‘शिक्षामा बजेट नबढे दिगो विकासका लक्ष्य समाप्त हुन्छ’

‘शिक्षामा बजेट नबढे दिगो विकासका लक्ष्य समाप्त हुन्छ’

काठमाडौं : शिक्षा क्षेत्रमा सरकारले आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने सरोकारवालाहरूले बताएका छन्। योजना र कार्यक्रम राम्रा भए पनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरूले बताए।

शुक्रबार शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘दिगो विकास लक्ष्यः कार्यान्वयनको स्थिति, चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनीहरूले तीनवटै सरकारले लगानीको प्रतिवद्धता नजनाएसम्म दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने दाबीसमेत गरे।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिए पनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने जिकिर गरे।

विद्यमान योजनाहरूको प्रभावकारी कार्यान्वयन भए शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनले दाबी गरे। तर, तत्कालका लागि भने बजेटको कमी रहेको उनले स्वीकारे।

शिक्षक, कर्मचारीहरूको तलबमा शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा खर्च हुने भएकाले विद्यालयहरूमा थप कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको उपसचिव अर्यालले बताए।

उनले भने, ‘विद्यालय तहमा अझै ५३ हजार शिक्षकको दरबन्दी कमी रहेको तथा १८ सय माध्यमिक विद्यालय अझै दरबन्दीविहीन रहेको भए पनि तीनवटै तहका सरकारले साझेदारीमा लगानी गरेर जाने हो भने लक्ष्य हासिल गर्न सकिन्छ।’

त्यस्तै स्थानीय तहका जनप्रतिनिधिहरूले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको दाबी गरेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्ष उमेश भट्टले संघले स्थानीय तहलाई योजना र जिम्मेवारीको अधिकार दिए पनि कार्यान्वयनका लागि बजेट नदिएको गुनासो गरे। स्थानीय तहमा विद्यालय शिक्षामा स–साना समस्या भए पनि त्यसलाई संघीय सरकारका योजनाले नसमेटेको उनले बताए।

पञ्चदेवल विनायक नगरपालिका अछामकी मेयर अम्बिका चलाउनेले बजेटको अभावमा स्थानीय तहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा काम गर्न सक्ने अवस्था नरहेको बताइन्। गुणस्तरीय जनशक्ति उत्पादनका लागि पहिले विद्यालयको आधारभूत तहमा लगानी बढाउनुपर्नेमा उनले जोड छ।

उनले भनिन्, ‘कम्तिमा देशभरका विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गरेपछि मात्रै गुणस्तरका लागि काम गर्न सकिन्छ।’

त्यस्तै पद्यकन्या मावि डिल्ली बजारकी प्रअ रिता तिवारी हुमागाईंले शिक्षा कार्यान्वयनको प्रमुख पक्ष विद्यालय र शिक्षकलाई वेवास्ता गर्दै बनेका शिक्षाका योजनाले लक्षित उपलब्धी हासिल नहुने भन्दै सधै शिक्षकहरूकै क्षमतामा प्रश्न गरिरहनु गलत भएको बताइन्।

सधैँ नराम्रो पाटोलाई मात्र हेर्ने बानीले गर्दा विद्यालय स्तरमा भइरहेको राम्रो काम कहिल्यै बाहिर आउन नसकेको उनको भनाइ छ।

यस्तै, पद्योदय मावि प्रदर्शनीमार्गका प्रअ नारायण गौतमले शिक्षकका समस्या नसुल्झिएसम्म शिक्षा क्षेत्रका समग्र समस्या समाधान नहुने बताए। शिक्षाको गुणस्तरमा सँधै शिक्षक मात्र गालीको पात्र हुने हुँदा भइरहेको शिक्षकहरू पनि निराश भएको तर्क उनले गरे।

कार्यक्रममा युनेस्को काठमाडौंका शिक्षा प्रमुख ध्रुव रेग्मीले सबै पक्षको प्रतिवद्धता र सहकार्यले दिगो विकासका लक्ष्य हासिल हुने भन्दै यसका लागि सबैपक्षले हातेमालो गर्न आवश्यक रहेको बताए ।

यता, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले भने सरकार शिक्षामा दिगो विकासका लक्ष्य हासिल गर्नेगरी अगाडि बढिरहेको दाबी गरे।

१ पुस, २०७९, २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।