अभिभावकको माया नपाएर बिग्रेका बालबालिकालाई सुधार्न सिकाउने पुस्तक- 'कोही किन बरबाद होस्'

अभिभावकको माया नपाएर बिग्रेका बालबालिकालाई सुधार्न सिकाउने पुस्तक- 'कोही किन बरबाद होस्'

लेखक विजय मल्लको 'कोही किन बरबाद होस्' पुस्तक २०औँ संस्करणसम्म छापिएको छ। जम्मा ४२ पेजको पुस्तकको मूल्य पनि ७० रुपैयाँ मात्र छ। 

मूल्य र आकार थोरै भएर पनि ठूलो भाव बोकेको यस पुस्तकको जति प्रशंसा गरे पनि कमै हुन्छ।

विसं २०१५ सालमा विजय मल्लले लेखेका साहित्यको नाटक विधाअन्तर्गतको यस पुस्तकले बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभावमा अभिभावकको भूमिका देखाइएको छ।

के छ पुस्तकमा?

पुस्तकमा एउटा बालक (ध्रुव)को कथा छ। ऊ बदमास छ।

उसले कहिले साथीहरूलाई पिट्छ त कहिले कम्पासले घोचिदिन्छ। यसैक्रममा त्यो बालक पढ्ने स्कूलका प्रिन्सिपल सुन्दरले बालकले बदमासी गरेको कारण पत्ता लगाउन थाल्छन्।

कारण खोज्दै जाँदा थाहा हुन्छ- बालककी आमा पोइला गएकी हुन्छिन्। 

यही कुराको मनोवैज्ञानिक असर बालकमा परेको हुन्छ। उसले आफूसँगैका अरू साथीहरूलाई उनीहरूको आमासँग खेलिरहेको देख्छ। ती सबैको अभावमा उसले विद्यालयमा नचाहिँदो हर्कत गरिरहेको हुन्छ।

यी सबै मूल्याङ्कन गरेपछि ती प्रिन्सिपलले एक शिक्षिका (कमला)लाई त्यो बालकको आमा बन्न अनुरोध गर्छन्। त्यो बालकलाई नक्कली आमा बनेर माया गर्नुपर्ने बताउँछन्। तर कमला मान्दिनन्। 

विस्तारै सबै कुरा थाहा पाएपछि कमला राजी हुन्छिन् र त्यो बालकले आमाको माया पाउन थाल्छ।

०००
पुस्तक पढ्दै गर्दा बेलाबेला मुस्कुराउन मन लाग्छ। बेलाबेला रुन मन लाग्छ। विषय सानो छ तर महत्त्वपूर्ण पनि छ।

आमाको मायापछि त्यो बालक सुध्रिन्छ र उसले राम्रो पढ्न थाल्छ। उक्त विद्यालयकी शिक्षिका कमलाले आमाको ममता दिएर ध्रुवजस्ता बदमासलाई सुधार्ने आदर्श शिक्षिका मात्र नभएर एक कुशल आमा पनि हुन्छिन्।

वर्षहरू बित्दै गएपछि ध्रुवले एसएलसी पास गर्दा होस्टेल र स्कुल छाड्नुपर्ने हुन्छ। त्यो बेला कमला ध्रुवसँगको वात्सल्यताले पग्लिन्छिन्। उनले ध्रुवलाई सत्य भन्न बाध्य हुन्छिन्। 

त्यति नै बेला आफ्नो छोरालाई लिन ध्रुवका बा आइपुग्छन्।

उनले ती शिक्षिकालाई धन्यवाद भन्दै भन्छन्, 'तिमीले मेरो छोरोलाई उद्धार गरेर मान्छे बनायौ, बरालिएको थियो, त्यसलाई सही बाटोमा ल्यायौ। के हामीसँगै जीवन बिताउन सक्छौँ?’

पैसा र सम्पत्ति छ भन्दैमा ठूला आवासीय स्कुलमा छोराछोरी राखेर ढुक्कसित रमाउने अभिभावकहरू पनि यो पुस्तक पढेपछि झस्किने छन्। आमाबुवाको व्यक्तिगत मनमुटाव र झगडाका कारण सन्तानले पाउनुपर्ने नैसर्गिक मायाबाट हाम्रो समाजमा उनीहरू कसरी वञ्चित भएका छन्, उनीहरूलाई त्यसमा कसरी साथ दिने भन्ने पाठ सिकाउन पनि यो पुस्तकले महत्त्वपूर्ण भूमिका खेलेको छ।

शिक्षिकाले ढिला भयो भन्छिन्। पुस्तकले भनेअनुसार उनलाई विहे गर्न माग्न आएको मान्छे पनि हुन्छ। ध्रुवकै कारण उनले विहे गर्दिनन्। ध्रुवलाई सबै कुरा भनिसकेपछि उनका पिताले यो प्रस्ताव राखेको हुँदा पनि उनले ढिला भयो भनेको बुझ्न सकिन्छ।

किन महत्वपूर्ण छ यो पुस्तक

अभिभावकको माया नपाएर बच्चाहरू कसरी बिग्रन्छन्, कस्तो व्यवहार गर्दा उनीहरूलाई राम्रो बाटोमा ल्याउन सकिन्छ, भन्ने राम्रो पाठ सिकाउन सफल छ यो पुस्तक। 

पुस्तकले अहिलेको व्यापारिक शैक्षिक संघसंस्थामाथि राम्रै व्यङ्ग गरेको छ।

आजभोलिका बालबालिका आमाबुवाको मायाबाट एकदमै टाढा हुन्छन्, उनीहरू एकोहोरो हुन्छन्। सानो कुरामा रिसाउने झर्कने स्वभाव उनीहरूको हुन्छ। 

अझ कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई होस्टेलमा राखिदिएका हुन्छन्। यस्तोमा तिनले प्रेम त पाउलान्, सेवा सुविधा त पाउलान्, तर बा आमाको माया कहिल्यै पाउन सक्दैनन् भन्ने अर्थमा यो पुस्तक महत्त्वपूर्ण छ।

पैसा र सम्पत्ति छ भन्दैमा ठूला आवासीय स्कुलमा छोराछोरी राखेर ढुक्कसित रमाउने अभिभावकहरू पनि यो पुस्तक पढेपछि झस्किने छन्। आमाबुवाको व्यक्तिगत मनमुटाव र झगडाका कारण सन्तानले पाउनुपर्ने नैसर्गिक मायाबाट हाम्रो समाजमा उनीहरू कसरी वञ्चित भएका छन्, उनीहरूलाई त्यसमा कसरी साथ दिने भन्ने पाठ सिकाउन पनि यो पुस्तकले महत्त्वपूर्ण भूमिका खेलेको छ।

किन ओझेलमा परेका छन् यस्ता पुस्तक र लेखक?

नेपाली साहित्य पहिले जस्तो थियो अहिले त्यस्तो छैन। पहिले थोरै लेखक हुन्थे भने अहिले लेखक धेरै छन्। बजारमा पुस्तक जस्ता पनि भेटिन्छन्। पुस्तक धेरै हुन् कि लेखक धेरै हुन्। 

अहिले पाठकलाई कुन पुस्तक पढ्ने? मेरो लागि कुन पुस्तक उपयोगी छ भन्ने छुट्याउन मुस्किल छ।

यसै सन्दर्भका लेखक खगेन्द्र सङ्ग्रौला भन्छन्- साहित्यमा के-कति कारणले यस्तो हुन्छ भनेर म जान्दिनँ, कतिपय लेखकहरूको अधिमूल्यन हुँदो रहेछ त कतिको अवमूल्यन हुँदो रहेछ। गोपालप्रसाद रिमाल महान् लेखक हुन्, कविको रूपमा र नाटककारको रूपमा पनि। चिन्तकको रूपमा पनि। तर, रिमालको यतिबिघ्न प्रशंसा भयो, विजय मल्ल छायामा परे। नेपाली साहित्यमा रिमालको जति गहिरो छाप छ, जति ठूलो योगदान छ, मल्लको छाप र योगदान त्योभन्दा कमजोर मलाई लाग्दैन। 

हामीकहाँ साहित्यको विभिन्न काल भनेर छुट्याइयो । त्यसरी काल छुट्याउँदा कालका मानकहरू निर्माण गर्दा खास-खास व्यक्तिलाई मानकका रूपमा उभ्याइने क्रममा तिनका नजिकका अरू लेखकहरू ओझेल परेका हुन् कि? 

विजय मल्लको ‘अनुराधा’ त्यो समयमा धेरै चर्चा भएको उपन्यास हो। उनको ‘बहुला काजीको सपना’ नाटकको पनि धेरै चर्चा भएको हो। 

‘अन्तिम भोज’ भन्ने कथा पनि भव्य छ। अहिले उनको नाम कहीँ पनि छैन। नेपाली साहित्यका गम्भीर अध्येता र नवप्रवेशी पाठकहरू जोसुकैलाई सोध्दा उनको नाम कसैले पनि लिँदैन। हामीकहाँ कुनै पनि कुरामा केही गन्यमान्य भनिएका मान्छेले भनिदिएपछि मात्र आँखा चिम्लिएर पछि लाग्ने चलन छ। 

यस्तै आवेग, आग्रह र रुढीका शिकार मल्ल भएका हुन् कि? थाहा छैन। तर, उनी मेरो लागि प्रिय लेखक हुन्।