युवा संघका नेताहरूको बिजोग : महेश बस्नेतको निगाहमा नेता बनेका सबै पराजित

युवा संघका नेताहरूको बिजोग : महेश बस्नेतको निगाहमा नेता बनेका सबै पराजित

काठमाडौँ : युवा सङ्घको संस्थापक अध्यक्ष हुन् केपी शर्मा ओली। उनले सधैँ अखिललाई भन्दा युवा सङ्घलाई महत्त्व दिँदै आएका थिए। तर उनी पार्टीको प्रमुख रहेकै बेला सबैभन्दा बलियो मानिने युवा संघका नेताहरू सबैभन्दा कमजोर देखिए।

सङ्घबाट प्रतिनिधि सभा र प्रदेश सभामा १० जना वर्तमान र पूर्व नेताहरू उम्मेदवार बनेका थिए। तर एक जनाले पनि जित्न सकेनन्। बरु उता अखिलबाट महेश बर्तौला प्रत्यक्षबाट र अध्यक्ष रहेको सुनिता बराल समानुपातिकबाट सांसद बने।

ओली पार्टीको नेतृत्वमा आएपछि नपत्याएको सङ्गठनबाट २ जना सांसद बन्दा उनले सबैभन्दा बढी विश्वास गरेर कहिले साइबर सेना त कहिले युवा दस्ताभन्दै प्रोत्साहित गरेको सङ्गठन सबैभन्दा कमजोर देखियो।

संघका वर्तमान अध्यक्ष किरण पौडेल काठमाडौं-१ बाट उम्मेदवार बनेका थिए। उनलाई प्रारम्भमा बलिया उम्मेदवारको रूपमा हेरिए पनि चौथो भए। काठमाडौँ-१ मा एमालेको सात हजार बढी मत रहेको पार्टीको आङ्कलन थियो। तर उनी प्रतिस्पर्धी समेत हुन सकेनन्। प्रकाशमान सिंह थोरै मतले विजयी हुँदा उनका प्रतिस्पर्धी भए रवीन्द्र मिश्र। पौडेल ३ हजार ५ सय ३२ मत पाएर चौथो भए।

अर्का पूर्व अध्यक्ष महेश बस्नेत भक्तपुर २ बाट उम्मेदवार बनेर दुर्लभ थापासँग पराजित भए। उनी युवा सङ्घमा सबैभन्दा धेरै हस्तक्षेप गर्ने नेताका रूपमा परिचित छन्। उनलाई एमालेले युवा सङ्घको इन्चार्जको जिम्मेवारी दिएको छ।

युवा संघका पूर्व अध्यक्ष बच्चन सिंह कैलालीमा प्रदेश सभाको उम्मेदवार बनेर पराजित भए। अर्का पूर्व अध्यक्ष राजीव पहारी अनि निरुदेवी पाल पनि पराजित भए। युवा संघका पूर्व महासचिव रमेश आचार्य धादिङबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए। उनी पनि पराजित भए। युवा सङ्घको सह-इन्चार्ज सञ्जीव झा र चन्द्र लामा पनि उम्मेदवार बनेका थिए। तर दुवै पराजित भए। अर्का परशुराम बस्नेत र हिमेश केसी पनि सांसद बन्न सकेनन्।

हिमेश युवा संघका पूर्व कोषाध्यक्ष हुन्। राजनीतिक भन्दा पनि आपराधिक गतिविधिबाट चर्चामा आइरहने परशुराम बस्नेत पनि प्रदेशमा उम्मेदवार बनेर पराजित भए।

हस्तक्षेपले कमजोर बन्यो सङ्गठन

युवासंघको सातौँ र आठौँ महाधिवेशनसम्म निर्वाचनमार्फत नेतृत्व चयन हुने गरेको थियो। सङ्घको नेतृत्वमा महेश बस्नेत आएदेखि निर्वाचन छाडेर आफू अनुकूल व्यक्तिलाई मनोनीत गरेर नेतृत्व दिँदै आयो पार्टीले। आठौँ महाधिवेशनपछि अहिलेसम्म सङ्घको महाधिवेशन हुन सकेको छैन।

सङ्गठनमा आबद्ध नेताहरूले नेतृत्वकालागि लोकतान्त्रिक अभ्यास गर्नै पाएनन्। पार्टीले हस्तक्षेप गर्दै आफू अनुकूलका व्यक्तिलाई नेतृत्वमा पूर्याउँदै आयो। जो-जो महाधिवेशन आयोजक समितिका संयोजक भए उनीहरू नै सङ्घको नेतृत्वमा टिका लगाएर पुगे।

बस्नेतले आफ्नो कार्यकाल सकिएपछि निरुदेवी पाललाई सङ्घको अध्यक्षमा मनोनीत गराए। पालको कार्यकाल सकिएपछि राजीव पहारी, रमेश पौडेल, बच्चन सिंह नियुक्त हुँदै आए। सिंहपछि किरण पौडेलले अध्यक्ष बने।

सङ्घमा जो-जो पदाधिकारी बने ती सबै महेश बस्नेतको रोजाइका थिए। नेतृत्व मात्रै हैन सङ्घको कार्यसमितिमा पनि बस्नेतले आफू निकटकालाई मात्रै प्राथमिकता दिँदै कुनै समय वाइसिएललाई टक्कर दिने हैसियत बनाएको सङ्गठन खिइँदै गएको देखिन्छ।

'सङ्गठनमा आन्तरिक लोकतन्त्र नै भएन। निर्वाचनमार्फत नेतृत्व चयन गरौँ भन्ने पक्षलाई सधैँ पेलियो,' संघका असन्तुष्ट एक पूर्व पदाधिकारीले भने' निश्चित व्यक्तिको स्वार्थमा धारिलो सङ्गठन भुत्ते भयो। अब पनि नसुध्रने हो भने सङ्गठन हुनु र नहुनुको अर्थै हुन्न।'

सङ्गठनका नेता असफल, तर छैन लाज

सङ्गठनका वर्तमान अध्यक्ष किरण पौडेल काठमाडौँ-१ बाट उम्मेदवार बन्दा पराजित भए सङ्गठनकै बेइज्जत हुने भन्दै केही व्यक्ति जिताउन सक्रिय भएका थिए। उनले सङ्गठनका केही व्यक्तिको साथ त पाए तर सङ्गठनलाई नै आफ्नो पक्षमा चुनावी मैदानमा उतार्न सकेनन्।

सङ्घको अध्यक्षको हैसियतमा उनी आफू मात्रै जित्ने हैन सङ्गठनका वर्तमान र पूर्व नेताहरूलाई समेत जित्न सघाउने जिम्मेवारी उनकै थियो। तर उनी काठमाडौँ- बाट बाहिर निस्कनै सकेनन् र आफू पनि लाजै लाग्ने गरी चौथो भएर हारे।

उनलाई टिकट दिँदा नै पार्टी अध्यक्ष ओलीले सङ्गठनको इज्जतको सवाल छ भनेर पठाएका थिए। उनले सङ्गठनको इज्जत राख्न सकेनन्। तर अहिलेसम्म न किरणले जिम्मेवारी लिँदै राजीनामाको घोषणा गरेका छन् न पार्टीले नै उनलाई नेतृत्व छाड्न निर्देशन दिएको छ।

युवा संघका नेताहरू खुलेर वर्तमान नेतृत्व र पूर्व नेतृत्वको आलोचना गर्न हच्किन्छन्। तर उकेराको सम्पर्कमा आएका अधिकांश संघका नेताहरू पार्टीको भातृ सङ्गठन भन्दा पनि युवा सङ्घ महेश बस्नेत र उनका समर्थकहरूको एकल सङ्गठन जस्तो बनेपछि शक्तिहीन हुँदै गएको टिप्पणी गर्छन्।

'नेकपाको एकता भङ्ग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सङ्घको नाममा ६१ भन्दा बढी जिल्लामा कार्यक्रम हुँदा संघका जिम्मेवार पदाधिकारीहरूले समेत थाहै पाएनन्' एक असन्तुष्ट नेताले भनेती कार्यक्रम सङ्घलाई बलियो बनाउने भन्दा पनि सङ्घको नाम प्रयोग गरेर पार्टीमा बस्नेतलाई बलियो बनाउन गरिएको देखियो।'

बस्नेतको व्यवहारविरुद्ध संघका केही युवाहरू पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका थिए। तर उनले बस्नेत विरुद्धको अभिव्यक्ति सुन्नै चाहेनन्। उनीहरू ईश्वर पोखरेल लगायतका नेताहरूलाई पनि भेटेका थिए। तर कसैले पनि बस्नेतको विपक्षमा जाने आँट गरेनन्।

काठमाडौँ महानगरपालिकाले अल्फाबिटाको अवैध संरचना भत्काउँदा बस्नेतले महानगरका मेयर बालेन शाहविरुद्ध दिएको अभिव्यक्ति अनि उनका प्रतिस्पर्धी दुर्लभलाई 'लेभल मिलेन' भन्दै अराजनीतिक रूपमा हियाउँदा बस्नेत आफू त पराजित भए नै सङ्गठनकै नेताहरूलाई समेत कमजोर बनाएको सङ्घकै नेताहरू बताउँछन्। उनीहरू अब सङ्घको नेतृत्व लोकतान्त्रिक प्रणालीबाट चयन हुनुपर्ने पक्षमा छन्। तर ‌औपचारिक रूपमा पार्टी नेतृत्वसँग प्रस्ताव राख्न सकेका छैनन्।

'म निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गर्न चाहन्छु'

संघका अध्यक्ष किरण पौडेल निर्वाचनका लागि मतदातामा जाँदा आएको परिणामलाई सङ्गठनको साखसँग जोडेर हेर्न नहुने दाबी गर्छन्।

युवा सङ्घ जति अन्य कुनै पार्टीका युवा सङ्गठन सक्रिय नरहेको दाबी गर्दै उनले व्यवस्था परिवर्तनको मात्र मुद्दा बोकेर मतदातामाझ जाँदा रिसाएका युवा पुस्तालाई ठुला दलले आफूले गराएको परिवर्तन सम्झाउन नसकेको बताए।

'व्यवस्था परिवर्तन हुँदा रातारात अवस्था पनि परिवर्तन हुन्छ भन्ने आम जनमानसमा आशा पलाएको थियो। जुन सम्भव थिएन। प्रमुख दलहरूले केही नगरेका पनि हैनन्। तर आफूले गरेको राम्रो काम जनतालाई बुझाउन नसकिएको हो,' उनले भने' यसको मार युवा उम्मेदवारहरूमा पनि पर्यो। त्यसैले निर्वाचनको परिणामसँग सङ्गठनसँग मात्र सिधै जोडेर विश्लेषण गर्नु त्यति तथ्यपरक हुन्न।'

उनले आठौँ महाधिवेशनपछि नवौँ महाधिवेशन आयोजना गरेर निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन नसक्दा कहीँ न कहीँ गलत सन्देश गएको हुनसक्ने भन्दै अब आफू नेतृत्व हस्तान्तरण गर्दा निर्वाचन गराउनुपर्ने पक्षमा रहेको दाबी गर्दै भने' म प्रतिस्पर्धात्मक रूपमा नेतृत्व चयन हुनुपर्ने पक्षमा छु। तर सर्वसम्मत नेतृत्व चयन गर्ने कि निर्वाचनमा जाने त्यो अधिकार मसँग हुन्न। महाधिवेशनका प्रतिनिधीहरुमा हुन्छ।'

उनले हालै सम्पन्न निर्वाचनले युवा पुस्तालाई विश्वास गरेको देखिएकाले सङ्घमा आवद्धहरुलाई थप अवसर आएको भन्दै अब पार्टी नेतृत्वले पनि बदलिएको माहौल बुझेर सोही अनुसार नेतृत्वमा युवालाई अगाडि बढाउनुपर्ने बताए।

२५ मंसिर, २०७९, १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।