवमा मेला स्थलमा पनि अनुगमन गरिएको बताए।

प्रयोगशाला परीक्षणविना नै चाखेको भरमा खाद्य र अखाद्य भनि छुट्याउँदै हिँडेका दाहालले आफूसँग २५ वर्षको अनुभव भएको दाबी गर्दै सोही अनुसार गरेको बताए।

मेला आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले मेलास्थलमा आयोजकको तर्फबाट पनि छुट्टै समिति गठन गरी अनुगमन भैरहेको जानकारी दिए ।

मेलास्थलमा केही स्टलहरूमा कमजोरी भेटिएको स्वीकार गर्दै उनले ती स्टलहरूलाई सचेत गराउने तथा अखाद्य वस्तुहरु भेटिए जफत गर्नेसम्मका काम भैरहेको दाबी गरे। मंगलबार खाद्यको टोलीको गरेको अनुगमनको प्रक्रियामा उनले सन्तुष्टि जनाए।

‘कमजोरीहरु भेटिएमा कारबाहीको पनि प्रक्रिया हुन्छ। सामान जफत गर्ने, सुधार्नका लागि चेतावनी दिने, जरिवाना गर्ने,’ पौडेलले भने, ‘यसरी प्रक्रियागत रूपमा भन्दा पनि व्यापार मेला नै असफल पार्नेगरी व्यवसायीहरूलाई आतंकित पार्नेगरी अनावश्यक टर्चर दिने काम भयो।’

१४ पुस, २०७९, १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।