तारकेश्वरवासीले निःशुल्क रक्त सेवा पाउने

तारकेश्वरवासीले निःशुल्क रक्त सेवा पाउने

काठमाडौं: तारकेश्वर नगरपालिकाका बासिन्दाले रगतको परीक्षण तथा रक्तथैली शुल्क तिर्न नपर्ने भएको छ। काठमाडौं उपत्यकामा स्थानीय बासिन्दालाई निःशुल्क रगत सेवा उपलब्ध गराउने नगरपालिकाको अभियानमा तारकेश्वर पनि थपिएको छ।

यही पुस ८ गतेदेखि लागू हुने गरी तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थलीमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा तारकेश्वर नगरपालिकाको तर्फबाट जनस्वास्थ्य अधिकृत विनोदकुमार शाह र शम्भु पौडेल, नेपाल रेडक्रस सोसाइटीका जनसम्पर्क अधिकृत रामबहादुर श्रेष्ठ र लेखा अधिकृत शम्भु निरौलाले पनि हस्ताक्षर गरेका थिए। नगरपालिकाले बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्त सञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने उद्देश्यले सो सम्झौता गरिएको तारकेश्वर नगर पालिकाका प्रमुख महर्जनले जानकारी दिए।

नगरपालिकाको स्थायी बासिन्दा भएको वा नगरपालिकामा कार्यरत कर्मचारी भएको प्रमाणित हुने कुनै किसिमको सरकारी कागजात (नागरिकता, मतदाता परिचयपत्र ई)को प्रतिलिपिको आधारमा केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

साथै दुर्घटनाजन्य अवस्थामा अत्यावश्यक भएमा नगरपालिकाको सिफारिसमा उनीहरुले सेवा पाउने छन्।

१० पुस, २०७९, ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।