सुमन शर्मा रायमाझी: अस्थिर र विवादित छवि, दल बदलेर दोस्रो पटक समानुपातिकबाट सांसद

सुमन शर्मा रायमाझी: अस्थिर र विवादित छवि, दल बदलेर दोस्रो पटक समानुपातिकबाट सांसद

बुटवल: २०७४ सालमा जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सभाको सामानुपातिक सांसद बनेकी सुमन शर्मा रायमाझी फेरि पनि समानुपातिकबाटै संसद् छिर्ने भएकी छिन्। उनलाई सिके राउत नेतृत्त्वको जनमत पार्टीले समानुपातिक सांसदमा सिफारिस गरेको छ।

प्रदेश सभामा विवादित छवि बनाएकी रायमाझी यसपटक पार्टी बदलेर भए पनि पुनः दोस्रो कार्यकालयका लागि सांसद बन्दैछिन्।

उनी पार्टीको 'क्याम्प' परिर्वतन गरेर दुई वटा सरकारका पालामा मन्त्री समेत बनिन्।

नेकपा विभाजनपछि सरकार जोगाउन २०७८ साल वैशाख २० गते पार्टीको निर्णयविपरीत उनी मुख्यमन्त्री शंकर पोखरेल नेतृत्त्वको सरकारमा सहभागी भएर भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी थिइन्। 

रायमाझी त्यसपछि पनि विवादित बनिरहिन्। उनलाई पार्टीको निर्णयविपरीत पोखरेल नेतृत्त्वको सरकारमा सहभागी बनेको भन्दै जसपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।

राज्यमन्त्री बनेपछि जनता समाजवादी पार्टीले कारबाही गर्ने बताएपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।

पोखरेल नेतृत्त्वको सरकार ढलेपछि मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले उनलाई २०७८ भदौ १८ गते कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए।

रायमाझी त्यसपछि पनि विवादित बनिरहिन्। उनलाई पार्टीको निर्णयविपरीत पोखरेल नेतृत्त्वको सरकारमा सहभागी बनेको भन्दै जसपाले प्रदेश सभा सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो।

जनता समाजवादी पार्टीको सोही निर्णयअनुसारको पत्रको आधारमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले रायमाझीसँगै तत्कालीन सरकारमा समावेश भएका जनता समाजवादी सांसदहरू सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई पदमुक्त गरेका थिए। तर सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा उनीहरूले रिट दिएका थिए।

रिटपछि रायमाझीले आफू वा वारेससमेत उपस्थित नभई २०७८ भाद्र १७ गतेको म्याद गुजारेको साथै म्याद थाम्ने/थमाउने म्याद नरहेको भन्दै अदालतले रायमाझीको मुद्दा तामेलीमा हालिदिएको थियो।

जनमत पार्टीले समानुपातिक सूचीबाट रायमाझी र गीता गुरुङलाई प्रदेश सभा सदस्य बनाएको छ। पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा महिलाबाट रायमाझी र आदिवासीतर्फ गुरुङको नाम सिफारिस गरेको हो।

जनमत पार्टीले प्रत्यक्षतर्फ भने लुम्बिनी प्रदेशमा एक सिट मात्र जितेको छ। रुपन्देही क्षेत्र नं. ५ (ख) बाट जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता प्रत्यक्ष निर्वाचनमार्फत विजयी भएका छन्। 

उनले नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका फकरुउद्दिन खाँलाई पराजित गरेका थिए। गुप्ता गत वैंशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित भएका थिए।

२६ मंसिर, २०७९, १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।