स्ट्रक्चरल इन्जिनियर मेयर बालेनले नबुझेको सम्पदा इन्जिनियरिङको पाटो

स्ट्रक्चरल इन्जिनियर मेयर बालेनले नबुझेको सम्पदा इन्जिनियरिङको पाटो

काठमाडौंको केन्द्रमा रहेको विशाल मैदान टुँडीखेल बेलाबेला चर्चामा आइरहन्छ। कहिले सबै खुला गराउने अभियानबाट चर्चामा आउँछ त कहिले व्यावसायिक प्रयोजनको बतासे योजनाले।

यो पटक फेरि टुँडीखेललाई चर्चामा ल्याउने काम गरेका छन्- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले।

जनसङ्ख्याको चाप बढेसँगै काठमाडौंको आयतन फैलिएर काँठहरू भरिइसके। काँठतिर फैलिएका नयाँ-नयाँ बस्तीका जनसङ्ख्याको चाप प्राचीन शहर काठमाडौं (महानगर)ले थेग्नु पर्दा सडकहरू सधैँ अस्तव्यस्त हुने गरेका छन्।

शहरमा बसोबास गर्नेहरूले दैनिक देख्ने/भोग्ने गरेको यथार्थ हो यो। यही अस्तव्यस्ततालाई व्यवस्थित गर्न भन्दै महानगरले हालै एउटा निर्णय गर्यो- टुँडीखेल खनेर त्यहाँ तीन तल्ले भूमिगत पार्किङस्थल निर्माण गर्ने।

भारतको कर्नाटकबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका मेयर बालेनले यो निर्णयमा हस्ताक्षर गर्दा जे सोचेर गरेको भए पनि सांस्कृतिक, ऐतिहासिक महत्त्व बोकेको टुँडीखेललाई खनेर पार्किङस्थल बनाउने महानगरको यो निर्णयको विरोध सुरु भयो।

राज्य सञ्चालकका विभिन्न निर्णयका कारण खण्ड-खण्डमा विभाजित हुँदै टुँडीखेल वर्तमान आकारमा आइपुगेको हो। शहीदगेटभन्दा दक्षिणको भाग सेनाको कब्जामा छ। शहीदगेट उत्तरको आधा भाग पनि सेनाकै अधिनमा छ। बाँकी रहेको खुलामञ्च क्षेत्रमा महानगरको ताला छ। सर्वसाधारणको पहुँचमा त्यही सानो रत्नपार्क मात्र छ।

टुँडीखेल बचाउ अभियानका अभियान्ताहरू, संस्कृति र सम्पदा प्रेमीहरू, वातावरणविद्हरू बालेन्द्रको योजनाको विपक्षमा उभिएका छन्। विपक्षमा उभिनुको कारण फगत बालेनको प्रयासको विरोध मात्रै हैन। यसको धार्मिक, सांस्कृतिक अनि पर्यावरणीय कारण पनि हो।

०००
एकातर्फ काठमाडौं शहर फैलिँदै छ। अर्कोतर्फ टुँडीखेल खुम्चिँदै छ। 

कुनै समय हाल दशरथ रङ्गशाला रहेको स्थानदेखि रानीपोखरीसम्म फैलिएको थियो यो विशाल मैदान। अहिले हेरौँ त!

राज्य सञ्चालकका विभिन्न निर्णयका कारण खण्ड-खण्डमा विभाजित हुँदै टुँडीखेल वर्तमान आकारमा आइपुगेको हो। शहीदगेटभन्दा दक्षिणको भाग सेनाको कब्जामा छ। शहीदगेट उत्तरको आधा भाग पनि सेनाकै अधिनमा छ। बाँकी रहेको खुलामञ्च क्षेत्रमा महानगरको ताला छ। सर्वसाधारणको पहुँचमा त्यही सानो रत्नपार्क मात्र छ।

अब अलिकति खुला रहेको खुलामञ्चमा पनि पार्किङ बनाउने योजनालाई कसरी स्वागत गर्न सकिन्छ?

टुँडीखेल मात्रै हैन काठमाडौंमा रहेका विभिन्न खुला स्थानहरू, पोखरी, ताल, तलैया घट्ने र अतिक्रमण हुने क्रम जारी छ।

काठमाडौं महानगरमा एक प्रतिशत पनि छैन खुला स्थान
विज्ञहरूका विभिन्न अध्ययनले देखाएको तथ्यले प्रमाणित गर्दछ कि- काठमाडौंमा खुला स्थानको अभाव घट्दैछ। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले काठमाडौं उपत्यकाका काठमाडौं महानगर, ललितपुर महानगर, भक्तपुर नगरपालिका र किर्तिपुर नगरपालिकामा गरेको एक अध्ययनले यहाँ सार्वजनिक खपतका लागि चाहिने खुला स्थानहरू निकै न्यून रहेको निष्कर्ष निकालिसकेको छ।

काठमाडौंमा भएका विभिन्न खुला स्थानहरू (ख्यः) साँस्कृतिक रूपमा निकै महत्त्वका छन्। ती ख्यःहरूसँग कुनै न कुनै निजी र सामुदायिक गुठीहरूको सम्बन्ध रहेको भेटिन्छ। टुँडीखेलसँग पनि विभिन्न गुठीहरूको सम्बन्ध छ। 

अध्ययनले काठमाडौं महानगर क्षेत्रभित्र महानगरको कुल क्षेत्रफलको एक प्रतिशत (०.६४५) पनि सार्वजनिक खुला स्थान नरहेको निष्कर्ष निकालेको थियो। यूएनडीपी, एसिलेटर ल्याबसको अध्ययनको यो निष्कर्ष हाम्रा लागि पक्कै सुखद् होइन। 

०७२ सालको भूकम्पपछि खुला स्थानको आवश्यकता विषयमा बहस चलेको थियो। खुला स्थानहरूको सोधखोज तीव्र पनि भएकै हो।

खुला स्थान र ती स्थानहरूको प्रयोजन समेत तोकेर थुप्रै रिपार्टहरू तयार भए पनि। पहलको प्रयास पनि नभएका हैनन् त्यो बेलामा। तर प्रयास त्यत्तिकै सेलायो।

काठमाडौंमा भएका विभिन्न खुला स्थानहरू (ख्यः) साँस्कृतिक रूपमा निकै महत्त्वका छन्। ती ख्यःहरूसँग कुनै न कुनै निजी र सामुदायिक गुठीहरूको सम्बन्ध रहेको भेटिन्छ। टुँडीखेलसँग पनि विभिन्न गुठीहरूको सम्बन्ध छ। 

धेरै भइसक्यो काठमाडौंको जलसन्तुलन खलबलिएको
खुला स्थानको सम्बन्ध ती स्थानको ऐतिहासिकता र सांस्कृतिक महत्त्वसम्म मात्रै सीमित पनि हुँदैन। खुला स्थानको प्रत्यक्ष सम्बन्ध त्यस क्षेत्रको वातावरण, भूमिगत जल सन्तुलन लगायतका विषयहरूसँग पनि हुने गर्दछ।

तीन दशकको शहरीकरणले काठमाडौं उपत्यकाको कृषियोग्य जमीन ३१ प्रतिशतले घटेको र शहरीकरण ४१२ प्रतिशतले बढेको अध्ययनहरूले देखाएको छ। पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा नेपाल विश्वकै सबैभन्दा तीव्र गतिमा शहरीकरण हुने राष्ट्रको सूचीमा पर्दछ। १० वर्षअघिको जनगणनाले २० प्रतिशत जनसङ्ख्या शहरमा बसोबास गरिरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र शहरीकरणले यहाँको भूमिगत जलसन्तुलन प्रणाली खलबलिएको धेरै भइसक्यो। काठमाडौं जिल्लामा देशको कुल जनसङ्ख्याको ६.९१ प्रतिशत मानिस बसोबास गर्छन्। 

यहाँको जनघनत्व ५१०८ व्यक्तिप्रति वर्ग किलोमिटर रहेको छ। केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको नेपालको तथ्याङ्कमा काठमाडौं नेपालको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला रहेको देखाउँछ।

काठमाडौंपछि बढी जनघनत्व रहेका जिल्लाहरू भक्तपुर र ललितपुर हुन् (जनगणना २०७८)। 

बढी जनघनत्व अर्थात् थोरै स्थानमा धेरै मानिसको बसोबास। उपत्यकामा मानिसको ओइरो लाग्ने र शहर विस्तार हुने क्रम सन् ९० को दशकपछि ह्वात्तै बढेको हो। यसअघि सन् ८० को दशकसम्म काठमाडौं उपत्यकाका प्राचीन शहरीया बस्तीहरू मात्रै शहरका रूपमा स्थापित थिए। बाँकी क्षेत्र ग्रामिण कृषि योग्य क्षेत्रका रूपमा रहेका थिए। 

तर, तीन दशकको शहरीकरणले काठमाडौं उपत्यकाको कृषियोग्य जमीन ३१ प्रतिशतले घटेको र शहरीकरण ४१२ प्रतिशतले बढेको अध्ययनहरूले देखाएको छ। पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा नेपाल विश्वकै सबैभन्दा तीव्र गतिमा शहरीकरण हुने राष्ट्रको सूचीमा पर्दछ। १० वर्षअघिको जनगणनाले २० प्रतिशत जनसङ्ख्या शहरमा बसोबास गरिरहेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

तर, २०७८ को जनगणनाको प्रारम्भिक नतिजाले शहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको देखाएको छ। शहरी जनसङ्ख्याको वृद्धि र नयाँ नयाँ शहर निर्माणले कृषि योग्य जमीनमाथि कन्क्रिटको अतिक्रमण अत्यधिक बढेको छ भने खुला र सार्वजनिक स्थल घट्दै छ।

केही वर्ष पहिले आठ-दश मिटरमा भेटिने भूमिगत पानी आज भोलि ३०-४० मिटर खन्दा मात्रै भेटिनुले भूमिगत पानीको सतह घट्दै गएको प्रमाणित गर्दछ।

मनसुनमा भूमिगत पानीको सतह बढ्नु र सुख्खा मौसममा यो सतह घट्नु प्राकृतिक चक्र हो। तर, यो चक्र सबैतिर उस्तै प्रकारले चल्दैन।

कतिपय स्थानमा पानी परे पनि भूमिगत पानीको सतह बढ्दैनन्। ती स्थानको माटो, भूगर्भ, स्थलाकृति (टोपोग्राफी)ले भूमिगत पानी सञ्चित हुने नहुनेमा भर पर्दछ।

चारैतिर पहाडै पहाडले घेरिएको उपत्यकाका समथल भूभागमा बढेको कन्क्रिटीकरणले जमीनमुनि पानी छिर्ने बाटाहरू बन्द भएका छन्।

एकातर्फ वर्षातको पानी जमिनमुनी जान नपाउँदा यहाँको भूमिगत पानीको सतह वर्षेनी घट्दै गइरहेको छ भने अर्को तर्फ भूमिगत जलको उपयोग शहरीकरण र जनसङ्ख्यासँगै व्यापक बढेको छ। 

घरैपिच्छे ट्यूबवेल अनि बन्दै गरेका ठूला-ठूला मल र होटलहरूले खनेका डिप बोरिङले दैनिक लाखौँ लिटर पानीको दोहन भइरहेको छ। केही वर्ष पहिले आठ-दश मिटरमा भेटिने भूमिगत पानी आज भोलि ३०-४० मिटर खन्दा मात्रै भेटिनुले भूमिगत पानीको सतह घट्दै गएको प्रमाणित गर्दछ।

भूमिगत जल र दिगो विकास नामक जर्नलमा प्रकाशित काठमाडौं उपत्यकाको भूमिगत जल सतह र भूउपयोग शीर्षकको एक अध्ययनले सन् २०२० देखि २०५० सम्ममा उपत्यकाको कृषि जमीन २० प्रतिशतले घट्ने र कन्क्रिटीकरण २१ प्रतिशतले बढ्ने आँकलन गरेको छ।

यसरी एकातर्फ अव्यवस्थित शहरीकरणको चापले उपत्यकाको भूमिगत पानीको प्रयोग दिनानुदिन बढ्दै गएको छ भने अर्कोतर्फ भूमिगत जल भण्डारण प्रणाली ठप्प भएको छ।

यी सम्पदाको महत्त्व नबुझेर बेवास्ता गर्दा अधिकांश हितिहरू सुन्धारा जस्तै सुकिसकेका छन्। जसको मूल कारण काठमाडौंको अव्यवस्थित कन्क्रिटीकरण नै हो।

यसले काठमाडौं उपत्यकाको वातावरणमा गम्भीर नकारात्मक प्रभाव पार्न थालेको छ।

महानगरका आफ्नै नीति र निर्णयहरूबीच छैन तादात्म्यता
जमीन र जलको सन्तुलनमा लामो समयदेखि भइरहेको यो खलबलीका बीच काठमाडौं महानगरको टुँडीखेललाई कन्क्रिटीकरण गर्ने निर्णयको विरोध हुनु स्वाभाविक पनि हो।

भूमिगत जल हाम्रो जीविकोपार्जन र दीर्घकालीन स्वास्थसँग पनि सिधा सरोकार राख्ने विषय भएकोले पनि टुँडीखेल लगायतका खुला स्थानहरूको कन्क्रिटीकरण स्वीकार्य हुन सक्दैन।

विलुप्त हुनथालेका खुला स्थानहरूको संरक्षण, अतिक्रमित सार्वजनिक स्थलहरू, खोला किनारहरू खुला गरी काठमाडौंको वातावरणलाई स्वच्छ पार्ने अभियान थालेको महानगरले टुँडीखेल खनेर पार्किङ बनाउने निर्णय कसरी र किन गर्यो? किनकि यो निर्णयले महानगरका आफ्नै नीति र निर्णयहरूबीच तादात्म्यता भएको देखाउँदैन।

स्ट्रक्चरल इन्जिनियरिङ र सम्पदा इन्जिनियरिङका विद्यार्थीबीच निकै ठूलो खाडल रहेको सम्पदा वास्तुकलाविद्हरूले दावी गर्ने गरेका छन्। स्ट्रक्चरल इन्जिनियरङले छड, बालुवा, रोडा र सिमेन्टलाई सबैभन्दा उचित, टिकाउ र समयानुकूल मान्दछन्। तर प्राचीन वास्तुकला र प्रविधि विज्ञानमा आधारित सम्पदा वास्तुकला इन्जिनियरिङले इँटा, काठ र माटोको प्रयोगलाई उचित ठान्दछन्।

कर्मचारी सञ्चय कोषले काठमाडौं मल बनाएका कारण सुन्धाराको पानीको स्रोत सुकेको यथार्थ बिर्सनु हुँदैन। भूमिगत जल प्रणालीमा आधारित काठमाडौंका सयौँ हितिहरू यहाँका जीवन्त सम्पदा हुन्। 

यी सम्पदाको महत्त्व नबुझेर बेवास्ता गर्दा अधिकांश हितिहरू सुन्धारा जस्तै सुकिसकेका छन्। जसको मूल कारण काठमाडौंको अव्यवस्थित कन्क्रिटीकरण नै हो।

स्ट्रक्चरल इन्जिनियर बालेन्द्रले नबुझेको सम्पदा इन्जिनियरिङ
हजारौँ वर्षअघि गोपाल, किराँत, लिच्छवि र मल्लकालमा क्रमशः निर्माण र विकास हुँदै स्थापना गरिएका यी मौलिक सम्पदा सञ्चालन हुने आफ्नै विधि र जल प्रणाली छन्। जसको सिधा सम्बन्ध भूमिगत जल प्रणालीसँग रहेको छ।

स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी महानगर प्रमुखलाई यो सत्य बोध नभएको पक्कै होइन होला। उनी आफैँ यहाँको हिति प्रणाली संरक्षण गर्ने संकल्प गरेर प्रमुखमा निर्वाचित भएर आएका जनप्रतिनिधि हुन्।

तर, स्ट्रक्चरल इन्जिनियरिङ र सम्पदा इन्जिनियरिङका विद्यार्थीबीच निकै ठूलो खाडल रहेको सम्पदा वास्तुकलाविद्हरूले दावी गर्ने गरेका छन्। स्ट्रक्चरल इन्जिनियरङले छड, बालुवा, रोडा र सिमेन्टलाई सबैभन्दा उचित, टिकाउ र समयानुकूल मान्दछन्। तर प्राचीन वास्तुकला र प्रविधि विज्ञानमा आधारित सम्पदा वास्तुकला इन्जिनियरिङले इँटा, काठ र माटोको प्रयोगलाई उचित ठान्दछन्।

सुन्दा समयानुकूल नलागे पनि हाम्रा प्राचीन वास्तुकला वास्तवमै दीर्घकालीन रहेका उदाहरण यहाँका मठ, मन्दिर, प्राचीन दरबारहरू, हितिहरू, चुकः, बहाः, बहीलाई लिन सकिन्छ। जो सदियौँदेखि ठडिएर रहेका छन्।

प्राचीन यी सम्पदाको समयसमयमा गर्नुपर्ने मर्मतसम्भार नगरिँदा यी सम्पदा नाश हुँदै गएका हुन्, प्रविधि काम नलाग्ने भएर नाशिएका होइनन्।

त्यसैले सवारी चाप व्यवस्थित गर्न टुँडीखेल नै किन? प्रश्न उठ्नु स्वाभाविक पनि हो। टुँडीखेल काठमाडौंका नागरिकको सार्वजनिक सम्पत्ति हो। 

यसलाई जनतालाई नै फर्काएर संरक्षण र सम्वर्द्धनको जिम्मा महानगरले लिनुपर्नेमा उल्टो आधुनिक विकास भन्दै मास्न केन्द्रित हुनु आफैँमा आश्चर्यको विषय हो।

पुरानो बसपार्क उचित विकल्प
पार्किङस्थल बनाउन टुँडीखेलको खुलामञ्च मात्रै अन्तिम विकल्प पक्कै होइन। हाल अद्वैत मार्गमा बन्दै गरेको महानगर टावर सिटी बसपार्कलाई व्यवस्थित बनाउने काम भइरहेको छ।

उचित निर्णय भनेको पुरानो बसपार्क भनिने स्थानमा बन्दै गरेको सिटी हलको अधिकांश भाग पार्किङका लागि छुट्याउन लगाउनु नै हो।

यो भवनलाई मल्टिस्टोरी पार्किङ बनाउन सकिन्छ। त्यस्तै, निजी क्षेत्रलाई पार्किङ भवन बनाउन प्रोत्साहनसहितका योजना ल्याउन सकिन्छ।

काठमाडौंको सार्वजनिक यातायातमा महानगरको भूमिका कहिँ देखिँदैन। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउँदै मास ट्रान्सपोर्टमा महानगरले लगानी गर्न सके स—साना माइक्रो र ट्याम्पो सडकमा नगुड्दा पनि यहाँको सवारी जामको समस्या आधा समाधान हुनसक्छ।

सांस्कृतिक, राजनीतिक, वातावरणीय, सामुदायिक, विपद् आदि विभिन्न प्रायोजनका लागि चाहिने खुला स्थानहरूको संरक्षण गर्नु महानगरको दायित्व पनि हो। न कि ती स्थानहरूको कन्क्रिटीकरण गर्नु।

यसमा नेवा संस्कृति प्रेमी अनि वातावरणमैत्री देखिएका मेयर बालेन्द्रले पुनर्विचार गर्नु नै उत्तम विकल्प हो। उनी प्रष्ट भए हुन्छ- खुलामञ्चमा जे जस्तो बहानामा भए पनि भूमिगत पार्किङ उचित निर्णय होइन। 

उचित निर्णय भनेको पुरानो बसपार्क भनिने स्थानमा बन्दै गरेको सिटी हलको अधिकांश भाग पार्किङका लागि छुट्याउन लगाउनु नै हो।

५ पुस, २०७९, १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।