लुम्बिनी प्रदेश सभामा ४० वर्षमुनिका सांसद २६ जना, सबैभन्दा कान्छा बने अनुराग र अम्बिका

लुम्बिनी प्रदेश सभामा ४० वर्षमुनिका सांसद २६ जना, सबैभन्दा कान्छा बने अनुराग र अम्बिका

बुटवल: पछिल्लो समय नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा हुने विषय हो- नेताहरूको उमेर। उमेरकै कारण ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समेत धेरैले ‘पाका पुस्तालाई बिदा’ गर्नुपर्ने अभियान नै चलाए।

नेपाली राजनीति अब ‘बा’ पुस्ताबाट पुस्तान्तरण हुनुपर्ने र ‘बा’हरू बाट परिर्वतनको आशा असम्भव रहेको भन्दै सामाजिक सञ्जालभर विभिन्न अभियान चले।

देशैभरि राजनीतिमा उमेरको बहस चलिरहँदा लुम्बिनी प्रदेशमा यसपटक युवाको उपस्थिति बलियो देखिएको छ। प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेश सभामा यसपटक २६ जना ४० वर्षमुनिका छन्।

लुम्बिनी प्रदेश सभामा सबैभन्दा कान्छा सांसदका रूपमा छन्- नेपाली कांग्रेसका अनुराग खड्का र जनता समाजवादी पार्टीकी अम्बिका काफ्ले। खड्का र काफ्लेको उमेर जम्मा २८ वर्ष हो।

दाङ क्षेत्र नं. १ (ख)बाट प्रदेश सभामा विजयी अनुराग खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। उनले निर्वाचनमा एमालेका कुलबहादुर खत्रीलाई पराजित गर्दै विजयी भएका हुन्।

खड्काले १६ हजार २३७ मत प्राप्त गर्दा खत्रीले १३ हजार १८२ मत पाएका थिए। उनले निर्वाचन कार्यालयमा उम्मेदवारको व्यक्तिगत विवरणमा पठाएको विवरणअनुसार उनको जन्ममिति २०५१ साल जेठ ११ गते रहेको छ।

लमही नगरपालिका सतवरिया दाङ स्थायी ठेगाना भएका खड्काले एसएलसीसम्म मात्र उत्तीर्ण गरेका छन्। उनले प्रदेश सभामा जहिल्यै जनताका सवालहरूलाई प्राथिमकतामा राख्ने बताए।

यता अम्बिका काफ्ले भने समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी हुन्। जनता समाजवादी पार्टीको महिला खस आर्य समूहबाट उनी प्रदेश सभा सदस्य बनेकी हुन्। नेपालगञ्ज बाँकेकी अम्बिकाले स्थानीय तह निर्वाचन ०७४ बाट तत्कालीन संघीय समाजवादी पार्टीबाट राजनीतिक यात्रा आरम्भ गरेकी हुन्।

प्रदेश सांसद अम्बिकाले प्रदेश सभामा किसानका सवाल र महिलाहरूमाथि हुने हिंसालाई निर्मूलीकरणमा भूमिका खेल्ने बताइन्। साथै उनले युवा, शिक्षाका र पूर्वाधारको विकासमा खबरदारी र जनताका अपेक्षाअनुसार योजना निर्माण र कार्यान्वयनका लागि सभामा पहल गर्ने बताइन्।

खड्का र काफ्लेबाहेक ४० वर्षमुनिका २६ सांसदहरू प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ १६ जना रहेका छन्।

अरूको उमेर कति ?
सिके राउत नेतृत्त्वको जनमत पार्टीबाट रुपन्देही- ५ (ख) मा निर्वाचित चन्द्रकेश गुप्ता ३० वर्षका छन्। निर्वाचन आयोगलाई बुझाएको उनको विवरणमा जन्ममिति वि.स. २०४९ भदौ १९ गते रहेको छ।

प्लस टुसम्म अध्ययन गरेका चन्द्रकेश गुप्ताको स्थायी ठेगाना लुम्बिनी सांस्कृतिक नगरपालिकाको भैसहिया हो। उनले नेपाली कांग्रेसका फकरुद्दिन खाँलाई पराजित गरेका हुन्।

गुप्ताले १२ हजार ९४१ मत प्राप्त गर्दा खाँले ११ हजार ६५१ मत प्राप्त गरेका थिए। खाँले ०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचनमा विजयी हासिल गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फका बर्दिया- १ (ख)का राजकुमार चौधरी ३१ वर्षका छन्। निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको विवरणमा उनको जन्ममिति वि.स. २०४७ फागुन ३ गते रहेको छ। उनको शैक्षिक योग्यता भने एसएलसीमुनि हो। उनले एमालेका भक्तबहादुर विश्वकर्मालाई पराजित गर्दै प्रदेश सभामा विजयी भएका हुन्।

चौधरीले १३ हजार २३० मत प्राप्त गर्दा विश्वकर्माले १२ हजार १८३ मत ल्याएका थिए।

यसैगरी बर्दिया- २ (ख)बाट सांसद भएका धर्मबहादुर चौधरी ३६ वर्षका छन्। नागरिक उन्मुक्ति पार्टीकै समानुपातिकतर्फ नोरीकुमारी चौधरी ३२ वर्षकी छिन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रुपन्देही- ४ (क)मा निर्वाचित कन्हैया बनियाँ ३३ वर्षका भए। निर्वाचन आयोगमा बुझाएको उम्मेदवार विवरणमा उनको जन्ममिति वि.स. २०४६ असोज ८ गते रहेको छ।

स्नातकोत्तर गरेका बनियाँ रुपन्देहीको मर्चवारी रायपुरका हुन्। उनले जनमत पार्टीका जितेन्द्रनाथ शुक्लालाई पराजित गर्दै विजयी भएका हुन्। बनियाँले १५ हजार १५५ मत प्राप्त गर्दा शुक्लाले ९ हजार २६२ मत प्राप्त गरेका थिए।

सोही पार्टीबाट समानुपातिक सांसद बनेकी हेमा बेलबासे केसीको उमेर ३७ वर्ष हो। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही- १(क) मा विजयी भएका आशिष चौधरी ३६ वर्षका छन्। उनको जन्ममिति वि.स. २०४३ पुस १८ गते हो। कक्षा १२ पास गरेका उनी ओमसतिया पटखौलीका हुन्।

कांग्रेसबाट प्रत्यक्षतर्फ रुपन्देही- ४ (ख)बाट विजयी बसिउद्दन खाँ ३९ वर्षका छन्। प्युठान प्रदेश सभा (ख) का सरोज थापा ४० वर्षका छन्।

यसैगरी समानुपातिकतर्फ धनलक्ष्मी श्रेष्ठ ४० वर्ष, निमा गिरी ३५ वर्ष, सञ्जुकुमारी चौधरी ३२ वर्ष, लोकीकुमारी विक ३८ वर्ष र सुशीला वादी ४० वर्षका छन्।

एमालेबाट प्रत्यक्षतर्फ बाँके- ३ (क) बाट निर्वाचित रत्नबहादुर खत्री ४० वर्षका छन्। समानुपातिकबाट सरिता पुन ३७ वर्ष, यमुना रोका ३९ वर्ष, सीता शर्मा चौधरी ३४ वर्ष, भगवतीकुमारी थरुनी ३५ वर्ष, सायरा बानु ३४ वर्षका छन्।

माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच जना यो उमेर समूहमा छैनन्। समानुपातिकमा दिलकुमारी बुढा ३९ वर्षका र कृष्णा थारु ४० वर्षका छन्।

राष्ट्रिय जनमोर्चाबाट समानुपातिकतर्फ तारा थापा ३७ वर्षकी छिन्। स्वतन्त्र उम्मेदवार भएर जितेका नवलपरासी पश्चिम- २ (क) का खड्ग बस्नेत ३६ वर्षका छन्।

४ पुस, २०७९, १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।