तीन पुस्तादेखि पसल चलाउँदै आएका सरजु, अब भने आफ्नो कामको अस्तित्व सकिन लागेकोमा दुःखी छन्!

तीन पुस्तादेखि पसल चलाउँदै आएका सरजु, अब भने आफ्नो कामको अस्तित्व सकिन लागेकोमा दुःखी छन्!

सरजु ताम्राकार (५५); काष्टमण्डप नजिकै मरुमा आफ्नो साँघुरो पसलमा एकोहोरो काम गर्दै पहिलेको कुरा सम्झीरहन्छन्। उनले यस ठाउँमा व्यापार गर्न थालेको पनि ४० वर्ष कट्यो। यस बीचमा उनले आफ्नो बाजे, बा हुँदै माइलाबा र कान्छाबा सँगै आफ्ना दुइटा दाइहरूसँग बसेर पनि काम गर्न पाए। तीन पुस्तालाई धानेको व्यापार अहिले भने उनी भन्दा पछि आउने पुस्ताले नभेट्ने भएको कारण पनि सरजु आजकल केही सोचमा पर्ने गरेका हुन्। 

परिवारको अन्य सदस्यहरू यो व्यापारबाट टाढिए सँगै उनको पसल खोल्ने दिनचर्या पनि बदलिएको छ। ‘पहिला भए त बाजेको पालामा ६ बजे नै खुल्थ्यो। अब त पसल खोल्ने बेला सबैभन्दा लास्टमा म नै पर्याे,’ उनले हाँस्दै सुनाए, ‘काम गर्ने अरू कोहि छैन। सामान लिन गए पनि पसल थुनेर जानु पर्याे। एक्लै परेपछि चिया खान, ट्वाइलेट जान जहाँ गए पनि थुनेर जानुपर्छ।’ 

पसल नै उनले मात्र सम्हालेको भएर उनी आरामले खाना खाएर मात्र आउने रहेछन्। उनको बाजे ज्ञानपति ताम्राकारले मरुकै पुरानो एउटा घरबाट पसल सुरू गरेका थिए। पछि उनको बुबा देवरत्न र बुबा खलक हुँदै आफ्नो दाजुभाइ अनि आफूसम्म आइपुग्दा सबैले आआफ्नो व्यवस्थापन गर्न भ्याए।

प्रायः त सबै अमेरिकामा रमाउन पुगे रे। तर, उनी भने यसैमा अड्किरहे। अब आफूपछि कोही पनि यस व्यापारमा संलग्न नहुने भएपछि उनलाई केहि समय भए पनि आफ्नो पुर्ख्यौली पेशा बचाइराख्नु छ। 

भाँडा टाल्दा-टाल्दै स्टोभ टाल्न पुगे

त्यही भएर उनी आफ्नो पसलमा भएको विभिन्न नयाँ तथा पुरानो सामानहरूमा घेरिएर आफ्नो काम गरिरहन्छन्। मर्मत गर्न राखिएको केहि बिग्रेका सामानको थुप्रोमा उनको बाजेदेखि प्रयोग हुँदै आएको औजारहरु पनि उनले राखिरहेका छन्। बाजेको समयमा चुलो नै धेरैले प्रयोग गर्ने भएकोले त्यसबेला भाँडाकुँडा टाल्ने काम गरेको उनी सम्झिन्छन्। 

‘त्यस बेलामा हामीले खास काम गर्ने भनेको करुवा, गाग्री, कसौडीहरू बनाउने अनि मर्मत गर्ने हो।’ आफ्नो बाजेले गरेको काम सम्झिदै उनले भने, ‘त्यो बेलामा दुधको क्यान पनि आएको थिएन। अनि घ्यूको टिन हुन्छ नि, त्यसलाई बिगारेर दुधको क्यान बनाउने गर्नुहुन्थ्यो।’

टिनको क्यान, माना लगायतको सामानहरू बनाएर उनीहरूले मनग्य आम्दानी गर्न थाले। टाढाटाढाबाट उक्त सामानहरू किन्नको लागि मान्छे आउन थाले। ‘मरुमै पर्वतबाट आएकोहरूले त्यो क्यानमा दुध लिएर बेच्न आउँथे। चोकभरि मारामार नै हुन्थ्यो,’ गजक्क परेर उनले सुनाए। उनको बाजेको समयसम्म उनीहरू काठमाडौंमा डेरामै बस्थे रे। पछि बाजेले बिवाह गरेर उनको बाबा, काकाहरू जन्मिएपछि मात्र घर किनेको उनी सम्झन्छन्। 

सुरुमा मरुमा पसल राख्दा भने महिनामा जम्मा मो रु एक रुपैयाँ पचास पैसा भाडा तिर्नु परेको थियो रे। ‘मैले त पसल सार्दा त्यो कागज पनि भेटेको थिए। पछि हुँदा हुँदा हामीले पाँच/छ हजार सम्म तिर्न पर्याे। अहिले त यही पसलकै बिस हजार तिर्नुपर्छ,’ उनले हाँस्दै सुनाए।

पछि बिस्तारै बजारमा स्टोभहरू आउन थाले। स्टोभको मट्टीतेल हाल्ने ट्यांकी प्वाल पर्न थालेपछि उनको पसलमा त्यो टाल्न आउने ग्राहकहरू आउन थाले। ‘त्यही टाल्ने, बनाउने काम पनि हामीले गर्न पर्याे। अनि बिस्तारै फाट्टफुट्ट कूकर अनि ग्याँसहरु आउन थाल्यो।’

पहिलेको जस्तो व्यापार छैन!

उनले आफ्नो बुबासँग र दाइहरूसँग बसेर सबै काम जाने अनि गरे। ठुल्ठुला होटेलहरूले भ्यानभरि स्टोभ ल्याएर बनाउन दिएको अनि बनाएपछि एकै पटकका धेरै पैसा पाएको सम्झिदा उनी अहिले पनि मख्ख पर्ने गर्छन्। 

मल्ल होटेल, सिरेटन होटेलले तीन नम्बरको ठूलो पित्तलको स्टोभ प्रयोग गर्ने गरेको उनले बिर्सेका छैनन्। त्यसै समयमा हो रे उनले अबेर रातसम्म काम गरेको।

होटेलबाट त्यस समय एक दिनमै पाँच/छ हजार कमाइ हुन्थ्यो रे। त्यसपछि धेरै व्यापार हुने समय भनेको चाडपर्वको समयमा रहेछ। त्यति खेर पनि दिनमा दुइ/तीन हजार कमाइ हुन्थ्यो रे। पुरानो पसल भएको कारण नियमित ग्राहकसँगै उनले धेरै काम गरे। ‘अहिलेसम्म पनि उहाँहरू नै हो धेरै आउने। कहिलेकाहीं पसल बन्द हुँदा फोन गरेर समेत बोलाउनु हुन्छ।’

पछि बिस्तारै भाँडा टाल्ने भन्दा पनि ग्याँस र प्रेसर कूकर नै मर्मत गर्ने दिन आए। त्यस समयमा दाजुभाइ मिलेर ताहाचलमा घरसम्म बनाउन भ्याए। तर, पछि अंशबन्डा गर्दा घर भने ठूलो दाइको भागमा परेछ ।

अनि बजारमा लालटिनहरू पनि देखिन थाले। त्यस समय पनि अत्यधिक लालटिनहरू टाल्नु पर्ययाे उनले। सरजुको बाल्यकाल नै यतै बित्यो। त्यै भएर पनि मरुमा हुने गरेको र हुँदै आएको व्यापारको प्रत्यक्षदर्शी समेत हुन् उनी।

‘अहिले त धेरै परिवर्तन भैसक्यो। अहिले मान्छे मात्र प्याक छ। व्यापार छैन। किनभने वरपर पनि अहिले त धेरै पसल खुलिसक्यो। नत्र त हाम्रो पसलमा धादिङबाट समेत हुक्का, कसौंडी टाल्न आउँथे हिडेर नै। एक महिनापछि आउँछु है भनेर छोडेर जान्थे। अनि हामी तयार पारेर राख्थ्यौं,’ उनले एकै श्वासमा भने।  

मरुको रौनक कहाँ गयो?

‘त्यो बेलाको कुरै अलग’ भन्दै मरु टोलको पुरानो स्वरुपलाई धेरै सम्झना गरिरहन्छन् उनी। ‘सबै पुरानो- पुरानो डिजाइनको थियो। अहिले पुरानो डिजाइनमा बनाए पनि पहिले को जस्तो छाप चाहिं छैन। लोकल भन्ने नै छैन  पसल र व्यापारी पनि छैन,’ उनले भने।

सिंह सत्तल र काष्टमण्डप अगाडीको चहलपहल सम्झिदा उनी अहिलेको ठाउँ त्यो नै होइन कि जस्तो लाग्ने गरेको बताउँछन्। किनभने पहिला यहाँ जो मान्छे आए पनि केही न केही किनेरै लान्थे रे। अहिले भने सबैजना हेर्न मात्र आउने गर्छन् रे।

बिस्तारै मरुबाट पसल र व्यापारी आफै हट्दै गए। ‘अहिले अलि अलि भएकोहरूलाई पनि हटाउँदै लगे। भन्नै पर्दा मरुको शोभा नै छैन। नत्र यो त व्यापारको लागि केन्द्र नै हो नि! अब त हुँदा हुँदा महानगरले यहाँ सिक्री पनि लगाउने भनेको छ। अनि त्यसपछि त सबै खाली नै हुन्छ होला,’ उनले गुनासो सुनाए।

सरजुले ‘आइकमकाे पहिलाे वर्ष’ सम्म मात्र पढेका छन्। पछि यही कामले गर्दा पढ्न पाएनन्। अनि अहिलेसम्म पनि यो कामबाट भने टाढा हुन सकेका छैनन्। ‘तीन पुस्तालाई  भ्याईनभ्याई भयो। अब म एउटालाई पनि थामिरहेको छ। अनि मैले पनि यसलाई थामिरहेको छु।’,  उनले हाँस्दै भने, ‘अब म नै लास्ट हो। त्यसपछि न यसले हाम्रो आगामी पुस्तालाई थाम्छ, न हाम्रो आगामी पुस्ताले यसलाई बचाउन सक्छ।’

म भएसम्म यसैमा जिन्दगी बिताउने। पछि अब छोरीहरू विदेश गएर बोलाए भने त्यति खेर हेरौं के हुन्छ

उनको जस्तो पसल र व्यापारी पनि अर्को ठाउँमा धेरै भए पनि अरू सबै बन्द भैसके। सबैले हटाइसके। ‘अब यही लास्ट हो। त्यो पनि मैले गरे सम्म नत्र भने छैन!’ समय बित्यो, मरुको घरहरू परिवर्तन भए। ‘व्यापारीक स्थल पर्यटकीय स्थल’ मा परिणत भयो तर, सरजुको आम्दानीमा भने कुनै परिवर्तन आएन। ‘त्यो बेलामा दिनमा चार हजार जति त हुन्थ्यो। अहिले पनि आउने त्यति नै हो। तर, पहिलाको पैसाले धेरै थोक पुग्थ्यो। अहिलेको, अहिले त खान र लाउनमै सीमित हुन्छ।’

स्टोभको क्रेज

उनले धेरै प्रकारका स्टोभ मर्मत गरिसके। ‘पहिला दम दिने स्टोभ आउनुभन्दा अगाडी धागोवाला स्टोभ आउथ्यो के। धागो एउटा एउटा राख्ने हुन्थ्यो। १०/१२ वटा धागो हुन्थ्यो। अनि धागो स्टोभको तल मट्टीतेल राखेर त्यो धागो बल्नुपर्थ्यो।’ पछि त्यही एडभान्स् हुँदाहुँदै दम दिने स्टोभ आएको उनले बताए।

त्यसमा पनि बिस्तारै फलाम अनि पितलको स्टोभ आउन थाले। ‘फोल्डिंग स्टोभ’, जुन धेरै जस्तो ट्रेकिङ्ग जानेहरूले बोक्थे। त्यो पनि उनले बनाएका छन्। ‘सुरुमा त पितलको स्टोभ भन्ने बित्तिकै जर्मनबाट ल्याएको हुन्थ्यो। त्यो महँगो पनि हुन्थ्यो। पछि बिस्तारै इन्डियनहरूले त्यस्तै डिजाइनमा प्रभात स्टोभ भनेर निकाले।’ 

तिनीहरू नै हो रे धेरै पुरानो स्टोभहरू। पछि बिस्तारै सबै नेपालीले स्टोभ राख्न थाले। अनि उनको पसलमा ग्राहकहरू पनि बढ्न थाले। केहि समय त नयाँ स्टोभहरू पनि बेच्न राखे। तर,अहिले भने सबै मर्मत मात्र गर्ने गर्छन् उनी।

तीन पुस्तालाई धानेको काम सधैँका लागि बन्द हुँदै

आफ्नो कामलाई सरजु अलि खतरनाक पनि मान्ने गर्छन्। उनी भन्छन्,‘अलिकति दिमाग लगाएन भने जे पनि हुन सक्छ। ग्याँस जस्तो चिज। सामान बनाउन पनि धेरै समय लाग्छ। केही मिस्टेक भयो भने फेरी दुर्घटना हुन सक्छ।’ कामको लागि प्रयोग हुने सबै औजारहरू उनको पसलमा पुरानै छ। केही खिया लाग्न लाग्या हो कि जस्तो भए पनि बाजेको चिनो भन्दै उनले सबै सम्हालेर राखेका छन्।

त्यस्तै दशकौं अगाडिको स्टोभहरू पनि उनले राखिरहेका छन्। त्यो चाहिं सेकेन्ड ह्याण्डमा बेच्ने रे। ‘त्यो पनि लिन आउँछन्। आजकल फेरि कस्तो छ भने कोही त पुरानो मात्र लिन आउँछन्। त्यसलाई शोपिस बनाएर रख्ने रहेछ। लालटिनहरू धेरै लग्ने गरेका छन्।’

उनको घरमा अहिले दुई जना छोरीसहित श्रीमती छन्। ३८ वर्षको हुँदा विवाह गरेका उनको पहिले त बिहे गर्ने सोच थिएन रे। पछि घरमा दवाब भएपछि भने मागी विवाह गरे। आफ्नो जिन्दगी नै यही काममा समर्पित गरेका उनलाई अरू कामको बारेमा सोच्ने मौका पनि भएन।

‘म भएसम्म यसैमा जिन्दगी बिताउने। पछि अब छोरीहरू विदेश गएर बोलाए भने त्यति खेर हेरौं के हुन्छ,’ उनले हाँस्दै सकेसम्म यही काम गर्ने सुनाए।

सिप एउटा जान्यो भने धेरै राम्रो हुने रहेछ भन्छन् उनी। ‘बाजेले गर्दा हामीले यति गर्न पायाैं। हुँदा हुँदा बाजेले गर्न नपाएको कामहरू पनि गर्न पायाैं। बाजेले आफ्नो तीन पुस्तालाई एउटा गरि खाने सिप छोडेर गए।’

११ पुस, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।