३० करोडको एमआरआई खरिदमा ट्रमा प्रमुखलाई देखाएर तर्किए मन्त्री, राज्यमन्त्री र सचिव

३० करोडको एमआरआई खरिदमा ट्रमा प्रमुखलाई देखाएर तर्किए मन्त्री, राज्यमन्त्री र सचिव

काठमाडौँ : सेटिङमा राष्ट्रिय ट्रमा सेन्टरमा करिब ३० करोडको एमआरआई खरिद प्रक्रिया अगाडि बढेकोबारे स्वास्थ्य मन्त्रालयको नेतृत्वतहमा बसेकाहरूको एकै स्वर आएको छ' मेरो संलग्नता छैन'

मन्त्री, राज्यमन्त्री अनि स्वास्थ्य सचिव तीनै जनाले सो खरिद प्रक्रियामा आफू संलग्न नरहेको दाबीसँगै केही जानकारी नै नभएझैँ गरेकाले उनीहरूको व्यवहार शङ्कास्पद देखिन्छ। कानुनतः कार्यालय प्रमुखले खरिद प्रक्रिया अगाडि बढाउन सक्छन्। तर लागत लगायतका बजेटको विषयमा मन्त्रालय नै निर्णायक हो।

उकेराले बजारमै बढीमा २५ करोड खरिद मूल्य रहेको एमआरआई ३० करोडमा किन्ने पक्रिया र राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा रुद्र मरासिनीको शङ्कास्पद भूमिका प्रमाणसहित सार्वजनिक गरेको थियो। मन्त्री र राज्यमन्त्रीले त थाहै नभएको दाबी गरे। बजेट स्वीकृत गर्ने स्वास्थ्य सचिवले समेत केही थाहा नपाएझैँ गरे।

स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले टेन्डरको विषयमा खासै जानकारी समेत नभएको दाबी गरे। उकेरासँगको कुराकानीमा खापुङले ट्रमा सेन्टरको एमआरआई खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएकोले दाबी समेत गरे।

‘त्यसमा मेरो संलग्नता छैन। अहिले यो विषयमा मैले नबुझी त केही भन्न सकिएन,’मन्त्री खापुङले भने,‘ के हो भन्ने कुरा पहिलो त थाहा पाउनुपर्यो, बुझ्नुपर्यो।’

एमआरआईको खरिद ट्रमा सेन्टरले नै गर्ने भएकाले यस विषयमा सोधपुछ गर्ने उनले बताए।

राज्यमन्त्री भन्छन्,–टेन्डर प्रक्रिया नै गलत छ

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले ट्रमा सेन्टरमा भएको एमआरआई खरिद प्रक्रियाको विषयमा यथार्थ जानकारी नभएको दाबी गरे। ट्रमामा भएको एमआरआई खरिद प्रक्रियाको विषयमा आफूले बुझ्ने उनले बताए। उनले उकेरासँगको कुराकानीमा स्वास्थ्य क्षेत्रको टेन्डर प्रक्रिया भने गलत भएको बताए।

‘टेन्डर प्रक्रिया जो छ नि स्वास्थ्य क्षेत्रमा, त्यो गलत छ। राम्रो छैन,’स्वास्थ्य राज्य मन्त्री केसीले भने। उनले स्वास्थ्य क्षेत्रका खरिद प्रक्रियाका केही विषय सुधार गर्नुपर्ने देखिएको बताए।

स्वास्थ्य सचिव सचिव डा. रोशन पोख्रेलले यस अगाडि नै ट्रमा सेन्टरले एमआरआई खरिदका लागि खरिद प्रक्रिया अगाडि बढाएको विषयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए।

 ‘सचिवले खरिद गर्ने हैन। सबै उहाँ (डा. मरासिनी) कै अधिकार हो,’उकेरासँगको कुराकानीमा सचिव पोख्रेलले भनेका छन्,‘स्वास्थ्य मन्त्रालयमा सचिवलाई यसमा जोड्नै पर्दैन।’

ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीले करिब ३० करोड मूल्य बराबरको ‘थ्रि टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरेका हुन्।

टेन्डर गर्न लागिएको थ्रि टेस्ला एमआरआई मेसिन ‘वाइड बोर’ कम्तीमा ७५ सेन्टिमिटर डायमिटरको हुनुपर्ने स्पेशिफिकेशनमा उल्लेख छ। जुन लक्ड गरेर तयार गरिएको प्राविधिक स्पेशिफिकेशन चिनिया कम्पनी युनाइटेड इमेजिङको एमआरआईलाई मात्रै मिल्ने देखिन्छ।

ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्रि टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर (बोलपत्र) आह्वान गरिसकेको छ।

टेन्डर आह्वानको सूचना अनुसार ‘प्रि–बिड मिटिङ’ हुने मिति मङ्सिर १२ गते सोमबार (२८ नोभेम्बर) १२ बजेलाई तोकिएको थियो।

तर, युनाइटेड इमेजिङलाई मात्रै मिल्ने गरी एमआरआईको प्राविधिक स्पेशिफिकेशन बनाइएको भन्दै स्पेशिफिकेशन बनाउने प्राविधिक समितिलाई समेत सहभागी गराएर ‘प्रि–बिड’ को अर्को बैठक बोलाउने मिति तोक्नुपर्ने माग गर्दै माइन्युटमा लेखेर त्यसमा हस्ताक्षर गरी सप्लायर्स कम्पनीहरूले प्रि बिड बैठक नै बहिष्कार गरिसकेका छन्।

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

४ पुस, २०७९, १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।