रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोस

रोनाल्डोलाई सुरुमै नखेलाएकोमा कुनै पछुतो छैन: पोर्चुगलका प्रशिक्षक सान्तोस

एजेन्सी: कतारमा जारी विश्वकपमा एकपछि अर्को स्तब्धपूर्ण नतिजा आइरहेको छ। विश्वकप जित्नसक्ने सबैभन्दा बलियो सम्भावना भएको टोली ब्राजिलसहित, स्पेन, बेल्जियम, अर्जेन्टिना, जर्मनी, फ्रान्स र पोर्चुगल कमजोर मानिएको टोलीसँग पराजित भए।

यीमध्ये अब अर्जेन्टिना र फ्रान्स मात्र प्रतियोगितामा छन्। बाँकी टोली घर फर्किसकेका छन्। बेल्जियम र जर्मनी समूह चरणबाटै बाहिरिँदा स्पेन अन्तिम १६ बाट बाहिरियो। यस्तै ब्राजिल र पोर्चुगल क्वार्टरफाइनलमा पुगेर बाहिरिए।

त्यसमध्ये पोर्चुगलको पराजय यतिबेला प्रमुख चासोको विषय भएको छ। फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई लगातार दुई खेलमा सुरुआती ११ मा नराखेको भन्दै प्रशिक्षक फर्नान्डो सान्तोसको आलोचना भइरहेको छ।

क्वार्टरफाइनल खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोलाई सुरुआती ११ मा नराख्दा आफूलाई कुनै पश्चाताप नभएको प्रशिक्षक सान्तोसले बताएका छन्।

'अहँ मलाई कुनै पश्चाताप छैन। क्रिष्टियानो महान् खेलाडी हुन्। उनी त्यसबेला मैदान छिरे जब हामीलाई लाग्यो समय उपयुक्त थियो। त्यसैले कुनै पश्चाताप छैन', सान्तोसले भने।

३७ वर्षीय रोनाल्डो ५१औँ मिनेटमा मैदान छिरेका थिए। तर उनले यादगार प्रस्तुति दिन सकेनन्। एक प्रहार त गरे तर मोरक्कोका गोलकिपरले गोल हुनबाट बचाए।

सान्तोसका अनुसार स्विट्जरल्याण्डविरुद्ध ६-१ गोलको नतिजा निकालेको टोलीलाई नै क्वार्टरफाइनलमा खेलाउनु जायज थियो। 'यदि हामी यो खेलबाट सबैभन्दा विक्षिप्त भएको दुई जनाको नाम लिन्छौँ भने एक रोनाल्डो हुन् र अर्को म हुँ। हामी दुःखी छौँ। तर यो प्रशिक्षक र खेलाडीको लागि खेलको एक अंश नै हो', उनले भने।

रोनाल्डो मोरक्कोसँगको हारपछि रुँदै मैदान छोडेको दृश्य फुटबल जगत्‌कै स्तब्ध बनाउनेमध्येको एक दृश्य थियो। तर अर्कोतर्फ मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बन्दै इतिहास समेत कायम गर्न सफल भएको थियो।

समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई हराउँदै मोरक्कोले आफूलाई 'रक्की' (सिल्भेस्टर स्टालोनीको चर्चित पात्र) भएको पनि दावी गरिरहेको छ।

यता पोर्चुगलका दुई खेलाडी ब्रुनो फर्नान्डेज र पेपे भने हारको स्पष्टीकरणमा अर्जेन्टिनी रेफ्रीको दोष देखाउँदै आएका छन्। यद्यपि रेफ्रीले कुनै पनि गलत निर्णय नगरेको भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

२६ मंसिर, २०७९, १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।