लुम्बिनीमा संसदीय दलको नेता बन्न दौडधूप, कुन दलबाट कसको सम्भावना बढी ?

लुम्बिनीमा संसदीय दलको नेता बन्न दौडधूप, कुन दलबाट कसको सम्भावना बढी ?

बुटवल: केन्द्रीय राजनीतिमा तालमेल टुङ्गिएपछि सामान्यतया प्रदेशमा पनि सत्ता समीकरणको टुङ्गो लाग्ने गरेको छ। प्रमुख दलहरू हाल केन्द्र सरकारकै तालमेलबारे एकापसमा छलफलरत हुँदा प्रदेशमा अझै सत्ता समीकरणको स्पष्ट चित्र आएको छैन।

यद्यपि, मुख्यमन्त्रीका आकांक्षीहरूले भने संसदीय दलको नेता बन्ने दौडधूप सुरु गरेका छन्।

संसदीय दलको नेता बन्नसाथ बहुमत जुटे मुख्यमन्त्री बन्ने सम्भावना धेरै रहन्छ। बहुमत नजुटे संसदीय दलको नेताको रूपमा पनि प्राप्त हुने सेवासुविधा उपयोग गर्न पाइने भएकाले दलको नेता बन्न यतिबेला सांसदहरूले जिल्लादेखि पार्टीका केन्द्रस्तरका नेतासामु हिमचिम बढाएका छन्। 

लुम्बिनी प्रदेशमा खासगरी ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरू संसदीय दलको नेता बन्न लबिङमा लागेका छन्।

लुम्बिनी प्रदेश सभामा कसैको पनि स्पष्ट बहुमत छैन। त्यही कारण यहाँ साना दलहरूलाई समेत सहभागी गराएर सरकार गठन गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले मुख्यमन्त्री पाउने निश्चित भएकाले पनि नेताहरू लुम्बिनी प्रदेशमा संसदीय नेता बन्ने दौडमा लागेका हुन्।

सत्तासिन पार्टीबीच गठबन्धन गरेर चुनाव जितेका कांग्रेस र माओवादीले यदि केन्द्रमा गठबन्धन गरे लुम्बिनी प्रदेशमा पनि उनीहरूकै सरकार बन्ने छ। यस्तोमा लुम्बिनी प्रदेश सरकारको नेतृत्त्व कसले गर्ने भन्ने कुरा भागबण्डाअनुसार टुङ्गो लाग्ने छ। 

कांग्रेसका आकांक्षी

यदि कांग्रेसले प्रदेशको नेतृत्त्व गर्ने अवस्था आए मुख्यमन्त्रीको दावेदारमध्येका एक हुन, रुपन्देहीका अव्दुल रज्जाक। रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सांसद बनेका रज्जाक २०७० को चुनावमा संविधान सभा सदस्य र केही समय राज्यमन्त्री पनि भएका थिए। 

सुरुदेखि नै देउवा समूहका उनी पार्टीका केन्द्रीय सदस्य समेत हुन्। प्रदेश सभा सदस्यमध्ये पार्टी वरीयतामामाथि रहेकाले दलको नेतामा आफ्नो दावी भएको बताउँछन्।

त्यसैगरी दाङ ३ (क) बाट निर्वाचित डिल्लीबहादुर चौधरी पनि संसदीय दलको नेता बन्न जिल्लादेखि केन्द्रस्तरका नेतासामु लबिङ थालेका छन्। 

०७४ सालको निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका चौधरी हाल शहरी विकास तथा पर्यटनमन्त्रीको जिम्मेवारीमा छन्। उनी ०७० मा संविधान सभा सदस्यका साथै राज्यमन्त्री समेत बनेका व्यक्ति हुन्।

कमैया मुक्ति आन्दोलनको क्रममा बेस संस्थाको अध्यक्ष भएको नाताले शेरबहादुर देउवासँग २०५७ सालदेखि नै विशेष सम्बन्ध बनाएका चौधरी मुख्यमन्त्रीको प्रबल दावेदार हुन्।

त्यसैगरी दाङकै राजु खनाल पनि संसदीय दलको नेता बन्ने दौडमा छन्। उनले आफू संविधान सभा सदस्यको रूपमा समेत काम गरेको अनुभव भएकाले आफू संसदीय दलको नेतामा दावी गर्नु स्वाभाविक रहेको बताउँछन्।

लुम्बिनी प्रदेशमा कांग्रेसबाट १७ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी २७ जना सांसद छन्।

एमालेका आकांक्षी

त्यस्तै एमालेबाट संसदीय दलको नेता बन्न पनि रस्साकसी चलेको छ। संसदीय दलको नेता बन्नेमध्येका सवैभन्दा सम्भावित व्यक्ति हुन् लीला गिरी। 

प्रदेश सभामा निर्वाचित सांसदहरूभन्दा पार्टीभित्र सिनियर नेता रहेका गिरीलाई उम्मेदवार हुनासाथ लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा प्रचार गरिएको थियो। 

पोलिटब्यूरो सदस्य समेत रहेका गिरी ०७४ सालको निर्वाचनमा पनि सोही रुपन्देही क्षेत्र नं. १ (क) बाट निर्वाचित भई प्रदेशको पर्यटन मन्त्रालयको जिम्मेवारी समेत समालेका थिए। 

त्यसैगरी भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी पनि संसदीय दलको नेता बन्ने दौडमा छन्।

भूमिश्वर ढकाल रुपन्देही क्षेत्र नं. ५ (क) बाट निर्वाचित सांसद हुन्। ढकाल ०७४ सालमा प्रदेश सभामा निर्वाचित भएपछि प्रदेश सभाको एमाले संसदीय दलको सचेतक भएका थिए। 

खासगरी ढकाललाई रुपन्देहीबासीले राजधानीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गरेको आरोप लगाउने गरेका छन्। पोखरेलसँग निकट रहेका कारणले पनि पोखरेलले ढकाललाई संसदीय दलको नेता बनाउन चाहेका छन्।

ढकाल हुन नसकेमा कपिलवस्तु क्षेत्र नं. १(क) बाट निर्वाचित सांसद बिष्णु पन्थीलाई अघि सार्न चाहेका छन्।

त्यसैगरी संसदीय दलको नेता बन्ने दौडमा छन् भोजप्रसाद श्रेष्ठ। ०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका श्रेष्ठ बुटवलका पूर्व नगरप्रमुख हुन भने शंकर पोखरेल नेतृत्त्वको सरकारमा ९९ दिन स्वास्थ्यमन्त्री बनेका थिए। 

उनले पार्टीको आवश्यकता र कामको मूल्याङ्कनको हिसाबले आफूले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने बताउँदै आएका छन्।

५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले १८ सिट जितेको छ भने समानुपातिकबाट ११ गरी एमालेका कुल २९ सांसद छन्।

माओवादीका आकांक्षी

त्यसै माओवादी केन्द्रबाट जोखबहादुर महरा संसदीय दलको नेता बन्ने प्रमुख दावेदार हुन्। लामो समय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा काम गरेका महरा पार्टीका पोलिटब्यूरो सदस्य हुन्।

रोल्पा प्रदेश सभा (ख) बाट विजयी बनेका महरा गुल्मी चुनाव लडेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भएपछि महरा निर्विकल्प जस्तै रहेका छन्। 

तर, माओवादीकै उपाध्यक्ष कृष्ण महरा भने संसदीय दलको नेतामा दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित धनबहादुर मास्केलाई अघि सारेको बताइएको छ। 

लुम्बिनी प्रदेशमा पाँच जना प्रत्यक्ष तथा समानुपातिकबाट चार जना गरी नौ जना सांसद छन्।

१ पुस, २०७९, १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।