पाँच जनालाई डाक्टर पढाएका कृष्ण, आफू भने एसएलसीमा चिट चोर्न तराई झरे

पाँच जनालाई डाक्टर पढाएका कृष्ण, आफू भने एसएलसीमा चिट चोर्न तराई झरे

असन इन्द्रचोकको भित्री गल्ली ‘न्ह्याकंतला’ पुग्दा विभिन्न लयमा हार्मोनियमहरू गुन्जिरहन्छ। साँघुरो घरको भित्ता तथा छतमा झुन्डिरहेका मादल। भुइँमा मर्मतका लागि राखिएको हार्मोनियम।

तबला, मादल, गितारहरूको बीचमा आवाज निकालिरहन्छन्, बालकृष्ण शाह। सबैले सजिलोको लागि बोलाउने नाम चाहिँ कृष्ण। आधा शतकदेखि हार्मोनियमको आवाज गुन्जिरहेको पसलको जिम्मेवारी उनले सम्हालेको २५ वर्ष भयो।

कुनैबेला मन्दिरमा पनि भजनको बेला मात्र प्रयोग हुने हार्मोनियम अहिले भने वाद्यवाधनमा रुचि भएकाहरूले घर–घरमा र संगीत कक्षाका लागि विद्यालयहरूले पनि राख्ने गरेको देख्दा कृष्ण खुसी छन्।

हार्मोनियम राख्ने बढ्दा उनको काम र व्यापार पनि बढेको छ रे। कोभिडको समयमा केहि अफ्ठ्यारो भए पनि अहिले फेरि भ्याइनभ्याइ भएको बताउँछन् उनी।

नयाँ हार्मोनियम पनि बिक्री गर्छन् कृष्ण तर उनको खास काम भनेको मर्मत गर्नु नै हो।

‘बजारमा पैसा छैन। त्यै भएर अहिले नयाँ किन्नेभन्दा धेरै बनाउने नै आउँछन्,’ उनले सुनाए।

कृष्णले १८ हजारदेखि डेढ लाख रूपैयाँसम्मको हार्मोनियम बिक्रीका लागि राखेका छन्।

‘हुन त १५/१६ हजारको पनि हुन्छ हार्मोनियम। तर, त्यो त्यति राम्रो नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘किबोर्ड भएको हार्मोनियम पनि आयो तर त्यो धेरै प्रयोगमा आएको छैन।’

यसै कामबाट उनको १७/१८ जनाको परिवार रमाइरहेका छन्। परिवारमा धेरै जना त डाक्टर र इञ्जिनियरिङ्ग पढिरहेको उनले बताए।

घुम्दाघुम्दै आइपुगेको काठमाडौं
पुर्ख्यौली पेशा नै हार्मोनियम बनाउने भएको कृष्णको दुई पुस्ता भने काठमाडौं नै बसेर कामलाई निरन्तरता दिइरहेका छन्।

महोत्तरीमा जन्मिएका उनी सानैदेखि यतै बसे। उनको बुवा र बाजेले हिँडेरै विभिन्न ठाउँमा पुगेर हार्मोनियम बजाउने र बनाउने गर्दथे। जनकपुरमा सानो पसल समेत राखेका थिए। बुवा पनि काठमाडौं त्यसरी नै आएको सम्झिन्छन् उनी।

भन्छन्, ‘६५ जिल्लामा मेरो बुवा घुमीघुमी काम गर्नुहुन्थ्यो। त्यो बेला धेरै गाडी चल्दैनथ्यो। ट्रक चल्ने बेलामा बुवा यता आउनुभएछ।’

०२८ सालमा उनको बुवा काठमाडौं छिरेपछि घुमेर काम गर्नुपरेन। त्यो समय असन, इन्द्रचोक आफैँमा प्रसिद्ध व्यापारिक क्षेत्र। उनको बुवाले पनि त्यसै इलाकाको एउटा मन्दिरनिर हार्मोनियम बजाएर बस्न थाले। बिग्रिएका हार्मोनियम उनीकहाँ नै आउन थाले।

‘त्यो बेला एयरपोर्टमा १८ हजारमा मेरो बुवालाई घर दिएको रे। तर, यो स्याल कराउने ठाउँमा किन लिने गाउँमा छँदैछ भनेर लिनुभएनछ’, उनले सुनाए।

अहिले पनि उनको पसलअगाडि उग्रतारा मन्दिर छ तर स्थानीयले भने ‘न्ह्याकंतला अजिमा’को नामले चिन्छन्। त्यसै मन्दिरको सत्तलमा बस्दै आएका उनको बुवालाई स्थानीयले नजिकैको घर नै दिएछन्, पसल राख्न र बस्न।

कृष्णको पाँच जना दाजुभाइ। उनी कान्छो। बुवा काठमाडौंमा भएपछि छोराहरू पनि यतै आए। बुवा र दाइहरूले गरेको काम देखेर नै उनले पनि काम सिके।

‘चिट चोर्न पाइने भएपछि एसएलसी दिन तराई’
यतै बसेर पढे पनि एसएलसी दिन भने महोत्तरी झरेछन् उनी।

तराईबाट जाँच दिँदा राम्रो नतिजा आउँछ भनेर उतै गएको सम्झिन्छन् उनी, ‘तराईतिर चिट चोर्छ धेरै। अब आफूलाई आए पनि हेरेर लेख्नसक्ने मान्छेले सुइँसुइँ लेखिरहेको छ। मेरो विज्ञान, गणित, अंग्रेजी सबै बलियो थियो। चोरी गर्नै नपर्ने।’

तर, उनको नतिजा भने ठिकै मात्र आएछ।

‘यतै (काठमाडौं)बाट दिएको भए पनि हुन्थ्यो। तर, दाइले भन्यो कि त्यता (महोत्तरी)बाट दियो भने झनै राम्रो हुन्छ। तर, बराती गएको जस्तै थ्यो। चोरी त्यत्तिकै, मासु पाकिराछ, केटाहरू तास खेलिराछ,’ उनले हाँस्दै सुनाए, ‘औँठा छापहरू पूरै लेखिरहेको थियो। नम्बर भने कम आयो। जस्तो कि पाँचको आइरहेको थियो तो सुइँसुइँ लेखेँ। अनि नौ को गरेँ। फेरि दुईको गरेँ। त्यसपछि कपि चेकरले, यो साला पक्का चिट चोरिराछ। जसरी–जसरी चिट आएको छ, त्यै हिसाबले लेखेछ, भन्ने सोच्यो होला नि!’

एसएलसीमा ५२ दशमलव ५ प्रतिशत नतिजा आएको उनलाई अहिले पनि ठ्याक्कै याद छ।

त्यसपछि त्रिचन्द्र, आरआर, ललितकला सबै क्याम्पस गए पनि पढाइमा मन लगाउन सकेनन्। ६ महिनाभन्दा बढि उनले पढेनन्।

उनले भने, ‘स्कुलमा साइन्स पढेको साइन्समा राम्रो भयो भने डाक्टर, इन्जिनियर पढ्नु पर्थ्यो। कि आइएससी, बिएस्सी पढ्नुपर्थ्यो। तर, राम्रो रिजल्ट आएन। आर्थिक स्थिति पनि कमजोर भएकाले डाक्टर पढ्ने कुरा भएन।’

पहिला सित्तैमा अहिले ६० हजार
‘गरिबी जीन्दगी सबभन्दा बेकार हुन्छ’, उनी भन्छन्।

आफ्नो पढाइ अगाडि बढाउन नसके पनि कामको भने उनलाई कहिले पनि दुःख भएन। बुटवल, नारायणघाट, पाटनमा पनि उनीहरूको पसल छ।

उनलाई पनि हार्मोनियम बजाउन आउँछ। तर, मर्मत गरेको हार्मोनियमको आवाज परीक्षण गर्न मात्रै बजाउँछन् उनी। सामान हेर्नेबित्तिकै कहाँ/के खराब छ सब थाहा हुन्छ रे उनलाई।

आफूलाई काठमाडौंमा एकदम प्यारो लाग्ने उनी बताउँछन्। त्यै भएर त यस्तो चिसोमा पनि उनी कहिल्यै घाम नदेख्ने पसलमा आरामले बसिरहन्छन्। बुवा सित्तैमा बसेको ठाउँमा अहिले उनले मासिक ६० हजार रूपैयाँ भाडा तिर्छन्।

त्यसबेला मन्दिरको लागि भनेर दिन थालेको पैसा अहिलेसम्म पनि उनीहरूले तिरिरहेका छन्।

४१ वर्षीय कृष्णले हार्मोनियमको कामबाहेक अन्य काम गरेका छैनन्। उनलाई विशेष प्रहरीमा पनि काम मिलेको थियो रे तर, गरेनछन्। कारण भने बताएनन्। पाँच दाजुभाइमध्ये चारजना एकै ठाउँमा बस्दा ठूलो दाइको परिवार भने छुट्टै रहेछन्।

आफ्नो कामलाई एकदम माया गर्ने उनी आफूले जानेको काम र दामसँगै सम्मान पनि पाउँदा खुसी छन्।

‘काम गर्न त एकदम सजिलो छ। जति काम गरे पनि थाकिँदैन। सबैले सम्मान गरेको छ त्यो भन्दा अरु के चाइयो?,’ उनी भन्छन्, ‘पैसा पनि हुनु सम्मान पनि पाउनु राम्रो हो। यो काममा हामी खुसी छौं।’

साइला दाइ र आमा गाउँमै भएकाले मौसमअनुसारका विभिन्न तरकारी र अन्न घरबाटै ल्याउँछन् उनी।

उनी थप्छन्, ‘खेत छ हाम्रो ठेक्कामा देको अरुलाई। त्यै भएर खानको लागि पनि चिन्ता छैन।’ 

अम्बर गुरुङदेखि प्रमोद खरेलसम्म ग्राहक
उनले यस बीचमा ग्राहकहरू पनि विभिन्न किसिमका बनाएका छन्।

‘उस्तादहरू आउँछ। त्यो अहिलेको टपवान शिव परियार, राज सिग्देल, प्रमोद खरेल, चन्दनकुमार श्रेष्ठ, भानु ढकाल सबै आउँछ। पहिला बुढो मान्छेहरू पनि आउथ्यो, अम्बर गुरुङ। प्रकाश गुरुङ त अहिले पनि आउँछ’, एकै श्वासमा नेपालका चिरपरिचित गायकहरू आफ्नो ग्राहक भएको सुनाउन भ्याए उनले।

सित्तैमा बसेदेखि अहिले मासिक ६० हजार भाडा तिर्नुपर्दा पनि पुगिरहेको उनी बताउँछन्। यसबीचमा आफ्नो पसल कहिल्यै बन्द नभएको उनी गर्वका साथ सुनाउँछन्।

कोरोना कालमा मात्रै सयवटा हार्मोनियम अनलाइनबाट बेचेका उनले मोबाइलबाट पनि धेरै कारोबार गर्न थालेका छन्। ग्राहकहरू बढाउँदै लगेका छन्। नुवाकोट, बाह्रबिसे, कुन्तावेशी लगायतका ठाउँ उनका लागि चिरपरिचित स्थान हुन्।

‘कामै नगरेर घुम्यो भने पनि एक–एक दिन घुमेर नै मेरो जीन्दगी कट्छ। तर, त्यसो भनेर काम नगर्न त भएन नि!’

व्यापारको भर हुँदैन। कहिले राम्रै पनि भइदिन्छ कहिले खुख्खा पनि लाग्नसक्छ। उनलाई पनि त्यस्तै भएको रहेछ। एकै दिन दुई हजार रूपैयाँदेखि २ लाख ८० हजार रूपैयाँसम्मको व्यापार गरेका रहेछन् उनले।

उनले सुनाए, ‘हार्मोनियम पसलमा त्यति व्यापार हुनु भनेको त धेरै होइन र? त्यै भएर राम्रो छ। मस्त छ। कहिले पनि फुर्सद हुँदैन। सबैको काम प्याक छ।’

दाजुभाइनै कामदार !
उनको पसलमा सबै कामदार दाजुभाइ नै हुन्। पछिल्लो समय भने एकजना राखेका छन्।

अहिले त कृष्णले ‘होम सर्भिस’ पनि गर्न थालेका छन्। हरेक शनिबार उनले गर्ने ‘होम सर्भिस’मा कमाएको पैसा भने उनकै लागि मात्र खर्च गर्न मिल्छ रे। बाँकी दिनको भनेको चारै जना दाजुभाइको भागमा परेको जति हुन्छ रे।

उनको बिहेको लागि इन्डियामा कुरा चलेको भए पनि २० वर्षको उमेरमा महोत्तरीमै विवाह भयो। इन्डियामा कुरा चल्दा साढे दुई लाख आइसी दाइजोको रूपमा दिन्छु भनेका थिए रे केटीपक्षले।

उनले भने, ‘तर, बा भन्यो कि अरुको पैसा खानुहुँदैन। बुहारी राम्रो हुनुपर्यो।’

आफ्नो शरीरले साथ दिएसम्म उनी यहि काम गर्न चाहन्छन्।

‘मेरो बच्चाहरू के गर्छ थाहा भएन तर, दाइको बच्चाहरू सबै डाक्टर भयो। एकजनालाई डाक्टर बन्न ६०÷६५ लाख लाग्छ। पाँचवटा डाक्टर छ घरमा। त्यो भनेको त राम्रो होइन र?’ उनी मख्ख पर्दै सुनाउँछन्, ‘मेरो बच्चाहरू पनि राम्रो भयो भने बुढेसकालमा गाडी लिने अनि बुढाबुढी सँगै घुम्न जाने। देश विदेश घुम्न जाने मन छ। भोलि के हुन्छ कसलाई के थाहा? एउटा सीप चै सिकिराख्नु पर्नेरहेछ। त्यसपछि इज्जत र पैसाको केहि कमी हुँदैन।’

४ पुस, २०७९, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।