डा. सुधांशुको उपचार अनुभव : बिरामीलाई मासुभात खानुस् भन्दा आफन्तले साेधे– ‘डाक्टरसाप बिरामी अन्तिम भएको हो?’

डा. सुधांशुको उपचार अनुभव : बिरामीलाई मासुभात खानुस् भन्दा आफन्तले साेधे– ‘डाक्टरसाप बिरामी अन्तिम भएको हो?’

वीर अस्पतालका कलेजोरोग विशेषज्ञ प्रा. डा. सुधांशु केसी करिब १६ वर्ष अगाडिको एउटा प्रसंग कहिल्यै भुल्दैनन्।

त्यो बेला करिब ३० वर्षका पुरुषलाई जन्डिसको समस्याको जटिलता निम्तिएपछि उपचारका लागि अस्पतालमा पुर्याइएको थियो। बिरामीलाई लिएर आधा दर्जनभन्दा बढि आफन्त अस्पताल पुगेको उनलाई सम्झना छ।

धेरै ठाउँमा आयुर्वेदिक उपचार समेत गरिसकेका ३० वर्षे बिरामीलाई डा. सुधांशुले परीक्षण गर्दा हेपाटाइटिस–ई भएर जन्डिससमेत भइसकेको पत्ता लाग्यो। विभिन्न किसिका औषधिको प्रयोगले उनको जण्डिस बिग्रिससकेको थियो।

‘हेपाटाइटिस–ई भन्ने रोग लागेको रहेछ। जसले गर्दा जन्डिस भयो,’ डा. सुधांशुले ती पुरुषको उपचार गर्दाको अनुभव सुनाए, ‘विभिन्न थरिका जडिबुटी खाँदा जन्डिस झन् बढ्दै गयो।’

डा. सुधांसुले बिरामीलाई रोगको बारेमा सम्झाउँदै एक लिटर पानीमा एक पाउ चिनी घोलेर बिहानदेखि बेलुकासम्म खान सुझाए।

भर्ना गर्नु नपर्ने भन्दै उनले दैनिक दुई छाक मासु र भात खानदिनसमेत भने। बिरामीका आफन्तले मुन्टो हल्लाएर ओपीडीबाट बाहिरिए।

केही मिनेटपछि बिरामीका अर्का आफन्त कोठामा छिरे र सोधे, ‘डाक्टरसाप हाम्रो बिरामी अन्तिम भएको हो?’

डा. सुधांशुले जवाफ दिए, ‘अन्तिम भए त भर्ना गरिहाल्थेँ नि!’

आफन्तले अचम्म मान्दै भने, ‘जन्डिसको बिरामीलाई मासुभात खान भनेकाले सोधेको डाक्टरसाप।’

त्यसपछि डा. सुधांशुले बिरामीलाई अस्पताल नै भर्ना गर्ने निर्णय लिए।

‘बिरामी पाँच दिन भर्ना गर्छु अनि मासुभात खुवाउँछु, मासुभातको ग्यारेन्टि म लिन्छु,’ उनले आफन्तलाई भने, ‘केही पर्यो भने त्यसको जिम्मेवारी पनि म लिन्छु।’

डा. सुधांशुले जन्डिसले थलिएका बिरामीलाई आफैँ बसेर बिहान र बेलुका दुई छाक मासुभात खान दिए। चिनी पानी खुवाए। अन्य सामान्य औषधि उपचार गरे। पाँच दिनमा बिरामीको जन्डिसको मात्रा घट्दै गयो। तौल पनि पाँच किलो बढ्यो। बिरामी ठिक भएर घर फर्किए।

पौष्टिक तत्व नपाएर रोग बिग्रिएका ती पुरुषले मासुभात खाएरै ठिक भएको डा. सुधांशु सुनाउँछन्।

जन्डिसको बिरामीले मासु खान हुँदैन भन्ने रुढिवादी मान्यताका कारण जन्डिस भएको बिरामीलाई मासुभात खानुहोस् भन्दा अनौठो मान्नेको संख्या ठूलै भएको डा. सुधांशुले बताए।

नेपालमा अधिकांश ‘हेपाटाइटिस–ए र ई’ का कारण जन्डिस हुने उनले सुनाए। यस्तो समस्या भएको अवस्थामा जसले राम्रोसँग खानपान गर्छ त्यो व्यक्ति चाँडै ठिक हुने उनको भनाइ छ।

त्यसरातदेखि छोराछोरीलाई डाक्टर नपढाउने निर्णय लिए...
डा. सुधांशुको विवाह सन् १९९७ मा वीर अस्पतालमा काम गर्दा नै भयो। उनका एक जना छोरा र एक छोरी छन्। छोरा क्रिकेट खेलाडी हुन् भने छोरी अष्ट्रेलियामा पढ्दैछिन्।

आफू डाक्टर भए पनि उनले छोराछोरीलाई भने डाक्टरी पढाउन चाहेछन्। त्यसको पनि छुट्टै कहानी रैछ।

छोरा र छोरी सानै भएको समयमा डा. सुधांशुकी सासु बिरामी परिछिन्। आमाको उपचारका लागि उनकी श्रीमती लखनउमा गएकी रहिछन्। घरमा सुधांशु र साना छोराछोरी मात्रै थिए। त्यो बेला छोरा ७-८ कक्षामा र छोरी १-२ कक्षामा पढ्थिन्।

राति करिब १२ बजे नर्भिक अस्पतालबाट डा. सुधांशुलाई फोन गयो। फोनमा एक स्वास्थ्यकर्मीले उनलाई भने, ‘डाक्टर साप तुरुन्तै अस्पताल आउनुपर्ने भयो। एक जना बिरामी रगत छादेर आउनुभएको छ।’

डा. सुधांशुले ‘हुन्छ’ भनेर निन्द्रामा नै फोन राखे। तर, उनलाई साह्रै तनाव भयो। अस्पताल नजाउँ मान्छे मर्छ। जाउँ साना छोराछोरीलाई कसरी एक्लै छाड्ने।

त्यसपछि डा.सुधांशुले छोरालाई उठाएर भने, ‘बाबु मलाई हस्पिटल जानुपर्यो। तिमी बैनी हेर्दै सुत। म अस्पताल पुगेर आउँछु।’

त्यसपछि डा. सुधांशुले घरमा ढोका बाहिरबाट ताल्चा लगाएर बबरमहलबाट गाडीमा नर्भिक अस्पताल गए।

अस्पताल पुगेर करिब ४५ वर्षका बिरामीलाई हेरे। कलेजको जटिलता निम्तिएर बिरामीले रगत नै बान्ता गरेका रहेछन्। ती बिरामीले रक्सी सेवन गरेकाले थप जटिलता निम्तिएको रहेछ।

अस्पताल पुगेर उनले बिरामीको उपचार गरे। बिरामीको ज्यान बाँच्यो। ‘त्यो रात उपचार नगरेको भए ति बिरामीको मृत्यु हुने सम्भावना ९० प्रतिशत थियो।’

बिरामीको उपचारपछि उनी घर फर्के। बिरामीको उपचार गर्दा होस् वा बाटोमा ओहोर दोहोर गर्दा नै किन नहोस् छोरा–छोरी के गर्दै होलान् भनेर उनलाई मनमा तनाव भइनैरह्यो। घर आइपुग्दा बिहान करीब साढे दुई बजेको थियो। घर पुग्दा छोराछोरी सुतिरहेको देखे उनले। त्यसपछि मात्रै उनलाई आनन्द भयो।

त्यो रातदेखि धेरै तनाव र दुःख गर्नुपर्ने डाक्टरी पेशा म छोराछोरीलाई पढाउँदिन भनेर निर्णय नै लिएछन् उनले।

‘त्यो बेला पनि मेरो कमाई त्यति राम्रो थिएन,’ उनले सुनाए, ‘यस्तो दुःख गरेर यति कम कमाईका लागि मेरा छोराछोरीलाई डाक्टर पढाउँदिन भनेर त्यो रातदेखि निर्णय लिएँ।’

जन्म डिल्लीबजार, अध्ययनमा अब्बल
स्थायी घर काठमाडौंको डिल्लीबजारमा भएका सुधांशु वीर अस्पतालमा जन्मिएका हुन्। अहिले भने उनी धुम्बाराहीमा बस्छन्।

सुधांशुले काठमाडौंको सिद्धार्थ बनस्थली स्कुलबाट २०३९ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। त्यहिँबाट उनले विज्ञान विषय लिएर प्रमाणपत्र तह (आइएस्सी) अध्ययन गरे। प्रथम श्रेणीमा नै उत्तीर्ण भए।

आइएस्सी अध्ययन गर्दासम्म कुन विषय पढ्ने भन्ने सुधांशुलाई थाहा थिएन। त्यो बेला उनका हजुरबुवा साह्रै बिरामी परेछन्। रक्तश्राव भएर २५ पोका त रगत मात्रै चढाउनुपरेछ। सुधांशु हजुरबुवाको प्रिय जेठो नाती थिए। कतिले त सुधांशुका बुवालाई हजुरबुवाको जेठो छोरा र उनलाई कान्छो छोरा भन्ठान्थे रे।

हजुरबुवा सञ्चो भएपछि एक दिन सुधांशुलाई भनेछन्, ‘ठूलोराजा तैंले डाक्टर बन्नुपर्छ बुझिस्।’

हजुरबुवाको त्यो भनाइपछि मात्रै उनलाई डाक्टर नै पढ्नुपर्ला जस्तो लाग्यो। त्यो बेला छात्रवृत्ति कोटामा अध्ययन गर्न विदेश जानका लागि जम्मा ४ वटा कोटा आएका थिए। आइएस्सीमा टप टेनमा परे पनि ४ वटा मात्रै सिट आएकाले त्यो वर्ष भने उनले एमबीबीएस अध्ययन गर्न जाने मौका पाएनन्।

त्यसैले सुधांशु त्रिचन्द्र कलेजमा विएस्सी अध्ययनका लागि भर्ना भए। त्यसपछि उनलाई चिकित्साशास्त्र विषयको अध्ययन गर्ने भोक हराउँदै गइरहेको थियो। त्यहि बेला उनकी आमाको स्वर्गारोहण भयो।

पहिलो वर्षको परीक्षा सकिएपछि भने बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानका लागि दश वटा कोटा आएछ। पछि साथीले भनेपछि मात्र उनले थाहा पाए। तिनै साथीले फर्म ल्याइदिए, भरेपछि बुझाइदिए पनि। अन्तरवार्ता दिन पनि साथीकै करमा गए। त्योबेला ९० प्रतिशत आईएस्सीसम्मको नम्बर र १० प्रतिशत अन्तर्वार्तालाई आधार मानिन्थ्यो।

माइक्रोबायोलोजी विषयको अध्ययनमा रमाइरहेका उनको दोस्रो वर्षको पनि परीक्षा सकिएको थियो। अन्तरर्वार्ता दिएको करिब तीन महिनापछि छनोट परीक्षाको नतिजा आएछ। तिनै फर्म बुझाइदिने साथीले नाम निस्किएको नतिजा लिएर सुधांशुको घरमा पुगे।

त्यसपछि उनी पढ्न जाने की नजाने भन्ने दोधारमा परे। तर, परिवार लगायत सबैले पढ्न जानुपर्छ भन्ने उनलाई सुझाव दिए। त्यसपछि सुधांशु सन् १९८८ को अन्त्यमा छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययनका लागि बंगलादेश पुगे। पाँच वर्षे कोर्ष भए पनि आन्दोलनका कारण एक वर्ष अध्ययन लम्बियो। सुधांशु सन् १९९५ मा एमबीबीएस अध्ययनपछि नेपाल फर्के।

नेपाल फर्किएपछि डा. सुधांशु वीर अस्पतालमा मेडिकल अधिकृतको रूपमा करार जागिरे भएर काम गर्न थाले। उनी हजुरबुवा र हजुरआमासँग बस्न बढी रुचाउँथे। त्यो बेला सरकारी जागिर खाए सरुवा भएर टाढा जानुपर्ला भनेर सरकारी स्थायी जागिर नखाएको उनले सुनाए।

डा. सुधांशुलाई वीर अस्पतालमा मेडिसिन विभागमा नै काम गर्ने रुची थियो। त्यो बेला पहुँचवाला व्यक्तिका छोराछोरी (डाक्टर) ले मात्रै मेडिसिन विभागमा काम गर्न पाउँथे। पहुँचवालाहरूले खोजेकोे विभागमा काम गर्न पाउँथे। भनसुन गर्नका लागि पहुँच नभएका सुधांशुलाई भने आकस्मिक कक्षमा खटाइयो।

त्यो बेला वीर अस्पतालमा डा. सन्तोषमान श्रेष्ठ कलेजो (लिभर) युनिटको प्रमुख थिए। कलेजको युनिटमा डाक्टरहरू हत्तपत्त जान रुचाउँदैनथे रे।

कलेजो युनिट मेडिसिन विभाग अन्तर्गत नै पर्ने भएकाले त्यहाँ काम गर्दा मेडिसिन विभागको नै अनुभवको पत्र पाइन्थ्यो। त्यही लोभले डा. सुधांशुले डा. सन्तोषमानलाई भेटेर कलेजो युनिटमा नै काम गर्न दिन अनुरोध गरे। नभन्दै सन्तोषमानले पनि कलेजो युनिटमा डाक्टर नै नभएको अवस्थामा खुसी हुँदै उनलाई काम गर्न दिए।

त्यसैले आकस्मिक कक्षमा दुई महिना काम गरेपछि डा. सुधांशु कलेजो युनिटमा काम गर्न थाले। डा. सन्तोषमानसँग उनले कलेजो रोग सम्बन्धि राम्रो सिक्ने मौका समेत पाए। वीर अस्पतालमा डा. सन्तोषमानसँग काम गर्दा गर्दा उनलाई कलेजो रोगसम्बन्धि अध्ययन गर्ने रहर जाग्दै गयो। त्यो बेला नै उनले अल्ट्रासाउण्ड गर्न सिके।

त्यो बेला लेखरै मासिक २५ सय कमाइ
त्यो बेला वीर अस्पतालमा डा. सुधांशुको तलब थियो– तीन हजार। उनी ‘नाइट ट्युटी’ गर्थे। दिउँसो खाली हुन्थे। बचेको त्यो समयमा डा. सुधांशु काठमाडौं पोष्ट लगायत विभिन्न पत्रपत्रिकामा लेख लेख्थे। कहिले नेपालीमा त कहिलो अंग्रेजीमा।

प्रतिक प्रधान उनका मिल्ने साथी रहेछन्। नारायण वाग्लेसँग पनि चिनजान थियो। जसले गर्दा लेख प्रकाशित गर्न थप सहज भयो।

डा. सुधांशुले एउटा लेख लेखको ४÷५ सय पारिश्रमिक पाउँथे रे। महिनामा ४÷५ वटा भन्दा बढि लेख लेख्थे। त्यो बेला लेख लेखेरै डा. सुधांशुले मासिक दुई हजार पाँच सय भन्दा बढि कमाउँथे रे।

त्यसपछि उनले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा फर्माकोलोजी विषयका विद्यार्थीलाई मेडिको फिजियोलोजी पढाउने मौका समेत पाए। धुलिखेल गएका बेला एकै दिन हप्तामा दुईवटासम्म कक्षा लिन पाउँथे।

धुलिखेलमा मोटरसाइकलमा पढाउन पुग्थे उनी। एउटा कक्षाको ६ सय पाइन्थ्यो। हप्तामा दुई वटा कक्षा लिँदा महिनामा चार पटक धुलिखेल जाँदा मासिक चार हजार ४८ सय उनको कमाई हुन्थ्यो।

वीर अस्पतालको जागिर, लेख लेखेको पारिश्रमिक र धुलिखेलमा पढाए वापत पाउने पारिश्रमिक समेत गरेर डा. सुधांशुले त्यो बेला मासिक करिब साढे दश हजार कमाउँथे। त्यो उनको राम्रो कमाई थियो। हजुरबुवा, हजुरआमा र बुवाको साथमा बसेर उनले यी काम गरिरहेका थिए।

जापानमा अध्ययन
तर, वीर अस्पतालमा नै काम गरिरहेको समयमा सन् १९९८ मा हजुरबुवार हजुरआमा दुवै छ महिनाको अन्तरालमा कहिल्यै नआउने बाटोमा गए। हजुरबुवा र हजुरमाआमाको निधनपछि उनले थप अध्ययका लागि जापान जाने सोच बनाए।

त्यसैले सन् १९९८ सम्म करिब तीन वर्षसम्म डा. सुधांशुले कलेजो युनिटमा नै काम गरे। हजुरबुवा वितेको करिब छ महिनामा थप अध्ययनका लागि उनी सन् १९९९ मा जापान पुगे।

उनको अध्ययन र कामको मापदण्ड पुगेकाले त्यहाँको चिभा विश्वविद्यालयमा एमडि तहको रेडिजेन्सी कार्यक्रममा भर्ना भएर अध्ययन गर्न थाले।

त्यहाँको विश्वविद्यालयको मेडिकल कलेजमा उनले मेडिसिन विभाग अन्तर्गतको ग्याष्ट्रो इन्टेरोलोजी र हेपाटोलोजी विषयको अध्ययन गरे। उनले चार वर्षे अध्ययन पूरा गरे। त्यसपछि कलेजो रोग विशेषज्ञका रुपमा उनले विद्यावारिधी उपाधि पाए।

पुनः वीरमा नै जागिर, कलेजोमा केन्द्रित
सन् २००४ मा जापानमा अध्ययन गरेर नेपाल फर्किएपछि डा. सुधांशु पुनः वीर अस्पतालमा नै अस्पताल विकास समिति अन्तर्गत करार जागिरे चिकित्सकका रूपमा गर्न थाले।

ग्याष्ट्रो इन्टेरोलोजी र हेपाटोलोजी दुवै विषयको अध्ययन गरेको भए पनि कलेजो रोगमा नै केन्द्रीत हुने उनको इच्छा थियो। त्यसैले अस्पतालको कलेजो युनिटमा नै काम गर्न थाले। केही वर्षपछि उनी स्थायी भए।

नेपाल फर्केर पनि काठमाडौं नै बसेर काम गर्ने इच्छा थियो उनको। त्यसैले नेपाल सरकारतर्फको सरकारी जागिर खाए सरुवा हुनुपर्ने हुनसक्ने भएकाले आफूले अस्पताल विकास समिति अन्तर्गतकै जागिर भएर काम गर्न थालेको उनले सुनाए।

त्यसो त जापानमा उनले काम नपाएका पनि हैनन्। तर, वीर अस्पतालका नै एक जना पदाधिकारीले नेपाल फर्कन अनुरोध गरेका थिए। अर्कोतर्फ घरकै दालभात खाएर आफूले सिकेको सीप तथा ज्ञानले नेपालमा धेरैको ज्यान बचाउने सकिने देखेपछि आफू नेपाल फर्केको उनले सुनाए।

त्यो बेला वीर अस्पतालको विकास समितिमा मेडिकल अधिकृतको रूपमा जागिरे भएका उनी आठौं तहमा कार्यरत छन्। उनी प्राध्यापक समेतको भूमिकामा छन्। चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउँछन् उनी।

उनी प्रतिष्ठानमा डिएम हेपाटोलोजी कार्यक्रमको कोर्डिनिटरको भूमिकामा समेत छन्। तर, डा. सुधांशुले अहिलेसम्म आठौं तह बराबरको तलब तथा सेवा सुविधा मात्रै पाउँछन्। 

‘प्राध्यापकलाई प्राध्यापकको काम गराएर प्रतिष्ठानले आठौं तहको मात्रै तलब दिनु श्रम शोषण भइरहेको छ,’ उनले गुनासो पोखे।

यो उनको मात्रै समस्या हैन चिकित्सा विज्ञान प्रतिष्ठानको वीर अस्पताल विकास समितितर्फ काम गर्ने सबै चिकित्सकको पीडा हो। किनकी प्रतिष्ठानको नियममा आठौंं तहभन्दा माथि बढुवा हुने व्यवस्था नै छैन।

डा. सन्तोषमानमा कलेजो सम्बन्धी रोग पत्ता लगाउने विलक्षण क्षमता भएको उनले बताए। तर, जापानबाट नेपाल फर्किसकेपछि आफूले वीर अस्पतालमा गहिरो गरी सूक्ष्म तरिकाले कलेजोको उपचार गर्ने विधिको सुरु गरेको उनले सुनाए।

‘गर्वका साथ भन्न सक्छु नेपालमा एडभान्स तरिकाले लिभरको ट्रिटमेन्ट सुरु गरें,’ उनले सुनाए।

अहिले नेपालमा करिब एक दर्जन कलेजोरोग विशेषज्ञ रहेको डा. सुधांशुले सुनाए। वीर अस्पतालको कलेजो रोग विभागमा आधा दर्जन विशेषज्ञ चिकित्सक रहेको उनले सुनाए।

डा. सुधांशु उपचार सेवाको सिलसिलामा ६८ भन्दा बढि जिल्लामा पुगेका छन् भने ३५ मुलुकको भ्रमण गरेका छन्। त्यसैगरी उनले ५५ भन्दा बढि वैज्ञानिक अनुसन्धानमूलक लेख जर्नलमा प्रकाशित छन्।

जन्डिसको डाक्टरको रूपमा परिचित
त्यसो त डा. सुधांशुलाई धेरैले जन्डिसको डाक्टरका रूपमा समेत चिन्ने गरेका छन्। पहिला–पहिला सयजना जन्डिस भएका बिरामीमध्ये ९० जना त अस्पताल नगई आयुर्वेद उपचारतिर लाग्ने गरेको उनको अनुभव छ। तर, अहिले भने जन्डिसको लक्षण देखिएपछि डाक्टरकहाँ नै पुग्नेको संख्या बढ्दै गएको उनले सुनाए।

त्यसो त उनलाई आयुर्वेद विरोधीको डाक्टर भनेर समेत आयुर्वेदकै चिकित्सकहरूले आरोप लगाउने गरेका छन्। तर, आफू आयुर्वेदिक चिकित्सा विधिको विरोधी नभई आयुर्वेदका नाममा जथाभावी विना वैज्ञानिक ढंगले गरिने उपचारको मात्रै विरोधी भएको उनले सुनाए।

‘मलाई आयुर्वेदको विरोधी भन्छन्,’ उनले भने, ‘गलत उपचार तरिकाको विरोध गरेको हो। आयुर्वेदको विरोध गरेको हैन।’

किनकी आयुर्वेदको नाममा जथाभावी औषधि सेवन गरेर स्वास्थ्य जटिलता निम्तिएपछि कयौं बिरामी उनी कहाँ पुग्ने गरेका छन्। जन्डिस रोग नभई रोगको लक्षण हो। बाटो–बाटोमा आयुर्वेदको नाममा जथाभावी रूपमा जन्डिसको उपचार गरिने प्रवृतिले कयौं व्यक्ति स्वास्थ्य जटिलता निम्तिएर अस्पताल पुग्ने गरेको उनी सम्झन्छन्।

त्यसो त सुधांशुका बुवा बितेको तीन दिनपछि २०७२ को भुकम्प गएपछिको प्रसंग पनि उनका लागि अविस्मरणीय क्षण हो। उनी बुवाको काचक्रिया सकेपछि भने साथीहरू मिलेर भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर गरे।

सिन्धुपाल्चोक, नुवाकोट दोलखा लगायतका ठाउँमा पुगेर उनीहरुले स्वास्थ्य शिविरमार्फत उपचार सेवा दिए। पछि त्यही साथीभाइको टिमसँग संगठित भएर करिब ३० जना मिलेर ‘एक एक पाइला’ नामक समूह बनाएर स्वास्थ्य शिविरलाई निरन्तरता दिएको उनले सुनाए।

२ पुस, २०७९, १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।