उकेरा फिचर

'यौनकर्मी पनि मान र मायाका हकदार छन्'


तस्बिर स्रोत: रेजा

बनारस हिन्दू विश्वविद्यालयबाट ललितकलामा स्नातकोत्तर गरेका चित्रकार मुकेश श्रेष्ठ संवेदनशील र अन्तरमुखी स्वभावका छन्। स्कुले जीवनदेखि नै उनी कलामा काम गर्न उत्साहित हुन्थे। आफ्नो मनको कुरा अभिव्यक्त गर्न उनले चित्रकारिता नै रोजे।

उनले मनमा लागेका कुराहरू पोख्ने वा व्यक्त गर्ने साधन सानैदेखि कुची र क्यानभासलाई बनाए।

०५४/०५५ सालदेखि नै मेहनत गरी तयार पारेका आफ्ना कलाकृति भित्ताभरि सजाएका छन् श्रेष्ठले। अहिलेसम्म उनले अलि बढी जोड दिएको र कलामार्फत उतारेको विषय चाँही मानवीय संवेदना; आवेग र कुण्ठाहरू नै हुन्।

विभिन्न सामाजिक मुद्दा र समसामयिक राजनीतिक विषय पनि उनको कलामा अटाएको छ। उनको घरको भित्तामा अनेक चित्राकृति छन्। त्यसमध्ये पहिलो हो:

१. 'जेरो ग्राभिटी'

यो शीर्षक किन दिए त उनले?

चार प्रमुख राजनीतिक दल (कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जसपा)को झण्डा क्यानभासमा उतारेका छन् उनले। किनकि, यी पार्टीकै अधिनमा संसद् छ। र यिनै पार्टी सरकारको नेतृत्त्वमा भएकाले सरकार पनि यिनै पार्टीहरूमार्फत चलिरहेको छ। 

यिनै पार्टीको झण्डालाई जोड दिनुको कारण यत्ति हो। 

तर, जब जम्माजम्मी ६४ वटा क्यानभासमा महिला र पुरुष दुवैका भित्री वस्त्रको आकार कुँदिएको देखिन्छ तब असहज र अनौठो भाव एकैपटक उत्पन्न हुन्छ।

चित्रमा देखाइएका हरेक भित्री वस्त्रमा पार्टीको चुनाव चिह्न (कांग्रेसको रूख, जसपाको छाता, राप्रपाको हलो र एमालेको सूर्य) अंकित गरिएको छ। 

मान्छेहरू थिममा केन्द्रित होऊन् भनेर उनले यसरी अंकित गरिदिए। उनी थप भन्छन्- 'भित्री वस्त्र किन्दा जसरी अडिडास र पुमाजस्ता ब्राण्डहरू झल्किन्छन् त्यसैगरी विषयवस्तुलाई केही मजबुत बनाउन मैले पार्टीको चुनाव चिह्न अंकित गरेँ।'

प्रश्न फेरि उठ्छ; जिरो ग्राभिटी किन त?

'लाज छोप्नलाई मान्छेसँग अहिलेसम्म वस्त्र मात्रै छ। चेतना जागेकै घडी मान्छेलाई लाज लाग्न थाल्यो अनि वस्त्र पहिरियो। अब यस्तो समय देखिदैँछ कि मान्छेको लाज ढाक्ने वस्त्र उत्रिने क्रममा छ', श्रेष्ठले भने।

खासगरी राजनीतिक दलका शीर्ष नेतृत्वहरू नाङ्गिने क्रम जारी रहेको, उनीहरू भित्री वस्त्र मात्र पहिरिएर रहेको र त्यो पनि उत्रियो भने उनीहरूको अस्तित्व समाप्त हुने भएकोले यो विषय चित्रकलामा अटाएको हो।

राजनीति सेवाको लागि नभएर अकुत आर्जन गर्ने माध्यमको रूपमा सीमित बनाइँदा श्रेष्ठले यो यथार्थलाई राजनीतिक दलको कुनै ओज र अस्तित्व नभएको अवस्था भनेर ठम्याउँदै शीर्षक जुराउँछन् "जेरो ग्राभिटी"।

क्षमताहीन र मूल्यहीन पार्टीहरूको लागि जेरो ग्राभिटी बाहेक अर्को नाम उपयुक्त हुने ठानेनन् श्रेष्ठले।

राजनीतिक दलमा महिला र पुरुष दुवैको आबद्दता भएको र संख्यात्मक हिसाबले तलमाथि भएकोले भित्री वस्त्रको प्रस्तुतिमा पनि उनले यसमा सजगता अपनाएका छन्। अर्थात पुरुषको भित्रि वस्त्र धेरै छन्, महिलाका कम।

२. 'बेगिङ विथ गोल्डेन बल' अर्थात् सुनको कचौरामा माग्दै
स्रोतसाधनले सम्पन्न मुलुक आर्थिक रूपमा अरूमा निर्भर रहनुपरेको अवस्थाप्रति राजनीतिक नेतृत्त्वप्रति नेपालीको सधैँ गुनासो रहिआएको छ। शासकहरूले प्रजातन्त्रकालदेखि नै अरूसँग हात फिजाएर अर्थको पूर्ति गर्ने ध्याउन्नमा रहे। 

कलाकार श्रेष्ठले यही विषयलाई आफ्नो काम बनाए अनि नाम दिए "बेगिङ विथ ‍गोल्डेन बल"। 

श्रेष्ठ यस शीर्षकको अन्तरवस्तुबारे भन्छन् 'सुनको कचौरा अर्थात् अथाह स्रोत र खानी हामीसँग छ जसको सदुपयोग गर्न सकिएको छैन। आफैँमा सम्पन्न मुलुकका शाषकले ७० वर्षअगाडिदेखि यही मुलुकको लागि मागिरहेका छन्।'

नेतृत्त्वकर्तामा अहिलेसम्म पनि मागेरै मुलुक चलाउने सोच पाएकाले र यही सोच आम नागरिकमा हावी भएकाले सुनको रङ्गको कचौरामा मागिरहेको बनाएका हुन उनले।

चित्रमा कचौरा समाउने शैली र तरिका भिन्न भिन्न देखाइएको छ। चित्रकारले यसो गर्नुका कारण यसरी  प्रष्ट्याउँछन् 'नेतृत्त्वमा सधैँ एउटै व्यक्ति नभइरहने र भिन्न व्यक्तिले भिन्न तरिकामा माग्ने भएकाले कचौरामा मागिरहेका हत्केलाहरूको पोज फरक फरक तरिकाले बनाइएका छन्।'

३. 'हरियो घाँस'

क्यानभासको पृष्ठभूमिमा हरियो रङ्ग जसले हरियो घाँस जनाउँछ। अनि बीचमा सेतो रङ्गको चारखुट्टे प्राणी जसलाई श्रेष्ठ भन्छन् "गोरू"। 

"हरियो घाँस" शीर्षक दिइएको यो चित्रमा मानौँ, गाईबस्तुलाई हरियो ‍घाँस दिइएको छ तर टाट्नामा गाईबस्तुले नभेट्ने गरी।

'यो अवस्थामा भोकाएको गाईबस्तुको हालत के होला?', श्रेष्ठ प्रश्न गर्छन्। भोको बस्तुभाउ घाँसलाई मुखले पुग्ने आसमा दायाँबाँया गरिरहन्छ, मुन्टो तन्काइरहन्छ। दाम्लो छिनाल्ने प्रयत्न गरिरहन्छन्। अन्ततः सिथिल हुन्छ हालत। 

ठ्याक्कै यही शैली राजनीतिक नेतृत्त्वमा पाइन्छ। नागरिकलाई उनीहरू आश्वासन दिइरहेका छन् जो कहिल्यै पूरा हुँदैन। यो नागरिकले भोगिरहेको यथार्थ हो।

क्यानभासको बीचमा रहेको गोरू (सेतो रङ्ग) जसलाई नागरिकको रूपमा प्रस्तुत गरिएको छ। छेउमा एक अर्कासँग हात गाँसेर गोरूलाई फन्को मारीरहेकाहरू छन्। उनले नागरिकलाई गोरूसँग दाँज्छन्। 

नेताका उधारो आश्वासनलाई आँखा चिम्लेर विश्वास गर्ने र उनीहरूको सिँढी मात्रै बन्दिने नागरिक जसले न आलोचनात्मक चेत राख्छ न प्रश्न गर्छ, यस अर्थमा मानिसलाई 'विवेकहीन प्राणी' अर्थात् 'गोरू'को रूपमा व्यङ्ग्यात्मक र सांकेतिक हिसाबले प्रयोग गरिएको छ।आजको समयका शिक्षित नागरिक समेत प्रश्नहीन रहेको तितो यथार्थलाई उनले कुची र रङ्गको सहारामा प्रस्तुत गरेका छन्।

त्यो नागरिक जसले कुनै पार्टीप्रतिको अन्धो प्रेम र आस्थाका कारण उक्त पार्टीमा गलत प्रवृत्ति निम्त्याउने पात्रलाई आलोचना र प्रश्न गर्न सक्दैन उसलाई प्रहार गर्छ श्रेष्ठको 'हरियो घाँस'ले। 

चार जना घुमिरहेका छन् चित्रमा तर पुग्दैनन् कहिँ। ख्याल गरेर हेर्‍यो भने ती शरीरमाथि टाउका छैनन्। श्रेष्ठले 'मष्तिष्कहीन' प्राणी दर्शाउनको निम्ती शरीरलाई टाउको दिएनन्। 

मष्तिष्कहीन र चेतनाहीनले के बोलोस्, के आलोचना गरोस्? टाउको/मष्तिष्क भए न सोच्दो हो प्रश्न गर्दो हो।

आफ्नो कल्पनालाई कलामा पोख्दै गर्दा कत्तिको इमान्दार बन्दा हुन् श्रेष्ठ? न कतै कुची र कलालाई साधन बनाएर अञ्जानमा पूर्वाग्रह ओकलेका पो छन् कि? 

उनी भन्छन्- आफ्नो काममा अहिलेसम्म इमान्दार भएकै छु जस्तो लाग्छ। मेरा नितान्त व्यक्तिगत अनुभूतिहरूदेखि मैले देखेका सुनेका विषयहरू नै मैले उतार्छु। 

कथा फेला पार्नुपरेमा उनी टाढा टाढा पुग्दैनन्। मानव शरीर नै उनको लागि असंख्‍य कथा/ थिमको भण्डार हो। 

४. 'सेक्स इक्वलिटी: राइट टु इक्वलिटी'

यौनकर्मी महिलाहरूको अवस्था, भोगाइ, वास्तविकता, अनुभूतिसँगै उनीहरूको व्यवसाय सम्बन्धित चुनौतीहरूमा केन्द्रित एक कार्यशालामा उपस्थित भएका श्रेष्ठले उनीहरूलाई सुनिसकेपछि उनको कुची र कलाले 'सेक्स इक्वलिटी: राइट टु इक्वलिटी ' को आकार लियो।

सामान्यतया अरू क्यानभास आयतकार वा वर्गाकारमा देख्न पाइन्छ। तर श्रेष्ठले यौनकर्मी महिलाको अनुभूति वास्तविकता र अवस्थालाई महिलाको बाह्य प्रजनन् अंग (Vagina Shape) को आकारको रूप दिए।

१० वटा अलगअलग पेन्टिङको समग्रजोडले यौनकर्ममा आबद्ध भएकामध्ये तीनजनाको कथालाई बताउँछ। 

नगरकोटको कार्यशालामा छलफल गर्दा श्रेष्ठले कल्पना गरेको भन्दा उल्टो तस्बिर- अधिकांश महिला यौनजीवनबाट खुशी रहेको पाए। श्रेष्ठले ती महिलाहरूबाट समाजमा यौन कर्म र यसलाई अपनाउनेप्रति जुन दृष्टिकोण र मनोविज्ञान व्याप्त छ यसको 'विपरित अनुभूतिहरू' सुने।

समाजले 'असभ्य' ठानेको कर्मलाई दैनिकी बनाएका उनीहरूले दोहोर्‍याइरहे कि- उनीहरू पनि प्रेम र हार्दिकताका हकदार छन्। उनीहरू पनि मान र मायाका लायक छन्। 

बदलामा ग्राहकले दानवीय र जंगली रूपमा प्रस्तुत हुनेगरेका धेरै घटना छन् उनीहरूका स्मृतिमा। भक्कानिँदै, आँखाका डिलबाट पोखिँदै आफूलाई अभिव्यक्त गरेका महिलाहरूले 'हामी पनि मान्छे हौँ र पेट भर्नका खातिर यौन व्यवसाय अँगाल्नुको विकल्प छैन' भन्ने अभिव्यक्ति दिए। 

यही कर्ममा पनि 'अलिकति माया' मिसाइदिए कष्ट कम हुन्थ्यो होला नि!' यौनकर्मीको अपेक्षा यत्ति हो। 

यौनकर्मलाई आफ्नो रोजीरोटीको साधन बनाएका महिलाहरूका कथाव्यथालाई श्रेष्ठले 'माया अर्थात मुटु' आकारमा क्यानभासमा उतारिदिए।

देव्रेतर्फको पहिलो क्यानभासले 'हामीलाई पनि प्रेम देऊ' भन्ने अर्थमा हत्केला फिँजाइरहेको र प्रेम मागिरहेको छ।

दोश्रो क्यानभासमा यौन व्यवसायलाई कानूनी संरक्षण वा न्याय मागिरहेका हात उतारिएको छ। सोही चित्रमा तराजु पनि कुँदिएको छ जसले "न्याय" बोल्छ। 

क्षणिक आनन्द दिने प्रेम मात्रै काफी छैन, पेशालाई प्रेमपूर्वक हेर्नु मात्रै काफी छैन बरू हरेक पेशा र व्यवसाय जस्तै यौन व्यवसायीले पनि कानूनी रूपमा बरोबर न्याय पाउनुपर्छ भन्ने अर्थ बोकेको छ श्रेष्ठको यो जीवन्त कलाले। 

यो क्यानभासले यौनकर्मलाई कानूनी दायरामा ल्याउन र सम्बन्धित  नीति बनाउनुपर्ने कुरा नबोलेरै बोल्छ। कानून र परिवार/समाजले राज्यका कुनै पनि नागरिकलाई कुनै पेशा अँगालेकै भरमा न्यायिक उपचारबाट बञ्चित राख्‍नुहुँदैन भन्ने कुरा चित्रकथाले बोलेको छ। 

समाजमा यौन व्यवसायी र त्यसमा पनि महिला भन्नासाथ अविवाहित र घरबारविहीन, आफन्तबाट अलग्याइएकी पात्र भन्ने मनोविज्ञान छ। तर यदि श्रेष्ठले भेटेका महिलाहरू सुनियो भने यो गलत हुन जान्छ। 

उनीहरू विवाहित छन् र आमा हुन्। यसका बाबजुद पनि उनीहरूको पेशा यौनकर्म हो। जसको जिम्मेवारी ती छोराछोरीको पालनपोषण र शिक्षा स्वास्थ्य सुविधाको पूर्ति गर्नुमा हो। 

चित्र नियालेर हेर्ने हो भने शिशुलाई एक हातले समातेर अर्को हातले ओत दिएको, स्कुले झोलालाई एक हातले उचालेर अर्को हातले ओत दिएको देख्न सकिन्छ।

उक्त चित्रले यी महिलाहरूले शिशु जन्माउन सक्छन् र शिक्षाको उज्यालो प्रकाश पनि त्यो शिशुमा पार्न सक्छन् भन्ने विषयलाई प्रस्तुत गरेको छ। 

यौन व्यवसायमा संलग्न भएर पनि यी महिलाहरूले सन्तानलाई शिक्षा सुख दिन सक्छन्, समग्रमा सुखी घरबार दिन सक्छन् भन्ने भाव व्यक्त गर्छ। 

उसो त यौन व्यवसायमा संलग्न आमाहरूको मेहेनतको कमाइले व्यक्तित्व बनाउने यात्रामा धेरै सन्तान हिँडिरहेका छन् भन्ने उदाहरण बोलेको यो चित्रले यी महिलामा पनि विहे र परिवार अनि सन्तानसुखको चाह, आश र अपेक्षा हुन्छ भन्ने दर्शाउँछ। 

चित्रमा स्टेथेस्कोप भिरेको व्यक्ति देख्न सकिन्छ जसको भाव गहिरो छ। जसरी गौरवका साथ एक डाक्टरले 'म डाक्टर हुँ' भन्छ त्यसरी नै 'म यौनकर्मी हुँ' भन्ने अवस्था छैन।

तै पनि चिनिइसकेपछि आइलाग्ने चुनौती र समाजको अवहेलनापुर्ण व्यवहारका बाबजुद पनि यौनकर्मीहरू खुलेआम स्वीकार्छन् र गौरवका साथ भन्छन्- 'हामी यौनकर्मी, हाम्रो व्यवसाय 'यौन व्यवसाय'। 

यतिबेला उनीहरू त्यही व्यवसायको कानूनी संरक्षण/मान्यता प्राप्तिको लडाइँमा छन्।

'सेक्स इक्वलिटी: राइट टु इक्वलिटी ' को हरेक क्यानभासका पृष्ठभूमिमा रातो छाता कोरिएका छन्। एउटामा सहज देख्न सकिने गरी कोरीएको छ "रातो छाता" जसलाई विश्वमा यौनलाई कर्म बनाएका र मानेकाहरूले सांकेतिक चिह्न बनाएका छन्। 

गहन अर्थ र भाव बुझाउने गरी श्रेष्ठले हरेक चिह्नलाई कलात्मक तरिकाले सुक्ष्म रूपमा प्रस्तुत गरेका छन्।

रातो छाता, महिलाको भित्रि वस्त्र, त्यसमा कोरिएको डलर चिह्न। डलरको चिह्न किन राखियो त? 

श्रेष्ठ जवाफ दिन्छन्- हरेक चिज, कर्म, व्यवसाय र पेशा पैसासँग जोडिएको छ। यौन कर्म पनि आम्दानीकै लागि चुनिन्छ अधिकांश परिस्थितिमा।

श्रेष्ठले यौनलाई आफ्नो जिविकोपार्जनको भरपर्दो स्रोत बनाएका महिलाहरूसँगको भेटमा उनीहरूको वास्तविक आम्दानीबारे नजिकबाट बुझ्ने मौका पाए। यसर्थ यौन कर्मलाई जुन नजरले नियाले पनि वा जसरी अर्थ्याइए पनि यो पैसासँग जोडिएको विषय हो भन्ने बुझाउन उनले भित्री वस्त्रमा 'डलर' को चिह्न कोरे।

पुरुष यौनकर्मीको पनि यस्तै चित्रकथा रच्न सकिन्थ्यो। तर यो पेशा अँगाल्नेहरूमा महिलाको बाहुल्य रहेका कारण उनले महिला जनाउने प्रतिकात्मक चिह्नको सिर्जनामा जोड दिए। 

फाउन्डेसन सेलेस (Fondation Scelles (via Le Figaro)) को २०१२ को रिपोर्टअनुसार संसारमा ४० देखि ४२ लाख यौन श्रमिकहरू छन्। तीमध्ये तीन चौथाई १३-२५ वर्षका बीचका छन्,र तिनीहरूमध्ये ८० % महिला छन्। 

झट्ट हेर्दा साना ठूला ९ वटा क्यानभासको समग्र जोड महिलाको योनी आकारको छ। यो आकार आओस् भन्नका खातिर निकै मेहनत गरेका छन् श्रेष्ठले। 

योनी आकार नै किन त? किनकि रिपोर्टले भनेजस्तै महिला यौनश्रमिकहरूकै संख्या बढी छ।

५. 'न्युड' पेन्टिङ
स्थानीय निर्वाचनको सेरोफेरोमा चुनावी अभियानमा रहेका उम्मेदवार एमालेका केशव स्थापितले एक महिला पत्रकारको शरीरमाथि 'टिप्पणी' गरे। 

अन्तर्वार्ता सकेर उठ्नेबेलामा ती महिला पत्रकारलाई माथिबाट तलसम्म हेर्दै उनको शरीरको बनोटबारे नरोकिइकन प्रतिक्रिया दिए- 'कति ढ्याक्सी भएकी?, भुँडी किन भ्यात्त पारेकी?, अनुहार के बनाएर आएको?, मिडियाको मान्छे हेर्दा आनन्द लाग्ने बन्नुपर्दैन?,' 

यसले पुरुषमा रहेको शरीरसम्बन्धी सौन्दर्य चेतलाई बुझाउँछ। यस्तै सौन्दर्य चेतनाले नै महिलाको ठूलो जनसंख्‍याले 'बडी सेमिङ' बाट गुज्रनुपरेको छ। 

विहेपछि श्रीमतीमा 'रूप र सौन्दर्य' मा कमि आएकै कारण कैयौँ विवाहित महिलाले लोग्नेबाट सौता खेप्नुपरेको छ।

यो विषय उठान गर्न चित्रकार श्रेष्ठ "न्युड" पेन्टिङ गर्न बसे। जसमा मोटोपन भएकी महिलाको शरीर कोरियो। आम मानिसमा जिउ सुलुत्त परेको 'स्लिम' र ठिक्क तौल भएको शरीरमात्रै 'राम्रो' भन्ने धारणा छ। 

यो धारणाको बिजारोपण 'राष्ट्रकवि' स्व. माधवप्रसाद घिमिरे सिर्जित "टालाटुली बटुली कति राम्री पुतली" जस्ता शीर्षकको कविताले पनि गरेको छ। 

जसमा सानी पनि नभएकी ठूली पनि नभएकी जिउ सुत्त परेकी पहेँली र पातलीलाई 'अति राम्री' ठानिएको छ। 

पूर्वप्राथमिक तहबाटै बालबालिकामा यसखाले सौन्दर्य चेतको बिउ रोपीएको छ जो केशव स्थापित भएर प्रकट हुन पुग्छ। चित्रकार श्रेष्ठले यही भाष्य चिर्न कलाको भरपुर उपयोग गरे। 

राम्रो/नराम्रो, सुन्दर/कुरूपको वर्गीकरणले विशेषतः छोरी मान्छेलाई मोटोपन हुनुमा हिनताबोध वा राम्री नहुनुको भाव पैदा गरिदिन्छ। 

सुन्दर को हो त? भन्दा मोटोपन नभएको सबै र्‍याङठ्याङ् मिलेको मानिस। तर श्रेष्ठले नाङ्गो शरीरलाई देखाउनुको उद्देश्य 'आकारप्रकार जेजस्तो होस् हरेकले आफ्नो शरीरलाई प्रेम गर' भन्ने कुराको सञ्चार गर्नु हो। 

उनी भन्छन्- आफ्नै शरीर प्रधान हो बाँकी तपसिलका कुरा। शरीर जे छ जस्तो छ त्यसमै सुन्दरता छ श्रेष्ठ थप्छन्।

पुरूषको शरीरको हकमा कुन राम्रो र कुन नमिलेको वा भद्दा भनेर ट्याग भिराउने परिपाटी पितृसत्तामक मात्रै होइन पश्चिमी समाजमा पनि सायदै छ। नाङ्गो शरीरलाई कलामा ढाल्ने काम त गरे श्रेष्ठले तर महिलाको शरीरमा मात्रै खेले। 

पुरूषको शरीरमा खेल्नेबारे किन सोच्नुभएन त?

उनी भन्छन्- पुरुष पनि अलिकति मस्कुलर शरीर भएको, जिम धाएर छाती चौडाआकारको बनाएको अनि सिक्स प्याक निक्लिएको छ भने असली पुरूष या लोग्ने मान्छे या 'हेन्डसम' कहलिन्छ। तर जब शरीरको प्रसङ्ग निक्लिन्छ तब महिलाको शरीर मात्रै सम्झिइन्छ। महिलाको शरीरबारे मात्रै कुरा गरिन्छ या शरीर भन्नासाथ महिलालाई मात्रै याद गरिन्छ। शरीरको अगाडि महिलाको तिक्ष्णता छाँयामा पारिन्छ।

शरीरमा महिलाको नितम्ब र कम्मर मात्रै जोड दिइएको छैन। शरीरका प्रत्येक अंगहरूलाई विविध कोणबाट प्रस्तुत गरिएको छ। शरीरको पूर्ण आकार कोरिएको छ जहाँ शरीरका अग्र भाग पश्च भाग दुवै देख्न सकिन्छ। कालो धर्सोले कोरिएका उक्त शरीरका हरेक भागहरू आफैँमा 'सुन्दर' देख्छन् श्रेष्ठ। 

खासगरी नेपालमा न्युड स्टोरी गर्ने परिपाटी नै छैन। विदेशमा शरीर रचना सम्बन्धी अध्ययनलाई अपरिहार्य मानिन्छ। 

श्रेष्ठ भन्छन् - हामीकहाँ त कानूनले पनि दिएको छैन। 

तर, उनले यही चुनौतीको काम थाले र अन्तिम रूप दिए। 

नग्न शरीरको प्रदर्शनीपछि कस्ता प्रतिक्रिया आए त?  

श्रेष्ठको पृथक विचार र प्रस्तुतिले उनीहरूलाई मोहित तुल्यायो। अधिकांश सहभागीले नग्न शरीरमा अश्लिलता भन्दा पनि सौन्दर्य भेटाएको प्रतिक्रिया दिए।

परिवारका सदस्यको माझमै बसेर पनि हेर्न सकिने गरी उनले मोटोपन भएको शरीरलाई क्यानभासमा उतारे। हुन त परिवारका माझ बसेर उनले कुची चलाइरहे। नग्न शरीरमा त्यतिबेलै दैनन्दिन आँखा लगिरहने परिवारका सदस्यले सहजै स्वीकारेका थिए न्युड आर्ट। शरीर जस्तोसुकै किन नहोस् शरीरका हरेक अंग अभिन्न छन् भन्ने बुझाउनुथियो उनलाई।

ललितकलाका विद्यार्थी श्रेष्ठ एनाटोमीलाई ललितकलाको आधार वा मेरूदण्ड भएको बताउँछन्। न्युड स्टडी पनि अनिवार्य बनाइनुपर्ने उनको माग छ। 

सुरुआतमा मानिसलाई अपाच्य लागे पनि यस्ता सिर्जना र प्रदर्शनीहरू बढ्दै गएमा यो सामान्य रूपले स्वीकार्न थालिने र सहज मानिने उनी विश्वास गर्छन्।

करिब दुई दशक कलामा समय र ऊर्जा लगानी गरेका श्रेष्ठले आफ्नो यसखाले कर्मले मानिसको धारणामा परिवर्तन ल्याउन पनि भूमिका खेलेको भन्नेमा ढुक्क छन्। 

चाहे नेपाल कला परिषदको भवनमा होस् चाहे काठमाडौका विविध दरबार स्क्वाएर परिसरमा उनका चित्रहरू अधिकांश देशदेखि विदेशसम्म सार्वजनिक प्रदर्शनीमा राखिएका छन्। 

मान्छेहरूले उनका चित्रमय दुनियाँमा प्रवेश गरिसकेपछि त्यसलाई मनैदेखि ग्रहण गर्छन्। सुरुमा चित्रका अगाडि उभिएर असमन्जसमा परेको वा उभिइरहन असहज गरेको मान्छे चित्रबारे वर्णनात्मक व्याख्या दिइसकेपछि अझ गहिराइमा पुग्न उक्त चित्र नियालिरहन्छ र श्रेष्ठले नसोचेको थप अर्थ निर्माण गरिसक्छ। कलाको सुन्दर पक्ष यसैमा छ।

६. सामाजिक मुद्दाहरू र मानवीय संवेदनाहरूसँग जोडिएको 'लेट मि ब्रिथ' अर्थात् "मलाई श्वास लिन देऊ "

महिला र पुरुषको प्राकृतिक आवश्यकता छन्। ती पूरा गर्न परिवार/समाजले र कानूनले वैध ठहराएको सम्बन्धमा जोडिनैपर्छ जसका लागि विहेलाई अनिवार्य ठानिएको छ। 

धेरैजसो प्रसङ्गमा शारीरिक रूपले परिपक्व महिला र पुरूषको विहेपछि परिवार बनाउने चाहना पालिन्छ,  जहाँ छोरा या छोरी के जन्माउने भनेर निर्क्योल गरिन्छ। वर्तमान समयमा प्रविधिले भ्रुण पहिचानको सुविधा पनि दिएको छ। 

परिणामतः असंख्य शिशु भौतिक दुनियाँमा आउनै नपाई गर्भमै तुहिन्छन्। 

यो भ्रुण हत्या तीव्र गतिमा बढ्दो छ। छोरीको लिंग पहिचान गरेर भ्रुण हत्या गरिने परम्परा बढी छ। 

यद्यपि छोरी जन्माउने रहरमा छोराको लिंग पहिचान गरेर गर्भहत्या गर्ने चलन पनि नभएको होइन। श्रेष्ठले यही तीतो यथार्थलाई आफ्नो प्रस्तुतिको विषय बनाए- 'लेट मि ब्रिथ अर्थात मलाई श्वास फेर्न देऊ',  'मेरो बाँच्न पाउने अधिकार नखोस', 'पसिसकेको मेरो प्राण ननिमोठ'।

'लेट मि बर्न' किन नभनेका होलान् त श्रेष्ठले? 

'बच्चा जन्मन दिए त श्वास फेरिहाल्यो नि। यहाँ त जन्मनै नदिई कोखमै श्वास छिनिएको छ। यसरी 'प्राण नहर' भन्नकै लागि 'लेट मि ब्रिथ' जन्माउनुपर्‍यो', उनले भने।

हरेक कलाको कम्पोजिसनमा पूर्णता दिन कुनै कसूर बाँकी नराख्‍ने श्रेष्ठले 'लेट मि ब्रिथ' मा पनि रातो कालो र सेतो रङ्गसँग आलोपालो खेलेका छन्। 

विषय र पात्रअनुसार यी रङ्गहरू प्रयोग गरिएका छन्। "कालो" आफैँमा "अन्धकार जनाउने" रङ्ग, जसले भ्रुण हत्याजस्तो अँध्यारो पाटोलाई प्रतिबिम्बित गर्छ। 

"रातो" रङ्ग जसले सचेत गराउँछ या त "चेतावनीको भाषा" बोल्छ। भ्रुण हत्याजस्तो जघन्य अपराध तुरून्तै रोकिनुपर्छ, निर्मुल हुनुपर्छ या यसमा अबिलम्ब पूर्णबिराम लगाइनुपर्छ र बन्दै गरेको बुबाआमाले यसरी सोचुन् भन्ने अर्थमा रातो रङ्ग प्रयोग गरिएको छ। 

"सेतो" रङ्ग निर्दोष भ्रुण या शिशु र उसको निर्दोषपना देखाउन प्रयोग गरिएको छ।

यस्तै कला र अरू सामाजिक, राजनीतिक मुद्दाहरू, विसंगति सबैबारे बोल्नका लागि निरन्तर गतिशिल छन् श्रेष्ठ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तीन उद्यमी दिदीबहिनीको कथा: जसले भवन निर्माणको क्षेत्रमा नेपालमै नयाँ प्रविधि भित्र्याए

तीन छोरीले कम्पनी हाँक्न थाले। र, भवन निर्माणमा नयाँ प्रविधि भित्र्याउँदै 'आईटी स्टिल स्ट्रक्चर सोल्युसन्स प्राली' समेत सुरु गरे। सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्।....

शरीर र मनमा ऊर्जा उत्पन्न गराउने पर्व माघे सङ्क्रान्ति

तरुल, घ्यू, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्त्व पाइने जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती बताउँछिन्। तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइने उनले बताइन्।....

स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा....

भाँडा माझेर कमाएको पैसाले व्यवसाय थालेका सकिन्द्र, जसलाई छोराहरूको पढाइ पूरा गर्न पाए लकडाउन र महानगरको डर नै हुँदैन थियो

उनी भन्छन्, 'परिवारबाट भागेर १२ वर्षको उमेरमा नै काठमाडौं आएको थिएँ। त्यो पनि अरू मान्छे बसेको सिटमुनि बसेर। बाआमाको निकै प्यारो छोरा थिएँ। अहिले बाआमामाथि....

कृषिको ओरालो यात्राः पहुँचवालाले नै दिन सकेनन् निरन्तरता, कामदार विदेशीन वाध्य

चर्चित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अगुवाइमा सुरु गरिएको यो ‘मह एग्रिकल्चर’ फार्म ७ वर्ष चलेर बन्द भयो। १२ जना मिलेर ५५ लाख रुपैयाँ....