प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री, अर्थ एमालेलाई

प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री, अर्थ एमालेलाई

काठमाडौँ : काँग्रेससहितको गठबन्धन तोडेर सात दलको नयाँ गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित आजबाट काम सुरु गर्ने भएका छन्।

सत्ता साझेदारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी नहुने भएको छ। अन्य पाँच दलमा माओवादीको प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एमालेबाट उपप्रधान तथा अर्थसहित विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने पक्का भएको छ।

लामिछानेले गृह मन्त्रालय दाबी गरेकाले श्रेष्ठको मन्त्रालय टुङ्गो लागेको छैन। रविले गृह पाए श्रेष्ठ परराष्ट्र मन्त्री हुनेछन्।

सत्ता घटक जनमत पार्टीले उद्योग मन्त्रालय लिएर सरकारमा जाने भएको छ। जनमत पार्टीबाट पार्टीका उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने पक्का भएको छ। एमालेले आजै सरकारमा अन्य ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्रीको रूपमा सरकारमा सहभागी गराउने भएको छ।

प्रचण्डलाई प्रधानमन्त्रीमा प्रभु साहसहितका केही स्वतन्त्र सांसदहरूले पनि समर्थन गरेका थिए। उनीहरूमध्ये कोही मन्त्री बन्छन् या बन्दैनन् एकिन भएको छैन।

११ पुस, २०७९, १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।