एकीकृत समाजवादीका शेषकान्त गौतम भ्रष्टाचारी ठहर

एकीकृत समाजवादीका शेषकान्त गौतम भ्रष्टाचारी ठहर

बुटवल : निर्वाचनको सम्मुखमा एकीकृत समाजवादीमा प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आइतबार विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ।

निर्वाचनको मुखमा उनी गुल्मी–२ बाट उम्मेदवार बनेकी एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको पार्टी प्रवेश गरेका थिए।

आइतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको इजलासले गौतमसहित तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई कैद सजाय हुने फैसला सुनाएको हो। उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९९२० बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो।

गौतम र चौधरी दुवैलाई ३/३ महिना कैद र जनही १० हजार रूपैयाँ जरिवाना तिराउने फैसला भएको थियो। गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठीक छ भनि प्रतिवेदन दिएका थिए।

उनी बामदेव गौतम पहिलो पटक गृहमन्त्री हुँदा उनको निजी सचिवालयमा काम गर्थे। सरकारी सेवामा भए पनि एमालेको राजनीतिमा जोडिएका उनी पछिल्लो समय भ्रष्टाचारको मुद्दा लागेपछि जोगिनका लागि भन्दै एमालेबाट विभाजन भएर सत्तारूढ बनेको समाजवादी पार्टीमा लागेका थिए।

२६ मंसिर, २०७९, १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।