२२ वर्षसम्म सडक नछाडेका राजेश, जसका ग्राहक पूर्वप्रधानमन्त्री र मन्त्री पनि

२२ वर्षसम्म सडक नछाडेका राजेश, जसका ग्राहक पूर्वप्रधानमन्त्री र मन्त्री पनि

करिब एक वर्षदेखि राजेश गजुरेल(३५)को दैनिकीमा परिवर्तन आएको छ।

पहिलेको जस्तो विहान सबेरै न्युरोड पुगेर गाेदामका सामान झिक्नुपर्दैन। आरामले आएर पसल खोले हुन्छ। तर, भुइँमा किताब राखेर बेच्दा जति सहज भने छैन अहिले उनलाई।

गोरखापत्र संस्थानको बाहिर खुल्ला रूपमा ग्राहकसँग रमाएका उनलाई अहिले आफ्नो पसल चिनाउनै सकस भएको छ। न्युरोडको पाइलट पेन नजिकैको गल्लीभित्र छिरेपछि उनको पसल पुगिन्छ। ग्राहक नअल्मलिउन् भनेर गजुरेल सडकमै २/४ थान किताब राखेर बसिरहन्छन्।

पसल गल्लीभित्र भएकाले ग्राहक आउन अफ्ट्याराे मानेको जस्तो लाग्छ उनलाई।

‘बाहिर सडकमा हुँदा जसरी कुरा हुन्थ्यो, अहिले ग्राहकहरू कम भएको हो कि जस्तो लाग्छ,’ गम्भीर हुँदै उनले सुनाए।

स्थान सर्दा पहिलाका ग्राहक आउन समस्या हुनुका साथै नयाँ ग्राहक बनाउनसमेत चुनौती थपिएको महसुस भएका छ उनलाई।

२२ वर्षसम्म सडकमै पसल
राजेशले सडकमा पसल राखेकाे २२ वर्ष भयो। त्यसयता उनले पाठकहरूको स्वाद अनि किताबको ‘क्रेज’ पनि रामोसँग नियाल्न भ्याए। सुरुवाती दिनमा बुवाआमासँग सोहि ठाउँमा पत्रिका बेच्थे। कहिले पत्रिका किन्न आउने ग्राहक कुरेर बस्थे भने कहिले पत्रिका घर/अफिसमा पुर्याउन जान्थे।

०४४ सालमा नुवाकोटबाट सपरिवार काठमाडौं आएका राजेशले चार कक्षासम्म प्राइभेट स्कुल पढे। तर परिवारकाे आर्थिक अवस्था कमजोर हुँदै गएपछि सरकारीमा भर्ना भए तर एसएलसीसमेत दिन पाएनन्। दश कक्षा पढ्दा–पढ्दै विद्यालय जान सकेनन् उनी। घरकाे जेठाे छाेरा भएकाले व्यवहारले थिच्याे।

विद्यालय शिक्षा नपाएकाेमा उनलाई धेरै मनखत छैन। बाहिरिका ज्ञानले आफूले धेरै कुरा सिकेकाे बताउँछन् उनी।

‘अलि पढ्न पाएको भए पनि कुनै अरु ठाउँमा त पुग्थे होला। तर, स्कुलको शिक्षा लिन नसके पनि पत्रपत्रिका, बाहिरी किताबले धेरै ज्ञान हुने रहेछ। शिक्षाको लागि मलाई स्कुल नै पुगिराख्नु परेन,’ उनले भने, ‘बाहिरी किताबले मलाई जीवन कसरी जिउने र संघर्ष कसरी गर्ने भनेर अलि चाँडो सिकायो। कुनै किताबले मलाई दुई रूपैयाँ पनि कसरी बचाउने भन्ने सिकायो भने कुनैले थोरै पैसामा पनि कसरी लगानी गर्ने भनेर सिकायो।’

उनीसँग गाेरखापत्र संस्थानकै अगाडि बसेर दिनमा १ हजार प्रतिसम्म गोरखापत्र बिक्रि गरेको अनुभव छ। रेडियो, टेलिभिजन, मोबाइलजस्ता कुनै पनि साधनको पहुँच नभएको समयमा पत्रिकाको एकदमै ठूलो बजार थियो।

‘ब्ल्याक’ मा पत्रिका बिक्रि
न्युरोडमा पत्रिका पढ्दै चिया गफ सुन्नुको मज्जा बेग्लै हुने बताउँछन् उनी।

‘मर्निङ्ग वाकपछि त त्यहाँ जमघट नै हुन्थ्यो। आफू बाटोमा बसे पनि मैले ती झुम्म बसिरहेका मान्छेहरूको कुरा अनि पत्रपत्रिका पढेर धेरै कुरा सिक्न पाए,’ उनले थपे, ‘म बीचमा हुन्थे अनि पत्रिका पढ्नेहरू छेउ–छेउमा। अब देश यस्तो हुन्छ। अब यो आउँछ। यसले यस्तो गर्छ भन्ने कुरा गरिरहनुहुन्थ्यो।’

लगभग सबै रेडियाे र टेलिभिजन च्यानलहरूमा विहानको समाचारका लागि उनी पत्रिका पुर्याउन जान्थे। प्रहरी हेड क्वाटर, आर्मी हेड क्वाटर सबैमा पत्रिका पुर्याएपछि मात्र पसल खोल्न आउँथे उनी। गोरखापत्रबाहेक अन्य कुनै पत्रपत्रिका नभएको समयमा एउटै पत्रिकाको एकछत्र राज थियो। त्यै भएर पनि उनलाई किनबेच गर्न धेरै झन्झट भएन।

‘कान्तिपुर, नयाँ पत्रिका त पछि त आएको हो। त्यसबेला हामीलाई त त्यै एउटा पत्रिका (गोरखापत्र) बेचेर नै पुग्थ्यो,’ उनले भने।

उनलाई थाहा भएसम्म उनको बाबाले एउटा पत्रिका पचास पैसामा बेच्थे। अनि उनी आफैँले चाहिँ दुई रुपैयाँदेखि पाँच रूपैयाँसम्म बेचे। उनलाई थाहा भएसम्म उनले सबै भन्दा धेरै पत्रिका बेचेको ‘राजदरवार हत्याकाण्ड’को समयमा रहेछ।

त्यस समय यति धेरै उनले पत्रिका बेचे कि रेकर्ड नै छैन रे। त्यसै समयमा उनले ‘ब्ल्याक’मा समेत पत्रिका बेचेका रहेछन्। अनि त्यसपछि भने एसएलसीको रिजल्ट आउने समयमा पनि उनले ‘ब्ल्याक’मा पत्रिका बेच्न भ्याएछन्।

‘ब्ल्याकमा बेचेको भन्नुको मतलब अगाडि नै मलाई पत्रिका चाहियो भनेर अलि धेरै पैसा दिइराख्नुहुन्थ्यो,’ उनले भने, ‘मैले त्यस समय एउटा पत्रिका सय रुपैयाँसम्ममा बेचेँ।’ 

एसएलसीको रिजल्ट आउने बेला रातभरी नसुतेको अनुभव पनि छ उनीसँग।

‘एसएलसीको रिजल्ट आउने समयमा हामी पनि रातभर सुत्दैन थियौं। कति खेर विहान हुन्छ अनि बेच्न जान्छौं भन्ने हुन्थ्यो। अनि पाँच रूपैयाँ पर्ने पत्रिकालाई पचास/सय दिनुहुन्थ्यो,’ उनले सुनाए।

वरिपरी अरु पनि धेरै ठाउँमा पत्रिका बेच्ने भए पनि न्युरोडमै अनि संस्थानकाे बाहिरै भएकाले अलि छिटो आफूहरूले दिने ग्राहककाे आँकलन हुनेसक्ने र्नकाे अनुमान छ।

अनि पत्रिका हराउन थाल्यो!
पछि पत्रिकासँगै हिमाल, नेपाल, कामना लगायतका म्यागेजिनहरू बजारमा आउन थालेपछि भने उनी दिनभर पसलमै बस्न थाले।

त्यसै समयमा हो उनले नियमित ग्राहकलाई बाँधिराखेको। तर, विस्तारै–विस्तारै अनलाइन आयो। मानिसहरूले पत्रिका समाउनुको सट्टा मोबाइलबाट समाचार हेर्न थाले। अनि पत्रिका पनि उधारोमा बेच्ने बेला आयो।

उनी भन्छन्, ‘त्यतिखेर देखि नै रहेछ पत्रिकाको मार्केट मेरोमा मात्र नभएर सबैकोमा खस्किँदै गएको।’

अनि राजेशले पत्रपत्रिका थोरै राखेर साहित्यिक किताबहरू राख्न थाले। त्यतिखेर अंग्रेजी किताब आइसकेको थिएन। उनका अनुसार ०६१ सालमा पल्पसा क्याफेले मदन पुरस्कार पाएपछि पाठकहरूले नेपाली किताब खोज्न थाले। त्यसपछि शिरिषको फुल, राधा जस्ता किताबले बजार तताएकाे उनकाे अनुभव छ।

‘ओहो पत्रिकाभन्दा किताबको बजार राम्रो हुन थालेपछि त मेरो बिजनेस नै चेन्ज हुँदै गयो नि! एउटा किताबमा २० देखि ५० रूपैयाँसम्म आउन थालेपछि त पत्रिकाको एक/दुई रूपैयाँ हेरेर बस्ने कुरा त भएन नि!’

२०६२/०६३ सालमा त देखि चाहिँ उपन्यासहरूले नेपाली बजारमा राम्रो माहोल सिर्जना गरेकाे सम्झना छ उनलाई। बिस्तारै किताब पढ्नपर्छ भनेर साथीभाइमा चर्चा हुन थाल्यो। दुई/चार वटा पुस्तक राखेर अर्को व्यापारमा घुसेका उनलाई अर्का सहयात्रीले दाइले एकै चोटी डेढ लाखको किताब सहयोग गरिदिएछन्।

‘उहाँ पनि किताब व्यवसायी नै हुनुहुथ्यो। अनि एउटा पढ्दै गरेको बच्चाले केहि गरोस् भनेर मलाई सहयोग गर्नुभयो,’ उनी सुनाउँछन्, ‘पछि मैले बिस्तारै उहाँको पैसा पनि तिरे अनि थप लगानी पनि गर्दै गएँ। भन्नै पर्दा त मैले जिरो रूपैयाँमा व्यापार सुरु गरेको नि!’

लकडाउनपछि आकाशिएको किताबको व्यापार
बीचमा फेरि किताबको बजार खस्किँदै गयो। नेपाली साहित्यको किताबहरू त एक हिसाबले बजारमा पाउनै छोड्यो।

तर, ०७२ सालपछि अंग्रेजी किताबहरू बजारमा जम्न थाले। त्यसपछि व्यापारले अर्कै मोड लियो। अनि उनले बाहिरबाट र प्रकाशनहरु बाटै पनि किताब मगाउन थाले। उनको सबै भन्दा राम्रो किताब व्यापार भएको चाहिँ लकडाउनमा रहेछ।

‘पहिलो लकडाउनमा त व्यापार शून्य नै भएको थियो। तर, दोस्रो लकडाउनको समयमा किताब त कति बिक्रि भयो भयो,’ उनले हाँस्दै भने, ‘त्यस समय जति पनि किताब प्रेमीहरू हुनुहुन्छ उहाँहरूले मोबाइल छोड्नुभयो के। अनि विभिन्न सञ्जालबाट उहाँहरूले मगाउनु हुन्थ्यो।’

त्यस बेला उनी आफैँ किताब घर-घर पुर्याउन पनि गए। त्यसपछि अहिलेसम्म उनको किताबको बजार राम्रै छ। अनलाइनमा काम गर्ने मान्छेहरू पनि राखेका छन् उनले। बाहिर पसल हुँदा सहेको घाम, पानी र महानगरकै कारण आफू बलियो भएको उनी बताउने गर्छन्।

उनी सम्झन्छन्, ‘त्यो व्यथा सम्झिँदा त मेरो शरीर फलामकै भयो भन्दा पनि हुन्छ।’

पहिला तीन चार लाखको किताब राख्ने गरेको उनको पसल र गोदाममा गरेर अहिले करिब ३५/४० लाखको किताब छन्।

विद्यार्थीदेखि नेतासम्मका पाठक उनका ग्राहक छन्।

‘पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री मिनेन्द्र रिजाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उर्जा सचिव अनि प्रहरी प्रशासनको ठूला कर्मचारीहरू पनि रेगुलर आउनुहुन्छ। कमल थापाको त परिवार नै आउनुहुन्छ। उहाँले चै अलि इतिहास सम्बन्धि किताबहरू पढ्नुहुन्छ’, उनले दङ्ग पर्दै सुनाए।

पहिला साहित्यको किताब धेरै बिकेकोमा अहिले भने प्रेरणादायी किताबहरू बढि बिक्न थालेको उनी सुनाउँछन्। ‘माउथ पब्लिसिटी’कै कारण पनि राम्राक किताबहरूको क्रेज बढिरहेको उनको अनुभव छ।

अहिले किताब पढ्नुअघि पाठकहरूले समीक्षा हेर्ने गरेको हुँदा नेपाली किताबमा धेरै पाठक आकर्षित नभएको उनले अनुभव गरेका छन्। अनि त्यैमाथि नेपाली किताबहरू महंगो पनि भएका छन्।

‘पहिला त्यहि किताब ३००/३५० सम्म आउने गरेकोमा अहिले भने ७००/८०० रूपैयाँसम्म पर्छ। किताब पढ्ने क्रम बढे पनि नेपाली किताबहरूको पाठक नहुनु चाहिँ दुःखद् नै हो’, उनले सुनाए।

मागी विवाह गरेका उनका दुई सन्तान छन्, एक छोरा एक छोरी।

अब बिस्तारै पसलको शाखाहरू खोल्ने इच्छा पनि छ उनको। अहिलेको रेञ्जमा उनले दिनमा अनलाइन र पसल सबै गरेर करिब डेढ लाख जतिको किताब बेच्छन्।

२६ मंसिर, २०७९, १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।