के नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नुपर्थ्यो ?

के नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नुपर्थ्यो ?

एजेन्सी: कतार विश्वकपको सबैभन्दा स्तब्धपूर्ण नतिजामध्येको एक भयो ब्राजिलको हार। अघिल्लो संस्करणको उपविजेता क्रोएसियालाई खेल अवधिभर दबाबमै राखे पनि निर्णायक पलमा चुक्दा ब्राजिलको विश्वकप यात्रा जसरी सुखद् सुरु भएको थियो त्यसको ठीकविपरीत दुखद् अन्त्य भयो। 

निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन भए। अतिरिक्त समयको पहिलो हाफको थप समयमा ब्राजिलका लागि स्टार खेलाडी नेयमारले गोल गरे। त्यो गोल नेयरमारको लागि ७७औँ अन्तर्राष्ट्रिय गोल थियो। र फिफाका अनुसार, यो फुटबलका लेजेण्ड पेलेको गोल सङ्ख्या बराबर हो।

नेयमारले १०६औं मिनेटमा गोल गरेका थिए। र, केही मिनेट सम्हालिन सकेको भए यो गोलले ब्राजिलाई सेमिफाइनलमा पुर्याउने थियो। तर ब्राजिलले सेमिफाइनल यात्रा तय गर्न ३ मिनेट बाँकी हुँदा क्रोएसियाका ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काए।

त्यसपछि खेल टाइब्रेकरमा पुग्यो। पहिलो पेनाल्टी क्रोएसियाका निकोला भ्लासिचले प्रहार गरे। गोलमा परिणत भयो। ब्राजिलका रोड्रिगोले गरेको प्रहार क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले रोके।

क्रोएसियाको लागि दोस्रो प्रहार लोभरो माजेरले गरे। यो पनि गोलमा परिणत भयो। ब्राजिलको लागि दोस्रो प्रहार गर्न आएका क्यासिमेरोले पनि गोल गरे।

तेस्रो प्रहार क्रोएसियाका लागि लुका मोड्रिचले गरे। त्यो पनि गोल भयो। यता ब्राजिलका लागि तेस्रो प्रहार गर्न आए पेड्रो। उनले पनि गोल गरे।

चौथो प्रहार क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गरे। चौथो प्रहार पनि गोल भयो। यता ब्राजिलका लागि चौथो प्रहार गर्न आएका मार्किनोसको प्रहार गोल पोस्टमा ठोकिएर बदर भयो। र, ब्राजिल ४-२ गोलअन्तरले पराजित भयो।

रोचक त के छ भने ब्राजिलियन स्टार खेलाडी नेयमार पेनाल्टीका लागि पाँचौँ नम्बरमा थिए। र यही कुराले अहिले ठूलो विवादको रूप लिएको छ। के नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नुपर्थ्यो? के नेयमारले सुरुमै पेनाल्टीमा गोल गरेको भए दृश्य फरक हुन्थ्यो?

अवश्य पनि नेयमार जस्ता उत्कृष्ट पेनाल्टी प्रहार गर्ने खेलाडीले सुरुमै प्रहार गरेका हुन्थे भने ब्राजिलले 'लिड' लिनसक्ने सम्भावना हुन्थ्यो। र मानसिकरूपमा क्रोएसियन टोलीलाई दबाब हुन्थ्यो। तर, ब्राजिलले सुरुकै पेनाल्टी मिस गर्दा गोलअन्तर भयो जसले दबाब ब्राजिललाई सिर्जना गर्यो।

नेयमार यो पुस्ताकै अभागी खेलाडी मानिन्छन्। आफ्नै भूमिमा सन् २०१४ मा विश्वकप हुँदा चोटका कारण उनले खेल नै गुमाए। जसले गर्दा ब्राजिलले जर्मनीसँग ७-१ गोलको लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो। यस्तै लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको छायाले उनलाई कहिल्यै छोडेन। बलोन डि ओरको उपयुक्त पात्र हुँदाहुँदै पनि उनी यस उपाधिबाट पनि वञ्चित हुँदै आएका छन्। बार्सिलोनामा हुँदा मेस्सी र सुआरेज अनि पीएसजीमा आएपछि अहिले पुनः मेस्सी र एम्बाप्पेको छायाले नेयमारलाई छोपिरहेको छ।

यस्तै आफ्नो करियरको उर्वर समयमा चोटै चोटले खेल गुमाउनेमा पनि पर्छन् नेयमार।

यता नेयमारले सुरुमै पेनाल्टी प्रहार गर्नुपर्थ्यो भन्ने विवाद र आलोचनाबीच ब्राजिलका प्रशिक्षक टिटेले मुख खोलेका छन्। उनका अनुसार जुन खेलाडी मानसिकरूपमा तयार छ उसैले पाँचौँ पेनाल्टी प्रहार गर्ने हो। जसका लागि नेयमारबाहेक अरू उपयुक्त पात्र थिएन।

'नेयमार पाँचौँ स्थानमा थिए किनकि त्यो निर्णायक हुनेवाला थियो', प्रशिक्षक टिटेले भने, 'अन्तिममा दबाब अझ बढी हुन्छ र जुन खेलाडी मानसिकरूपमा बढी तयार छ उसैले अन्तिम प्रहार गर्नुपर्छ।'

टिटेको 'अप्रोच' पनि गलत थिएन। तर क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचलाई नजरअन्दाज भने पक्कै भएको हो ब्राजिलियन पक्षबाट।

यता पूर्व जर्मन स्ट्राइकर जर्गन क्लिन्सम्यानले भने नेयमारले पहिलो प्रहार गर्नुपर्ने बताउँछन्। टिटेको अभिव्यक्तिप्रति असहमति जनाउँदै उनले भने, 'ऊ (नेयमार) मेरो पहिलो नम्बरको पेनाल्टी प्रहार गर्ने खेलाडी हुन्थ्यो। लय कायम राख्न पनि उनलाई पहिलो पेनाल्टी दिनुपर्थ्यो।'

२४ मंसिर, २०७९, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।