डोजरले सुन्धारा पानी बग्ने टुँडाल भाँचियो, आफूले नभत्काएको बालेनको स्पष्टिकरण

डोजरले सुन्धारा पानी बग्ने टुँडाल भाँचियो, आफूले नभत्काएको बालेनको स्पष्टिकरण

काठमाडौंः धरहरा पुनःनिर्माण परियोजना अन्तर्गत ट्यांकीको लागि जग खन्ने क्रममा सुन्धाराको पानी बग्ने टुँडाल भाँचिएको छ।

आइतबार रमण कन्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको सुन्धाराको पछाडि ठूलो खाडल बनाइ ट्याङ्की निर्माण गर्ने क्रममा ३१ फिट लामो टुँडाल भाँचिएको थियो।

घटनापछि महानगर प्रमुख बालेन्द्र साह, वडा नम्बर २२ का वडाध्यक्ष र स्थानीयले कार्यस्थलमै गएर सम्पूर्ण काम रोक्न निर्देशन दिएका हुन्।

२०७२ सालको भूकम्पले क्षतविच्छेद भएको धरहराको भग्नावशेषको उचित संरक्षण नगरेर सुन्धाराको अस्तित्व नै समाप्त पार्ने प्रयास भएको महानगरले जनाएको छ। सुन्धारा संरक्षणमा सरकार कहिल्यै संवेदनशील नभएको महानगरको आरोप छ।

मेयरमाथि नै प्रश्न उठ्दा...
सुन्धारामा डोजर चल्दा पुरातत्व विभागका प्रतिनिधिको उपस्थिति नभएको स्थानीयले दाबी गरे। संरचनामा क्षति भएसँगै वडा प्रतिनिधिहरू निर्माणस्थलमा पुगे। त्यहाँ पुग्दा उनीहरूलाई रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले महानगरको निर्देशनमा उक्त कार्य गरेको बताएका रहेछन्।

महानगर र मेयर बालेन्द्रको नाम जोडिएपछि वडाले महानगर प्रमुखलाई सम्पर्क गरे। त्यसै अनुरुप मेयर बालेन पनि तुरुन्तै पत्रकार सम्मेलनमा उपस्थिति भए। मेयर शाहले आफु र महानगर यस विषयमा जानकार नभएको स्पष्टिकरण दिए।

‘सुन्धाराको प्रोजेक्टमा महानगरको कुनै हात छैन। महानगर अन्तर्गत सुन्धारा जस्तो संस्कृतिक तथा पुरातात्विक संरचना परेको हुँदा हामीले त्यसको संरक्षण गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएको हो,’ उनले भने, ‘हामी त्यहाँबाट पानी निकालिनुपर्छ भनेर माथिल्लो तहसँग समन्वय गर्ने मात्र हौ।’

‘परियोजनाको सम्पूर्ण कार्य बन्द गर्नुपर्छ’
‘ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति(धरहरा) करिब दुई सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिएता पनि सो पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको महानगरले दाबी गरेको छ।

धरहराको रुपमा ‘सेतो टावर’ बने पनि सुन्धाराको ऐतिहासिकता बारेमा सरकारले ख्याल नगरेको भन्दै स्थानीय जनप्रतिनिधिले ऐतिहासिक मूल्य मान्यताअनुसार सुन्धाराको पुनर्निर्माणको प्रत्याभूति नभएसम्म परियोजनाको सम्पूर्ण कार्य बन्द गर्न माग गरे।

साथै भइरहेको संरचनामा क्षति पुर्याउनेलाई कारबाही गर्ने र सम्पदा पुनर्निर्माणमा स्थानीय प्रतिनिधि र पुरातत्वविधको अनिवार्य सहभागी हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

पत्रकार सम्मेलनपछि वडा र महानगरका जनप्रतिनिधिहरू निर्माणस्थलमा गए। वडाका प्रतिनिधिहरूले कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर नकर्मीलाई मेयरलाई साक्षी राखेर नियतबस नै भत्काएको मात्र आरोप लगाएनन्, यस्तो गर्नेलाई ‘चारपाटे मुडेर, जुत्ताको माला लगाएर’ निकाल्ने धम्किसमेत दिए।

त्यसैबीच सुन्धारा संरक्षणको संयोजक समेत रहेका स्थानीय गौतम डंगोलले नकर्मीलाई सोधे ‘तपाईले मेयरले डोजर लगाउनु भनेको हैन? मेयर यहिँ छ ल भन्नु अब के भन्ने?’

नकर्मीले जवाफ फर्काए, ‘मैले मेयरको नाम लिएको छैन। हामीलाई माथिबाट काम गर्ने निर्देशन छ। त्यहि अनुसारले काम गरेको हो।’

यहीबीच मेयर शाहले भने, ‘तपाईंले मेरो नाम लिन नहुने।’

चलिरहेको परियोजनाप्रति महानगरले आपत्ति जनाए पनि आगामी कार्यदिशा र योजनाबारे महानगर बोलेको छैन।

मजदुर अन्योलमा
यता निर्माणकार्य सञ्चालनमा सक्रिय रहेका मजदुर भने अब कहिले सम्म काम रोकिने भनेर अन्योलमा परेका छन्। प्रोजेक्ट म्यानेजर नकर्मी पनि आफूहरूले काम गर्न चाहे पनि स्थानीयको अवरोध गरेको बताए।

कुनै समय स्थानीयहरूको दैनिक जीवनमा उपयोग हुँदै आएको खानेपानीको एउटा महत्त्वपूर्ण र मुख्य स्रोत सुन्धारा नष्ट हुँदै गएको भने ०४३ साल देखिनै हो।

सरकारी निकायहरूको किचिलोपनले गर्दा सुन्धाराको अस्तित्व नै समाप्त हुने स्थितिमा छ। अब उक्त ठाउँबाट पानी आउन सक्ने सम्भावना छ कि छैन भनेर छुट्टै अध्ययन गर्नुपर्ने स्थानीयको माग छ।

४३ सालमै संचयकोषको व्यापारिक भवनको भूमिगत जग खन्ने क्रममा सुन्धाराको पानीको मुहानको मूख्य स्रोतमा पूर्ण क्षति भइसकेको  थियो। स्थानीयहरूले विरोध गर्दै आए पनि सुन्धाराबाट पानी भने ठ्याप्पै आएन।

धरहरा पुनःनिर्माण परियोजना सरकारले सार्वजनिक गरे पनि सुन्धारामा प्राकृतिक रूपबाटै पानी निकास गर्ने कुनै योजना भने सार्वजनिक गर्न सकेन।

तर, स्थानीयकै निरन्तरको दबावपछि तत्कालीन सरकार सुन्धारामा प्राकृतिक रूपमा पानी ल्याउन र निकास गर्न सहमत त भयो तर, त्यसपछि के भयो कसैलाई थाहा छैन। सुन्धाराबाट न पानी आयो न संरचना नै ठगानमा छन्।

बरु थोरै–थोरै गरेर सबैको अगाडि नै सुन्धारा क्षतिग्रस्त हुन पुगिसकेको छ। स्थानीय मौलिक खानेपानीको गौरवपूर्ण सभ्यता र प्रविधिको पुनःनिर्माण हुन्छ भन्ने कुरामा विस्वस्त हुन नसकेको स्थानीयहरूले बताउन थालेका छन्।

२६ मंसिर, २०७९, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।