साेम धितालज्यू तपाईंलाई थाहा छ ?- ‘हिमालय टिभी’ले नै ‘पाइरेटेड लिंक’बाट हेर्छ विश्वकप

साेम धितालज्यू तपाईंलाई थाहा छ ?- ‘हिमालय टिभी’ले नै ‘पाइरेटेड लिंक’बाट हेर्छ विश्वकप

काठमाडौं : कतार जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानको लागि प्रतिस्पर्धा भइरहेको छ।

नेपालभर हिमालय टेलिभिजनमार्फत फुटबल देखाइँदै आएको छ। जसका लागि दर्शकले ५६५ रूपैयाँ तिरेका छन्।

नेपालको प्रसारण अधिकार किनेको मिडिया हब र त्यसका सञ्चालक सोम धितालले विदेशी साइटबाट नहेरुन् भनेर विभिन्न पाइरेटेड साइट रोक्न खाेजे।

कम्पनी र सञ्चालकले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकलाई विभिन्न साइट रोक्न निर्देशन दिनसमेत लगाए।

तर त्यसको बावजुद पनि सबै पाइरेटेड साइट इन्टरनेट सेवा प्रदायकले रोकनन्। अहिले पनि अधिकांशले पाइरेटेड वेबसाइटमार्फत नै विश्वकप हेर्दै आएका छन्।

अरुलाई पाइरेटेड साइटबाट विश्वकप हेरेको रोक्ने मिडिया हबले आधिकारिक प्रसारण अधिकार दिएको हिमालय टेलिभिजनलाई भने रोक्न सकेन। शनिबार साँझ हिमालय टेलिभिजनको फेसबुक पेज हेर्दा यसको पुष्टि भइहाल्थ्यो।

तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया प्रतिस्पर्धा गरिरहँदा हिमालय टिभीको फेसबुक पेज अपडेट भइरह्यो। पेजबाट क्रोएसिया र मोरक्कोले गोल गर्नेबित्तिकै मोबाइलबाट तस्बिर खिचेर राखियो।

तर, आफ्नो आधिकारिक पेजमा राखिएको तस्बिरमा भने हिमालय टेलिभिजनको लोगो कतै देखिएन। बरु विदेशी च्यानल बेन स्पोर्ट्स नामक च्यानलको लागो देखियो त्यो पनि पाइरेटेड लिंकबाट खोलिएको।

स्क्रिनमा पाइरेटेड साइटको नाम पनि लेखिएको थियो– shoot–yalla.tv/yalla shoot English

अरुलाई प्रतिबन्ध लगाउन तम्सिएको मिडिया हब र हिमालय टेलिभिजन आफैँ पाइरेटेड वेबसाइटबाट विश्वकप हेरेको तस्बिरलाई दर्शकले कसरी बुझ्ने?

यसको जवाफ ५६५ रूपैयाँ असुल्ने मिडिया हब र पाइरेटेड च्यानलबाट विश्वकप हेर्ने हिमालय टेलिभिजनले देला नै!

२ पुस, २०७९, २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।