वीरगञ्ज महानगरले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ हजारको स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ हजारको स्वास्थ्य परीक्षण

काठमाडौं: वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’अन्तर्गत नौ वडाका झण्डै नौ हजार जनाको स्वास्थ्य परीक्षण भएको छ। नगरबासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधि समेत वितरण हुँदै आएको छ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए।

गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ। यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ।

शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरूको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यहीँ उपलब्ध हुँदै आएको छ।

वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको थियो। आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए।

अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन्।

९ पुस, २०७९, ०७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।