कारागारदेखि एयरपोर्टसम्म पछ्याउँदा पनि चार्ल्सलाई भेट्न पाएनन् निहिता र शकुन्तलाले (फोटोफिचर)

कारागारदेखि एयरपोर्टसम्म पछ्याउँदा पनि चार्ल्सलाई भेट्न पाएनन् निहिता र शकुन्तलाले (फोटोफिचर)

काठमाडौं : कुख्यात सिरियल किलर चार्ल्स शोभराज रिहा हुने खबरसँगै  केन्द्रीय कारागार सुन्धारामा धाउनेमध्ये थिए शकुन्तला थापा र उनकी छोरी निहिता विश्वास।

बुधबार सर्वोच्च अदालतले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार शोभराजको ७० प्रतिशत सजाय माफ गर्दै रिहा गर्न आदेश दिएको थियो।

आदेशपछि निहिता र शकुन्तला शोभराज छुट्ने आशमा केन्द्रीय कारागार पुगे। शुक्रबार उनीहरू केन्द्रीय कारागारमा शोभराजलाई भेट्न पाएनन्।

पछिल्लो समय शोभराजको मुद्दा अधिवक्ता गोपाल शिवाकोटीले हेरिरहेका थिए। उनी केन्द्रीय कारागारका जेलरमार्फत शिवाकोटीसँग नियमित कानुनी परामर्शमा थिए।

जेलबाट शुक्रबार रिहा हुनुअघि र रिहा भएर अध्यागमनमा पुग्दा पनि शोभराजले नियमित भेट र छलफल गरेका एक व्यक्ति थिए शिवाकोटी।

तर, शोभराज जेलमै हुँदा प्रेमिकाका रूपमा चर्चित नेपाली युवती निहिता विश्वासका लागि शुक्रबारको दिन एक किसिमको सरप्राइज नै भयो। शोभराजले उनीसँग भेट्नसमेत मानेनन्।

शुक्रबार १२ बजेतिर चार्ल्स बाक्लो सुरक्षा घेरामा केन्द्रीय कारागारबाट निकालियो र सिधै अध्यागमन विभागमा पुर्याइयो। अध्यागमनमा चार्ल्स पुगेपछि उनका कानुनी सहयोगी र अन्य पर्यटकहरूलाई समेत ‘सुरक्षाको कारण’ भन्दै प्रवेश गर्न दिइएन।

अध्यागमनमा उनलाई राख्ने छुट्टै हिरासत कक्षको अभाव भएकाले बिहीबार उनलाई नलगेको खुलेको थियो। उनलाई राख्ने स्थान तयार भएपछि शुक्रबार उनलाई कालिकास्थानमा रहेको विभागको कार्यालयमा पुर्याएपछि सिधै डिपोर्ट गर्ने प्रक्रिया सुरू भयो।

उनलाई फ्रान्स पठाउन सिमल ट्राभल्सबाट कतारको दोहा ट्रान्जिट पारेर फ्रान्स जाने गरी सिमल ट्राभल्सको टिकट काटियो। रिपोर्टको प्रक्रिया पूरा भएपछि नेपालस्थित फ्रान्सेली दूतावासले उनको नाममा ट्राभल्स डकुमेन्ट बनायो।

कतार एयरको उडान समयभन्दा १० मिनेट अगाडि मात्रै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएर उनलाई विमानस्थल पुर्याएर सिधै प्लेनमा चढाएको थियो। अध्यागमन कार्यालयबाट उनलाई निकाल्दा कुन गाडीमा राखेको हो त्यो समेत भेउ नपाउने गरी राखिएको थियो।

कारागारबाट अध्यागमन र अध्यागमनबाट विमानस्थलसम्म पछ्याउँदा पनि शकुन्तला र निहिताले चार्ल्सलाई भेट्न पाइनन्।

८ पुस, २०७९, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।