बौद्ध विश्वविद्यालयको विषयमा भ्रम छरेको भन्दै निन्दा

बौद्ध विश्वविद्यालयको विषयमा भ्रम छरेको भन्दै निन्दा

बुटवल: लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयका विषयमा केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारबाट भ्रम छरिएको भन्दै निन्दा गरेको छ। विश्वविद्यालयमा भएका नियुक्ति तथा शिक्षकहरूका विषयमा लगाइएका आरोपहरू तथ्यहीन भएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयमा भएका नियुक्ति नियमविपरीत भएको र नातागोताका आधारमा भएको भन्ने समाचार रातोपाटी अनलाइनलगायत केही सञ्चारमाध्यममा प्रकाशित भएपछि विश्वविद्यालयले त्यसको खण्डन गर्दै समाचारमा उल्लेख गरिएका विषयहरूमा कुनै पनि सत्यता नभएको जनाएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले विश्वविद्यालय ऐनको दफा २३ को उपदफा २ बमोजिम रजिष्ट्रारको नियुक्ति प्रधानमन्त्री एवं कुलपतिबाट भएको जनाएको छ।

‘रजिष्ट्रारको नियुक्ति कसरी हुन्छ भन्ने समान्य जानकारी समेत नभई समाचार प्रकाशित गर्नुले नियत गलत रहेको पुष्टि गर्दछ, सूचना अधिकारी चुरामणि पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सत्य, तथ्य सूचनाका आधारमा जनतालाई सुसूचित गर्ने अहम् भूमिका सञ्चारमाध्यमको रहन्छ। सञ्चारमाध्यमा प्रकाशन र प्रशारण हुने समाचारहरू सत्य तथ्यमा आधारित र निष्पक्ष हुन्छन् भन्ने कुरामा आम नागरिक विश्वास गर्छन्। तथापि, मिति २०७९ मंसिर २७ गते रातोपाटी अनलाइनमा प्रकाशित लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बन्धित समाचार हेर्दा आश्चर्यचकित बनाएको छ।' 

विश्वविद्यालयले समाचारको खण्डन गर्दै लगाइएका आरोपहरूको प्रमाण समेत दिएको छ। विश्वविद्यालयमा स्थायी, करार, कोर्ष करार, आगन्तुक शिक्षक तथा विज्ञ रहने व्यवस्था छ। हाल विश्वविद्यालयमा कार्यरत प्राज्ञिक जनशक्ति विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २०,२१ र २३ बमोजिमको प्रक्रिया पुर्याई नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

समाचारमा भनिएजस्तो करारमा नियुक्त शिक्षकसँग कुनै पनि पदाधिकारीको नाता सम्बन्ध नरहेको जनाइएको छ। त्यस्तै २०७२ सालमै एलएलएम गरेका शिक्षकलाई योग्यता नपुगी नियुक्त गरिएको भन्ने भ्रम फैलाउने काम भएको भएको विश्वविद्यालय प्रशासनले जनाएको छ।

विश्वविद्यालयको पुस्तकालय भवन निर्माणका सन्दर्भमा रजिष्ट्रारले आर्थिक लाभ लिएको विषय निराधार र कपोलकल्पित रहेको विज्ञप्तिमा जनाइएको छ।

‘समाचारमा उल्लेख गरिएजस्तो पैसा जम्मा गर्नका लागि विश्वविद्यालयका रजिष्ट्रारको माछापुच्छ्रे बैंकमा खाता नै हालसम्म नखोलेको अवस्था छ। आवश्यक परेमा माछापुच्छ्रे बैंकबाट सूचना लिन सकिन्छ। तसर्थ यो काल्पनिक विषय हो', विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा समय–समयमा विषय विज्ञ आमन्त्रण गरी विशेष कक्षा सञ्चालन हुने गरेको र सोही क्रममा विषय विज्ञहरूलाई होटलमा राख्ने गरिएको र त्यो नियमसङ्गत रहेको जनाइएको छ।

विश्वविद्यालयमा रहेको सबै डिनहरूको नियुक्ति विश्वविद्यालय ऐन २०६३ को दफा २४ (२) बमोमिज कार्यकारी परिषद्को निर्णयबाट हुने गरेको र आवश्यक भए प्रमाण लिन विश्वविद्यालयमा आउन आग्रह गरिएको छ।

विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २३ ले विषय विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरेको, सो अधिकार कार्यकारी परिषद्मा रहेकाले सोही अधिकारभित्र रहेर विषय विज्ञ नियुक्त हुने गरेको जनाइएको छ। शिक्षकहरूको चरित्रमाथि गम्भीर प्रकृतिको आरोप लगाइएको प्रति विश्वविद्यालयले खेद व्यक्त गरेको छ।

‘समाचारमा उल्लेख गरिएका आरोपहरु पदाधिकारीको चरित्रहत्या तथा विश्वविद्यालयको साख गिराउने र बदनाम गर्ने नियतबाट समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ, विज्ञप्तिमा जनाइएको छ।

शिक्षकमा फेल भएका खनालले गरे भ्रमको खेती
विश्वविद्यालयबाट पदपूर्तिका लागि प्रकाशित सूचनाअनुसार सहप्राध्यापकका लागि आवेदन दिएका दाङका दीपक खनालले आफू फेल भएको रिसमा विश्वविद्यालयको बदनाम गर्न खोजेको विश्वविद्यालय स्रोतले जनाएको छ। ‘दीपक खनालले सहायक प्राध्यापकमा आवेदन दिएका थिए, मौखिक परीक्षाका दिनसम्म पनि उनले आफ्नो एलएलएम पास गरेको सर्टिफिकेट देखाउन सकेनन्', एक अधिकारीले भने, ‘योग्यता नै नभएपछि उनले अन्तर्वार्ताकारसँग अभद्र व्यवहार गर्दै परीक्षाहलबाट बाहिरिएका थिए। त्यही रिसमा उनले विश्वविद्यालयको विषयमा भ्रम छरिरहेका छन्।’

खनालले आफ्नो कमजोरी ढाकछोप गर्न भ्रमण फैलाउने काम गरेको बताइएको छ। उनले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकर्ता केन्द्रमा समेत अनावश्यक आरोप लगाउदै उजुरी दिएको बताइएको छ।

शिक्षकमा फेल भएका खनालले विश्वविद्यालयको बुटवल सिटी क्याम्पसमा अध्ययनरत केही विद्यार्थीलाई समेत दुरुपयोग गरी विश्वविद्यालयको विषयमा भ्रम फैलाउने काम गरेको बताइएको छ। उनकै निर्देशनमा क्याम्पसमा होहल्ला समेत गरिएका थिए।

२९ मंसिर, २०७९, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।