पुलमुनीको भाइरल घरमा छैनन् महेन्द्र र भक्तबहादुर

पुलमुनीको भाइरल घरमा छैनन् महेन्द्र र भक्तबहादुर

काठमाडौँ : अनामनगर र थापा गाउँ जोड्ने पुल नजिकै पुग्नेहरू अहिले पनि यसो पुल मुनी चियाएर हेर्छन्। तर अहिले त्यहाँ न खैरो ढोका छ न त ढोकामा झुन्डिने सानो ताल्चा। त्यहाँ न त छन् महेन्द्र यादव।

भत्किएको ढोकाबाट पूर्वतिर सानो सुरुङ जस्तो देखिन्छ। त्यही सुरुङजस्तो खोँचबाट भित्र बस्थे महेन्द्रको परिवार।

२१ गते एक हुल नगर प्रहरी केही युट्युबर बोकेर एक्कासि पुल मुनी पुग्यो। पुल मुनी बनेको बाटोमा केही अवरोध नगरी उनले बस्ने बासको व्यवस्था गरेका थिए। काठमाडौँका गाडामा तरकारी राखेर जीविकोपार्जन गर्नेहरूसँग म्याराथन खेलेर अनुभवी भएका नगर प्रहरीले पुलमुनिको उनको बासलाई भव्य भवनसँग दाँज्दै तत्काल त्यो भवन खाली गर्न निर्देशन दिएका थिए।

६० वर्षीय महेन्द्र यादव अब कहाँ जाने भन्ने बिलखबन्दमा देखिएका थिए २२ गते उकेराकर्मी पुग्दा। महानगरका नगर प्रहरीले गरेको व्यवहारबाट चित्त दुखेकै थियो उनलाई। त्यसभन्दा बढी चित्त बटुवाको क्वारक्वार्ती हेर्ने व्यवहारले दुखाएको रहेछ।

'बिना वार्ता एक्कासि घरमा छिरेर निर्देशन दिएकोमा कसरी मान्ने ? कहाँ जाने ? केही जानकारी त दिनुपर्थ्यो ?’ लगायतका थुप्रै प्रश्न बोकेर दशकौँदेखि पुल मुनी बसेका महेन्द्रको परिवार एकाएक हरायो त्यहाँबाट।

सरसामान पोको पारेर उनीहरू कहाँ गए स्थानीयलाई समेत थाहा छैन। स्थानीयका अनुसार सोमबार राती उनीहरू सामान बोकेर गए। कहाँ गए कसैलाई भनेनन्।

महानगरले व्यवस्थापन नगरेसम्म कहीँ नजाने भन्दै थिए महेन्द्र उकेराकर्मीसँग। एकाएक उनी परिवारसहित हिँडेको सुनेर उकेराकर्मी पुग्दा महानगरका नगर प्रहरीले भव्य महल भनेको साँघुरो कोठामा फुटेको केही गमला र बत्तीको ’प्ल्ग’ मात्र झुन्डिरहेको थियो।

१३ वर्षदेखि पुलमुनि बसेका महेन्द्र : भएको जग्गा कोसीले लग्याे, बास खोस्न महानगर आयो

एक साता अघि महेन्द्रको छोराले ’यहाँ पार्क बनाउने रे, त्यही भएर ठाउँ खाली गर्नु पर्यो रे !’ भनेका थिए । अहिले ढोकैमा फुटेको गमलाहरू छरपस्ट थिए।

बुढेसकालमा सहरले हेला गर्यो ’

महानगर प्रहरीले भाइरल बनाएपछि बाटोमा हिँड्ने सबैले अपराधी जस्तै गरेर हेर्न थालेको भन्दै चित्त दुखाएका थिए उनले। वर्षौँदेखि श्रम गरेको सहरले बुढेसकालमा हेँलागर्यो भन्दै थिए उनी।

खाडी जाने तयारी गरिरहेका भर्खरै १२ कक्षाको जाँच दिएर बसेका उनको छोरा त्यस बखत भक्कानिएर रोएका थिए। केही बेर उनको भत्किएको घरमै बसिरहँदा पनि महेन्द्र र उनको परिवार त्यहाँ देखा परेनन्। उनलाई फोन गर्दा उनी काममै गएका रहेछन्।

घर छोडेर जानु भए छ त भन्ने प्रश्नमा उनले भने 'काँ जान्छु त्यहाँ बाट म! छोराहरूले गर्दा सामान सार्नुपर्यो। उनीहरूले लाज भयो भन्यो । त्यै भएर केही सामान छोरीकोमा सारे केही सामान पुल मुनी राखेको छु।’

वर्षौँदेखि त्यस ठाउँमा दुख गरेर बसे पनि कोही सोध्न नआएको तर एक्कासि घर खाली गर्नु भन्दै नगर प्रहरी आएर दुख दिएको बताए उनले। २१ गते युट्युबवरको हुल बोकेर आएको नगर प्रहरी त्यसपछि भने आएका छैनन् रे।

सडक विभागमा ज्यालादारी काम

सिमेन्टको भित्ता भत्काए पनि अब काठको ’प्लाई’ बेरेर बस्ने उनको योजना रहेछ।

'सबैले भाइरल बनाइदिए। कोठा पनि कहाँ पाइन्छ होला र! भाडा कसरी तिर्न सकिएला र। पहिले देखिनै आफ्नो व्यवस्था गर्दै आएको थिए। अब पनि गर्छु’ उनले भने।

उनी दिनभर काममा गएर बेलुका सुत्न त्यही पुलमुनिकै आउने रहेछन्। बिहे गरेको छोरी पनि भाडामै बसिरहेकाले छोरीसँग बस्न नसक्ने उनले बताए।

भक्तबहादुर त्यहाँ छैनन्

अनामनगर पुलमुनि बस्ने महेन्द्रलाई जस्तै नगर प्रहरीले यूट्युवरको हुल लगेर भाइरल बनाइदिएका अर्का हुन् विष्णुमती पुल मुनी गाई पालन गरिरहेका भक्तबहादुर। उनी पनि अहिले त्यहाँ छैनन्। त्यहाँ एउटा बाछो मात्र छ। त्यो पनि बिरामी भएर छोडेको रे।

उनको छोरी सुनिताले बताए अनुसार ती गाई सबै लगेर लिएर उनको बुबा कीर्तिपुरमा गएका छन्। सुनिता भने दिउसो एक छिन पुलमुनि आउने गर्छिन्। त्यहाँ उनले छ वटा बेवारिसे कुकुर पालिरहेकी छिन्।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर त्यस्तो ठाउँमा बस्न थाल्यौँ भने व्यवस्थित र सुरक्षित ठाउँ कसरी बनाउने भनेर  उनीहरूलाई लखेटेको भन्दा पनि त्यो भन्दा राम्रो र लायक ठाउँमा जान अनुरोध गरेको दाबी गर्छन्।

व्यवस्थापन नगरी महानगरले हटाउन लागेको भन्ने गुनासोमा प्रवक्ता मानन्धरले भने, ’व्यवस्थापन गर्न त्यति सजिलो छ र ?बसोबास गर्न नसक्ने सबैलाई लगेर महानगरले व्यवस्थापन गर्ने अवस्थै छैन नि।'

२९ मंसिर, २०७९, २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।