चञ्चले युविका जसले बुङमतीलाई कुमारीविहीन बन्न दिइनन्

चञ्चले युविका जसले बुङमतीलाई कुमारीविहीन बन्न दिइनन्
तस्बिर : कृष्पा श्रेष्ठ

ललितपुर : बुंगमतीको कुमारी घर पुग्दा बिहानको साढे सात भइसकेको थियो। कुमारी युविका ओच्छ्यानमै थिइन्। अल्छी लागेर उनी ओच्छ्यानमै पल्टिएकी भने हैनन्। उनी उकेराकर्मीको प्रतीक्षामा थिइन्।

जीवित देवी कुमारी भन्ने बित्तिकै अधिकांशले काठमाडौँ वसन्तपुरमा रहेको कुमारी घरमा बस्ने कुमारी मात्र सम्झन्छन्। तर काठमाडौँ उपत्यकामा अन्य स्थानमा पनि कुमारी हुन्छन्। पाटनमा पनि छिन् कुमारी। कुमारीको एक दिन पछ्याउने योजना भएकाले पहिल्यै कुमारीका बुबा युकेश बज्राचार्यलाई हामीले आग्रह गरेका थियौँ' बिहानै आउँछौँ है।'

उनको दैनिकी देखाउन भनेर कुमारीलाई सुतेको ठाउँबाट उठाइएको थिएन हाम्रै लागी।

कुमारीको कोठामा पुग्दा प्राय सामान रातो रङका थिए। सोफा, कार्पेटदेखि ओढ्ने ओछ्याउने सबै रातै। त्यही रातो रङले ढाकिएको ओछ्यानमा उनी पनि रातै पोसाकमा थिइन्। हामी पुग्दा उनी मोबाइल चलाइरहेकी थिइन्।

हातका नङमा पनि रातै पालिस थियो।  कतिसम्म भने मोबाइलको कभरसमेत रातै। यसरी जताततै रातो हुनु उनको रहर हैन। परम्परा नै यस्तै। कुमारी भनेकै रातो रङ। त्यसैले जे-जे प्रयोग गर्ने हो सबै रातै।

वसन्तपुरको पनि कुमारी अनि पाटनको पनि कुमारी। वसन्तपुरको कुमारी परिवारबाट मात्रै हैन समाजबाट समेत टाढिएर बस्नुपर्छ। साथीभाइसँग खेल्न पाइँदैन, विशेष अवसर बाहेक कुमारी घरबाट निस्कन पाइँदैन।

पाटनको कुमारी पनि घरबाट बाहिर सक्दिनन्। बुंगमतीकी कुमारी भने परिवारसँगै बस्छिन्। विद्यालय जान्छिन्,। अनि साथीभाइसँग पनि खेलिन्छन् र नाच्छिन्।

हामी पुगेपछि उनलाई आमा बिनु बज्राचार्यले ओछ्यानबाट उठाइन्। उनी मुसुक्क हाँसेर हामीलाई हेर्दै उठिन्।

युविका कुमारी भएको धेरै भएको छैन। उनी गएको भदौदेखि हो कुमारी भएको। त्यसैले उनमा छिट्टो छिट्टो मुड स्वीङ हुने गरेको उनकी आमाले बताइन्। त्यसैले हुनसक्छ, उकेराकर्मी उनको घरमा पुग्दा कुमारी निकै चिडचिडे बनेकी थिइन्।

पूजा गर्नेक्रममा पनि उनको रिस थामिएको थिएन। उनकी हजुरआमाले भनिन्'कहिलेकाहीँ धेरै रिसाउनुहुन्छ। कहिले बिहान उठ्ने बित्तिकै विभिन्न खानेकुरा खान मन लाग्यो भन्नुहुन्छ।'

उनले जे भन्यो, त्यो पुर्याइदिनै पर्छ। उनले बुबाको कानैमा मुख लगेर क्याटवरी चकलेट मागिन्। माग तुरुन्तै पुरा भयो। घरमा पाकेको भन्दा पसलका अन्य खानेकुरा खाएकाले खाना खाने समयमा आमा बिनुलाई निकै सास्ती पर्यो। अन्य बालबालिका जस्तै उनी पनि हातमा मोबाइल नभए खाना नखाने रहिछन्।

कुमारीकी आमाले उकेराकर्मीतिर हेर्दै भनिन्,' कहिलेकाहीँ त खाना खानै मान्नुहुन्न। उहाँले नखाई हामी कसैले खान मिल्दैन। त्यस्तो समयमा भाग छुट्टाएर खाने गरेका छौँ।'

अब विद्यालय जाने भएपछि होमवर्क पनि भइहाल्छ। तर कुमारीलाई होमवर्क गराउन निकै गाह्रो हुने रहेछ। पढाइमा चाख छ उनमा। लेख्दा अक्षर गजबको राम्रो बनाएर लेख्ने बानी रहेछ। तर बाबा नभई होमवर्क नगर्ने।

बल्ल बल्ल खाना खाएर उनी रातो कपडामा सजिइन। अनि विद्यालय जान तयार भइन्। उनलाई विद्यालय जान भने खुब मन पर्ने। घर नजिकैको विद्यालयमा एलकेजीमा पढ्ने युविकासँगै हामी पनि उनको विद्यालयमा पुग्यौँ। विद्यालयभित्र प्रवेश गर्दा उनी निकै रमाइन्। साथीभाइ भेटे लगत्तै खेल्न थालिन्। नाचिन् अनि खुलेर हाँसिन्।

उनलाई आमा बिनुले विद्यालयको गेटसम्म पुर्याएकी थिइन्। गेटमा विद्यार्थी भाइ बहिनीलाई स्वागत गर्न बसेका थिए शिक्षिका। उनले अरूलाई नमस्कार पनि गर्न नहुने अनि अरूले नमस्कार गरे फर्काउन पनि नहुने।

त्यसैले सबै गुरुआमालाई गुड मर्निङ भनिन् उनले। आमालाई बाई समेत नगरी कक्षा कोठाभित्र छिरिन्।

घरमा भगवान् बनेकी उनी विद्यालयमा सामान्य विद्यार्थी बनिन्। जुत्ता खोलिन् अनि अन्य साथीहरूले जस्तै र्याकमा मिलाएर राखिन्। साथीहरूले युविका कुमारी बनेर आयो भन्दै जिस्काउँदा उनी मुसुक्क हाँसिन् र लजाइन्।

अन्य साथीहरूसँग मिलेर डेस्क मिलाइन्, छरिएका किताब र कापी मिलाएर कक्षाकोठा सफा गरिन्। घरमा भगवान् बनेकी उनी, विद्यालय पुग्ने बित्तिकै उमेर अनुसारको चन्चले बच्चामा परिणत भइन्।

युविकाको मन पर्ने पार्ट, एसेम्ली रहेछ। शिक्षिकाले एसेम्लीको समय भयो भन्ने बित्तिकै उनको अनुहारमा थप चमक आयो। उनी खुसीले दौडँदै एसेम्लीमा पुगिन्। त्यहाँ गीत गाइन्, साथीभाइसँग कम्मर मर्काएर नाचिन्।

विद्यालयमा विभिन्न खेल खेल्दै, नाच्दै गाउँदै पढिन्। बिचमा एक छिन ब्रेक भयो। साथीभाइसँगै खाजा खाइन्। अन्डा र चिकेन उनको खानामा पर्नु हुँदैन। त्यसैले विद्यालयले पनि उनको खानेकुरामा विशेष ध्यान दिने गरेको रहेछ। सकेसम्म अन्य साथीहरूको जुठो नपरोस् भन्नेमा विद्यालयका कर्मचारी सजग देखिए।

तीन बजेतिर, अन्य साथी र शिक्षिकासँग बिदा भइन् युविका। गेटमा अन्य साथीहरूको आमासँगै आफ्नी आमालाई देखेर मुस्काइन् अनि घरतिर लागिन्।

युविकालाई आमाको धेरै याद आउने रहेछ। उनको मनमा सबैभन्दा ठुलो डर नै आमाले छाडेर जाने हो कि भन्ने परेको रहेछ। घरमा धेरै झगडा गरे आमाले'छाडेर गैदिन्छु' भन्छिन्। अनि युविका चुप लाग्छिन्।

घर पुगेपछि खाजा खाइन् अनि  होमवर्कतिर लागिन्। त्यसपछि पालो मोबाइलको।

विशेष पूजा नभएको दिन सामान्य आरती गरेपछि उनको दिन सकिन्छ। सूर्य उदयसँगै अर्को दिन सुरु हुन्छ। युविकाको दैनिकी फेरि यस्तै गरी दोहोरिन्छ।

पूजा भएको दिन भने बिहानैदेखि उनी व्यस्त हुन्छिन्। विद्यालय समेत छुट्छ त्यो दिन। घरमा बसे पूजा गर्नुपर्छ भनेर होला उनी विशेष पूजाको दिन पनि विद्यालय जान्छु भनेर कर गर्छिन्। तर परम्पराले त्यो अनुमति दिँदैन।

बन्धुत्व बज्राचार्यमा दाँत नझरेका छोरी मात्रै कुमारी बन्न पाउने परम्परा छ। युविका भन्दा अघि एकै घरका दिदी र बहिनी पालैपालो कुमारी बनेका थिए। बुङमतीमा छोरी नजन्मँदा कुमारी नै नहुने पिरलोमा थिए बुङमतीवासी। उनको जन्मसँगै कुमारीको पनि जन्म भयो।

रातो मछिन्द्रनाथ अनि बुङमतीमै रहेको मनकामना माइको पूजामा उनको विशेष भूमिका हुन्छ।

अब दुधे दाँत नझरुन्जेल उनी बुंगमतीको कुमारी हुनेछिन्। दाँत झरेपछि भने उनको दैनिकी आम मानिसको जस्तै हुनेछ। उनले आफूलाई मन परेको खान खान पाउनेछिन्। मन परेको ठाउँमा जान अनि मन परेका रङका कपडा लगाउन पाउनेछिन्।

६ पुस, २०७९, १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।