बुटवल शहरमा कौसी खेतीको रहर

बुटवल शहरमा कौसी खेतीको रहर

बुटवल : कोभिडका कारण शहरका बसेका सर्वसाधारणले तरकारी अभाव झेले। पाए पनि स्वच्छ तरकारी भेट्नै मुस्किल भयो। कोभिडको बेला मात्र होइन स्वच्छ तरकारी त अन्य समयमा पनि पाउन मुस्किल नै हुन्छ।

समस्यालाई मध्यनजर गर्दै शहरका केही नागरिकले विकल्पको रूपमा कौसी खेती सुरु पनि गरे। रहरले गरेको खेती रहेर मरेसँग मर्यो।

स्थानीय पालिकाहरूले समेत कौसी खेतीलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाए। तर, बिलासी जीवन बिताइरहेका शहरमा बसेकाहरू त्यसमा आकर्षित हुन सकेनन्।

शहरमा प्राय रहरको रूपमा गरिँदै आएको कौसी खेतीलाई बुटवलको एक कृषि सहकारीले भने नियमित कार्यक्रमकै रूपमा अघि सारेको छ। तरकारीमा आत्मनिर्भर बनाउन आफ्नो शेयर सदस्यहरूका लागि सहकारीले वैज्ञानिक कौसी खेती प्रवर्द्धनको कार्यक्रम अघि बढाएको हो।

बुटवल देवीनगरमा रहेको पानस कृषि सहकारी संस्थाले उज्यालो नर्सरी स्थापना गर्दै कौसीलाई ईको गार्डेनको रूपमा परिणत गर्ने र सहकारीका सदस्यहरूलाई कौसी खेतीमा आर्कषित गर्ने योजना अघि बढाएको सहकारीका अध्यक्ष शोभाकर सुनारले बताए।

पछिल्लो समय तरकारीमा अनियन्त्रित मुल्यवृद्धि भइरहेको र बजारमा बिक्रि हुने तरकारी विषादीयुक्त रहने भएकाले पनि सहकारीको माध्यमबाट कौसी खेतीलाई प्रवर्द्धन गरिएको उनको भनाइ छ। हालसम्म सहकारीका ३५ भन्दा बढि सदस्यले कौसी खेती गरिरहेका छन्।

कृषि नर्सरी उपसमिति नै गठन गरी सहकारी सदस्यलाई बढि भन्दा बढि नर्सरी र कौसी खेतीमा आर्कषित गराउन विभिन्न सचेतनामुलक योजना समेत अगाडि बढाउने सुनारले बताए। उनका अनुसार कौसी खेती गर्ने सदस्यलाई आवश्यक विउ, मल र कृषि सम्बन्धी ज्ञान सहकारीले उपलब्ध गराउँछ।

‘हाम्रो कृषि सहकारी भएका कारण यो कौसी खेती कार्यको आरम्भ गरेका हौँ। सुरुवाती चरणमा राम्रो प्रतिक्रिया पनि पाएका छौँ। यसलाई कसरी दिगो बनाउन सकिन्छ र धेरैभन्दा धेरै सदस्यलाई कसरी जोड्न सकिन्छ भन्नेमा हामी गम्भीर भएर लागेका छौँ’, अध्यक्ष सुनारले भने ।

बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले कृषि सहकारीले सदस्यहरूलाई क्रृण र व्याज मात्र असुल्ने नभई वैज्ञानिक कौसीखेती प्रवर्द्धनको कार्यक्रम अघि सारेकोमा धन्यवाद दिए। उनले बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाइने अवस्थामा सदस्यले आफ्नै छतमा तरकारी उत्पादन स्वास्थ्यको लागि समेत फाइदाकर भएको बताए।

कौसी खेती गर्ने सहकारीका सदस्यहरूले छतमा गोलभेडा, सिमी, खुर्सानी, प्याज, धनिया, मौसम अनुसार साग, लसुन तथा विभिन्न फलफूलका विरुवाहरू लगाउने गरेका छन्।

बुटवल उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर खनालले पछिल्लो समय सहकारीहरू नीति विपरीत सञ्चालन हुँदा अप्ठयारोमा पर्ने गरेको बताउँदै लगानी गर्दा विशेष ध्यान दिन सहकारीलाई आग्रह गरे। उनले नर्सरी स्थापना र कौसी खेती कार्यक्रममा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कृषि उपसमितिका मेजरजंग कुँवरले ‘कुराको खेती होइन, खेतीको कुरा गरौँ’भन्ने नारा साथ सदस्यहरूलाई विउ, विजन, मल, गमला सहित आवश्यक सामाग्रीहरू उपलब्ध गराउने बताए। 

कुल ३६८ सदस्य रहेको सहकारीको कुल सम्पत्ति २ करोड ६३ लाख ६३ हजार रहेको छ। ७८ लाख ८४ हजार सेयर पुँजी रहेको सहकारीको निक्षेप १ करोड ७१ लाख ३३ हजार रहेको छ। सहकारीले धन जमाति ऋण, धिगो ऋणमा १४ प्रतिशत र कृषि ऋणका लागि १२ प्रतिशत व्याजदर उपलब्ध गराउँदै आएको छ।

२६ मंसिर, २०७९, १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।